साप्ताहिक संवाददाता
युवा सुपरस्टार अनमोल केसीको मुख्य भुमिका रहने भनिएको चलचित्र ‘धुपौरे’को निर्माण कार्य रोकिएको छ । श्रोतका अनुसार यो चलचित्र समयमै छायांकनमा जान नसक्ने भएसँगै अहिलेका लागी सम्पुर्ण कार्य रोकिएको हो ।
यो चलचित्र भ्रर्खरै बन्दैन, अनमोल केसी निकट अति बिश्वस्त श्रोतले भन्यो, ‘अहिले यसको सबै काम रोकिएको छ । अब कहिले छायांकनमा जाने भन्ने कुरा निर्णय भएपछि थाहा होला ।’
चलचित्रको स्क्रिप्ट र कलाकार छान्ने कामको अन्तिम तयारी भैरहेका बेला एकाएक चलचित्रको निर्माण नहुने खबर सार्वजनिक भएको हो । ‘धुपौरे’ निर्माणको लागी अनमोलले साइन गरेसँगै होमप्रोडक्सनको चलचित्र ‘एन्टि हिरो’को काम रोकिएको थियो । अनमोल सबै काम छाडेर नियमित रुपमा ‘धुपौरे’को वर्कशपमा समेत व्यस्त थिए ।
निर्देशक साम्तेन भुटिया र उनको टिमले भने यस विषयमा आधिकारिक जानकारी दिएको छैन । तर, अपुरो खबरलाई मान्नेहो भने चलचित्रबाट अनमोलले हात झिकेका छन् । अब निर्माण टिमले उनको स्थानमा अर्को अभिनेता छान्नुपर्ने भएको छ । सोहि कारण केहि समय ढिला गरेर यो चलचित्र छायांकनमा जानेछ । तर कहिले ? त्यो जानकारी प्राप्त भएको छैन ।
चलचित्रको स्क्रिप्ट र विषयवस्तु खासै चाखलाग्दो नभएकाले अनमोलले ‘धुपौरे’बाट एकाएक हात झिकेको बताइन्छ । चलचित्र निर्माण टिमले मंसिरबाट छायांकनमा जाने भन्दै अनमोलको नाम सहितको थिम पोस्टर समेत सार्वजनिक गरिसकेको थियो ।
बजारमा के पनि हल्ला छ भने उनी अब माधब वाग्ले र भुवन केसीले संयुक्त रुपमा निर्माण गर्न थालेको चलचित्र ‘पारस’ मा व्यस्त हुनेछन् । अर्को हल्ला अनमोल अब होमप्रोडक्सनको चलचित्र ‘एन्टि हिरो’ मा ब्यस्त हुनेछन् । हल्ला जे-जे होस्, आधिकारिक कुरा त उनीहरुले मुख खोलिसकेपछि पक्कै थाहा हुनेछ ।