अमेरिका पुग्दैमा चमत्कार हुने होइन 

- मुकुन्द बोगटी, जनक तिमिल्सिना

कार्तिक २१, २०७६

डोटीको चुडीमा जन्मिएका वासुदेव फुलाराको बाल्यकाल चरम गरिबीमा बितेको थियो । हालको शिखर नगरपालिका–६ मा पर्ने चुडीको सामान्य परिवारमा जन्मिएका फुलाराले उच्च शिक्षा हासिल गर्न घरेलु कामदारसम्म हुनुपरेको थियो । उनले काठमाडौंको नेपाल ल क्याम्पसमा एलएलबीदेखि एलएलएमसम्मको खर्च जुटाउन नेपाल परिवार नियोजन संघमा कार्यालय सहयोगीको जागिर खाए भने त्यतिले नपुगेपछि धान फल्ने खेत समेत बेचे । फुलाराले सन् २००१ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर टप गरेका थिए । सन् २००५ मा अमेरिका पुगेपछि भने उनको जीवनमा परिवर्तन देखा पर्न थाल्यो । फुलाराले अमेरिका पुगेपछि कार्डोजो ल स्कुलबाट मास्टर्स इन ल गरे । त्यसपछि अमेरिकामा कानुनी रूपमा काम गर्न थालेका वासुदेवले अहिले अथक परिश्रमको बलमा राम्रो स्टाटस बनाएका छन् । उनको न्युयोर्कको अति व्यस्त ठाउँ टाइम स्क्वायरको चर्चित भवन पारामाउन्ट बिल्डिङमा ल अफिसेस अफ बासु डी फुलारा पिसी नामको अफिस छ । फुलारा टाइम्स स्क्वायरको कोर एसियामा अफिस हुने सम्भवत: एक्ला नेपाली हुन् । नेपाली समाज, त्यहाँका नेपालीहरूको अवस्था, अमेरिकी समाज तथा नेपालीहरूका समस्या आदिका बारेमा नजिकबाट परिचित फुलारासँग साप्ताहिकका लागि मुकुन्द बोगटी तथा जनक तिमिल्सिनाको कुराकानी : 

के कारणले अमेरिका संसारभरिकै मानिसहरूका लागि ग्ल्यामरस देश मानिन्छ ? 

आधारभूत आवश्यकता पूर्ति भएको देश भएकाले अमेरिका सबैका लागि ग्ल्यामरस छ । खानेपानी, सडक, स्वास्थ्य, शिक्षा तथा विकास इन्जिनियरिङजस्ता कारणले अमेरिका आकर्षक ठाउँ भएको हो । अमेरिकाको लाइफस्टाइल नै हेल्दी छ, नेपालबाट अमेरिका गयो भने १० वर्ष आयु बढ्छ आधारभूत आवश्यकता जुन विकासशील देशहरूमा छैनन्, ती सबै अमेरिकामा छन् । अमेरिकामा नि:शुल्क शिक्षाको व्यवस्था छ, स्वास्थ्यमा पनि नागरिकको सहज पहुँच छ । अमेरिकामा धनीले मात्र पढ्न पाउने, गरिबले नपाउने भन्ने हुँदैन । सबैले समान शिक्षा हासिल गर्न पाउने अवसर छ । भनिन्छ, जहाँ काम गरे पनि एक पटक अमेरिकामा गएर पढ्नुपर्छ । एजुकेसन, इन्जिनियरिङ, डेभलमेन्ट तथा आधारभूत आवश्यकताको सहज पूर्ति नै अमेरिकाको ग्ल्यामरको कारण हो । आधारभूत आवश्यकता पूरा हुन र अमेरिकाको जस्तो स्तरमा पुग्न नेपाललाई अझै ५० वर्ष लाग्छ । हामी अहिले रेलको कुरा गरिरहेका छौं, अमेरिकामा त्यो सबै छ, तिनै कुरा अमेरिकाका ग्ल्यामर हुन् । अध्ययन सकेपछि सहज रूपमा रोजगारी प्राप्त गर्न सकिन्छ । अमेरिकामा ३ प्रतिशत मात्र बेरोजगार छन् । यी विविध कारणले नेपालीहरू मात्र होइन, संसारभरका मानिस अमेरिका पुग्न लालायित हुन्छन् । 

अमेरिकाले त्यति धेरै अवसर कसरी क्रिएट गरेको छ ? 

त्यो उनीहरूले अहिले भर्खरै हासिल गरेको कुरा होइन, उनीहरूको लामो इतिहास छ । अमेरिका इन्डिपेन्डेन्ट भैसकेपछि सिंगो अमेरिकालाई ५० वटा स्टेटमा विभाजन गरेर सबै स्टेटमा एउटै खालको इन्फास्ट्रक्चर विकास गरियो । उनीहरूको विकास मेन्टालिटी नै सबैको उत्तिकै विकास गर्नुपर्छ भन्ने छ, तर नेपालमा त सबै कुरा केन्द्रमुखी छ । एकातिर काठमाडौं केन्द्रित विकास मेन्टालिटी छ भने जिल्लातिरका मानिसहरू पनि काठमाडौं हुत्तिने क्रम छ, अमेरिकामा त्यस्तो छैन । कुनै पनि मानिस एलास्का गएर बस्न सक्छ, क्यालिफोर्निया गएर बस्न सक्छ, वासिङ्टन गएर बस्न सक्छ, त्यो मेन्टालिटी उनीहरूमा छ । उनीहरूमा प्रत्येक ठाउँको उत्तिकै विकास गर्नुपर्छ भन्ने सोच छ । जुन १९ औं शताब्दीबाटै सुरु भएको पाइन्छ । नेपाल अमेरिकाबाट झन्डै १ सय वर्ष पछाडि छ । नेपालमा त्यस्ता कुरा सुरु भएका छैनन् । अमेरिकाको विकास हेर्दा ५० वटा स्टेटमध्ये कुनै पनि कुनैभन्दा कम छैनन् । 

अमेरिकीहरूको समानान्तर विकासको सूत्र के रहेछ ? 

त्यो इन्जिनियरिङ नै हो । यसमा थट प्रोसेसको कुरा पनि छ, इन्भेन्सनको कुरा छ, उनीहरूको मेन्टालिटी रिसर्चमुखी छ । एउटा भागको विकास गरेर अर्को भागलाई त्यत्तिकै छाडिदिनुपर्छ भन्ने मेन्टालिटी छैन, सुरुदेखि नै । अर्को विकासक्रममा अनुशासन पनि चाहिन्छ, अमेरिकीहरूमा उदाहरणीय अनुशासन पनि छ । कानुन बनाएर मात्र हुँदैन, त्यसको कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्छ । अर्को नेपालमा धनी–गरिब भनेर छुटयाइन्छ, अमेरिका त्यसरी छुट्याइँदैन । सबैलाई धनी बनाउनुपर्छ भन्ने प्रिन्सिपल अमेरिकामा छ । भौतिकसँगै मानसिक विकासमा पनि उनीहरूले उत्तिकै जोड दिएका छन् । मानसिक तौरतरिकामा पनि उनीहरू एकदमै बलिया छन् ।

अमेरिकीहरू आफ्नै देशभित्र भयभीत पनि छन् । त्यसको कारण के हो ? 

त्यो राजनीतिक कारणले हो । मैले अमेरिकामा सबै कुरा सकारात्मक मात्र छ भन्न खोजेको होइन, केही समस्या पनि छन् । अमेरिकामा पनि कोही रिपब्लिकन छन्, कोही डेमोक्र्याट छन् । नेटिभ अमेरिकन र बाहिरबाट जाने अमेरिकनहरूमा पनि केही समस्या छ । बन्दुकको समस्यासँगै शान्ति सुरक्षाका कुराहरू पनि छन् । सबै कुरा बलियो छ भन्ने होइन । यद्यपि विकासका दृष्टिकोणले अमेरिका निकै बलियो छ । त्यससँगै सामाजिक विकृतिहरू पनि छन् । 

नेपालबाट अमेरिका जाने मुख्यतया दुई वर्ग छन् । एउटा विद्यार्थी र अर्को अमेरिकामा चमत्कार हुन्छ भनेर जाने मध्यम उमेरको समूह । उनीहरूलाई के सुझाव दिनुहुन्छ ? 

अमेरिका पुग्दैमा चमत्कार हुँदैन, डिभी पर्दैमा चमत्कार भैहाल्ने होइन । अमेरिका गएर पढ्न सक्ने र रोजगारी सिर्जना गर्न सक्नेका लागि मात्र चमत्कार हुन सक्छ । त्यस्तो चमत्कार गर्न पनि २० वर्ष लाग्न सक्छ । अमेरिका जाँदैमा, डिभी पर्दैमा वा ग्रिनकार्ड पाउँदैमा चमत्कार हुँदैन, त्यहाँ गएर कडा मेहनत गर्नुपर्छ । १८–२० घण्टा काम गर्नुपर्छ, फिजिकल कामहरू त्यस्तै हुन्छन्, मेन्टल प्रेसर पनि धेरै हुन्छ । नेपालबाट प्लस टु गरेर अमेरिका गएको छ र त्यहाँ काम गर्दै पढ्ने हो भने जिन्दगीभरिका लागि दु:ख मात्र पनि हुन सक्छ । दु:ख गर्न भौतिक क्षमता पनि चाहिन्छ । अमेरिका गएर पढ्न सक्यो, राम्रो डिग्री लिएको छ, टेक्नीकल्ली स्ट्रोङ माइन्डेड छ भने मात्र चमत्कारको बाटो खुल्न सक्छ । अहिले पनि अमेरिकामा प्रेसरमा काम गर्ने र डिप्रेसनमा गएका थुप्रै नेपाली छन् । काम गर्न नसक्नेलाई अमेरिकामा धेरै गाह्रो छ भने अनुसन्धानकर्ता तथा एकेडेमिसियनहरूलाई अवसर छ । 

छात्रवृत्तिमा अमेरिका जाने विद्यार्थीहरूका लागि कस्तो स्थिति छ ? 

पूर्ण छात्रवृत्तिमा गएका विद्यार्थीहरूलाई त्यति समस्या पर्दैन, तर एकेडेमिक डिग्री सकेपछि पनि अमेरिकामै बस्ने हो भने त्यसको विकल्प ग्रिनकार्ड नै हो । छात्रवृत्ति पाएका कतिपय विद्यार्थी पनि आउट अफ स्टाटस भैरहेका हुन्छन् । अमेरिकाको जीवनशैली महँगो छ, त्यस्ता विद्यार्थीले सुरुदेखि नै म अमेरिकामा पढ्न सक्छु भनेर मेन्टल्ली तयार हुनुपर्छ । अन्डरग्राजुयट डिग्री गर्न तीन–चार वर्ष लाग्छ, त्यतिबेलासम्म के गर्ने भन्ने निश्चित हुनुपर्छ । अर्को, कुरा त्यहाँ गएका विद्यार्थीहरूमा कानुनी समस्या पनि देखिन्छ, लुकेर काम गर्‍यो भने आउट अफ स्टाटस भइन्छ । भ्वाइलेसन गर्नु भएन । स्टाटस बचाए मात्र भविष्यमा ग्रिनकार्ड प्राप्त गर्न वा अमेरिकामा लामो समयसम्म टिक्ने आधार हुन्छ । 

अमेरिकी शिक्षाको सुन्दरता के हो ? 

अमेरिकाको एजुकेसनको ब्युटी भनेकै सेल गर्नु हो । त्यहाँको एजुकेसन संसारभर सेल हुन्छ । अमेरिकाले एजुकेसनमा जुन क्वालिटी बनाएको छ, त्यो संसारभर सेल हुन्छ । अमेरिकी शिक्षाको ब्युटी भनेकै त्यही हो । 

अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको अवस्था कस्तो छ ? 

नेपालीहरूको अवस्था राम्रो पनि छ, समस्यामा भएका नेपालीहरू पनि थुप्रै छन् । कुनै त्यस्तो ठोस तथ्यांक त छैन, तर मेरो अनुमानमा सबै गरी ५–६ लाख नेपाली अमेरिकामा होलान् । पढ्ने विद्यार्थीले राम्रो मेहनत गरेको खण्डमा भ्वाइलेसनमा नपरेका, स्टाटस बचाएर जाने, त्यहाँ गएर राम्रो पढ्न सक्ने विद्यार्थीहरूका लागि अमेरिका सुनौलो अवसर हुन सक्छ । अमेरिकामा मैले ८–१० वर्षयता राम्रो गरेर अघि बढेका विद्यार्थी प्रसस्तै देखेको छु । 

त्यहाँका नेपाली विद्यार्थीहरू कस्तो समस्या लिएर तपाईंकहाँ पुग्छन् ? 

म इमिग्रेसनसम्बन्धी सबै कुरा हेर्छु । त्यहाँ नेपालीहरूको एउटा मात्र समस्या छैन । केही नेपाली सेटल पनि भैसकेका छन्, ग्रिनकार्ड पाएपछि खासै कानुनी समस्या हुँदैन । उहाँहरूले राम्रो काम गर्दै जानुभएको छ । हामीकहाँ आउने विद्यार्थीसहित अरू कतिपय नेपालीमा स्टाटसको समस्या छ । नेपालमा इमिग्रेसनसम्बन्धी स्कोप छैन, तर अमेरिकामा १ सय ८५ भन्दा बढी देशका मानिस छन् । ती सबैको पहिलो चिन्ता अमेरिकामा कसरी लामो समयसम्म बस्न सकिन्छ भन्ने नै हुन्छ । विद्यार्थी भिसा त टेम्पोररी हो, त्यसमा चार वर्ष अमेरिका बस्न सकिन्छ, काम गर्न पाइँदैन, तालिमको निश्चित समयमा मात्र काम गर्न दिइन्छ । ग्रिनकार्ड कसरी लिने, अमेरिकामा कसरी लामो समय बस्ने भन्ने समस्या लिएर नेपालीहरू हामीकहाँ आउँछन् । अर्को, हामीकहाँ आउने व्यापारी वर्ग पनि छ, अमेरिकामा कसरी बिजनेस गर्ने, कसरी ग्रिनकार्ड प्राप्त गर्ने भन्ने चासो हुन्छ उनीहरूको । अर्का थरी बिचौलियामार्फत ५०–६० लाख खर्च गरेर बोर्डरमा समातिएर डिटेन्सनमा परिरहेको हुन्छन् । उनीहरूलाई डिटेन्सनबाट रिलिज गराउने कानुन पनि छ, म त्यसमा नेपालीहरूका लागि डिफेन्स पनि गरिरहेको हुन्छु । अहिले पनि झन्डै २ देखि ४ सय नेपाली अमेरिकाको जेलमा भएको अनुमान गरिन्छ । हामी जेलमा परेकाहरूको डिटेन्सनका केस पनि हेर्छांै । परिवारलाई नै अमेरिका झिकाउने केसहरू पनि हेर्छौ । नेपालीहरूको मुख्य समस्या सेटलमेन्ट कसरी हुने, ग्रिनकार्ड कसरी बनाउने, स्थायी रूपमा कसरी बसोबास गर्ने, अमेरिकामा कसरी उन्नति गर्ने भन्ने खालका हुन्छन् । मैले डिपोर्टेसन, सालमका केसहरूमा अदालतमा बहस गर्ने काम पनि गरेको छु । 

लाखौं खर्चेर गैरकानुनी तरिकाले अमेरिका जाने कदम कति उचित हो ? 

बिचौलियाहरूलाई ८० लाखसम्म तिरेर अमेरिकामा जानु मुर्खता र गैरकानुनी हो । मानव तस्करी वा बेचबिखन गरेर अमेरिका पुर्‍याउने क्रम रोकिनुपर्छ । यदि यस्तो काम रोकिएन भने ८० लाख पनि डुब्ने, जीउज्यानको जोखिम हुने र भोलि कहिल्यै अमेरिका आउन नदिने वातावरण बन्न सक्छ । अहिले अमेरिकाको कानुन पनि कडा छ । अमेरिका गैरकानुनी तरिकाले जानै दिनु हुँदैन । कानुनी रूपमै अमेरिका पुग्ने दर्जनौं उपाय छन् । गैरकानुनी बाटोबाट अमेरिका छिर्ने प्रयास गर्दा गरिबको छोराको ८० त लाख जान्छ–जान्छ, ऊ डिप्रेसनको सिकार समेत हुनसक्छ, उसले आत्महत्यासम्म गर्न सक्छ । दलालको फन्दामा परेपछि अरू कुनै देशमा बेचिन सक्छ, त्यो भैरहेको पनि छ । यस्तो बाटोबाट अमेरिका पुग्ने–नपुग्ने ग्यारेन्टी हुँदैन । महिलाहरूको त बाटोमा दलालहरूबाट शारीरिक शोषणसमेत हुने गरेको छ । नेपालबाट मेक्सिकोसम्म पुग्दा २०–२५ वटा देश पार गर्नुपर्छ, बिचौलियाहरूले बीच–बीचमा पैसा माग्छन्, पैसा दिन सकेन भने बीचैमा छाडिदिन्छन् । यसरी विभिन्न देशमा कतिपय नेपाली अलपत्र परेका छन् । नेपालसँग आफ्ना नागरिक कति बाहिर गैरहेका छन् भन्ने रेकर्डसम्म छैन, त्यसमा ध्यान दिनुपर्छ । गैरकानुनी रूपमा अमेरिका पुगे देश निकाला हुने सम्भावना पनि हुन्छ । 

त्यहाँ कुन–कुन क्षेत्रमा बढी अवसर छ ? 

यो नै क्षेत्र भन्ने छैन, सबै सेक्टरमा अवसर छन् । नेपालमा इन्जिनियर र डाक्टर मात्र बन्नुपर्छ भन्ने सोच छ । अमेरिकामा त्यस्तो छैन, अमेरिकामा तपाईंसँग सिप, डिग्री र क्षमता छ भने जुनसुकै क्षेत्रमा पनि आफ्नो सीप–डिग्री सेल गर्न सकिन्छ । अमेरिकामा आफूलाई मनपर्ने पेसा छनौट गर्न सकिन्छ । सबै डिग्री सेल हुन्छन्, त्यसैले त अमेरिकामा ९७ प्रतिशत रोजगारीको अवसर छ । क्षमता भएकाहरूका लागि अवसरको खानी हुनु नै अमेरिकाको सौन्दर्य हो । आइटी, इन्जिनियरिङ, कानुन मात्र होइन, जुनसुकै सेक्टरमा काम छ । सबै पेसा अर्थात् भुइँ बढार्नेदेखि राष्ट्रपतिसम्म सबैको उत्तिकै सम्मान हुन्छ । 

अमेरिका जाने उपाय के–के हुन् ? 

नन इमिग्रेन्ट भिसाहरू जसलाई हामी अस्थायी भिसा भन्छौं । इमिग्रेन्ट भिसा, ग्रिनकार्डका लागि दिने भिसाहरू पनि छन् । ग्रिनकार्डका लागि पनि दर्जनौं भिसा छन् । वेलनोन व्यक्तिहरूलाई दिने भिसा पनि छ भने असाधारण प्रतिभा भएका व्यक्तिले ग्रिनकार्डका लागि आवेदन गर्न सक्ने व्यवस्था पनि छ । अनुसन्धानमा लागेकाहरूका लागि इबी वान भिसा छ । नाम चलेका व्यक्तिहरूले सीधै ग्रिनकार्डका लागि आवेदन दिन सक्ने व्यवस्था पनि छ । इबी वानदेखि इबी फाइभसम्मका विभिन्न भिसा छन् । ग्रिनकार्ड होल्डरले परिवारका लागि पनि भिसा फाइल गर्न पाउने ब्यवस्था अमेरिकी कानुनमा छ । स्टुडेन्ट भिसा, तालिम, एक्सचेन्ज भिजिटर भिसाजस्ता भिसाहरू पनि छन् । आई भिसा यहीँको अफिसले उता काम गर्ने गरी पठाएको व्यक्तिलाई दिइने भिसा हो । ए वानदेखि दर्जनौं भिसा छन् । जाने स्पष्ट उद्देश्य भए कानुनी तवरबाटै सहजै अमेरिका प्रवेश गर्न सकिन्छ तर ओभरस्टे गर्नेहरूले कानुनी झमेला बेहोर्नुपर्छ । 

डिभी परेर पुग्ने नेपालीका समस्या के–कस्ता छन् ? 

डिभी व्यक्तिगत रूपमै भर्नुपर्छ, तर यहाँ डिभी भर्ने एजेन्टहरू छन्, त्यो वैधानिक होइन । डिभी भर्ने सेन्टरबाट भरियो भने डिभी पर्छ भन्ने अन्धविश्वास छ । डिभी फाइल गर्दा विवाहितले अविवाहित भनेर फाइल गरेको थुप्रै केस छन् । त्यो कुराले अमेरिकामा समस्या हुन्छ । अमेरिकाको कानुनअनुसार कुनै पनि कुरा मिस रिप्रजेन्टेसन गर्न मिल्दैन, फ्रड गर्न मिल्दैन, गलत बोल्न मिल्दैन । यो कुरा अमेरिकामा एकदमै कडाइका साथ लागू छ । नेपालमा कसैले श्रीमतीको उल्लेख गर्‍यो भने डिभी पर्दैन भन्ने अन्धविश्वास छ । त्यही कुराले नेपालीहरूलाई पछि समस्यामा पारिरहेको हुन्छ । डिभी परेका व्यक्तिहरू सिंगल भनेर जाने पछि सिटिजनसिप फाइल गर्दा उहाँहरूको सिटिजन बदर हुने मात्र होइन, ग्रिनकार्ड नै बदर हुने सम्भावना पनि हुन्छ । यस्तो झूटो विवरण पेस गर्दा पछि डिपोर्टेसनमा समेत पर्न सकिन्छ । कुनै पनि कुरा लुकाएर अमेरिका जानु हुँदैन । म्यारिड व्यक्तिलाई अनम्यारिड र अनम्यारिडलाई म्यारिडभन्दा डिभी पर्ने होइन । 

नेपालीहरूको दोस्रो पुस्ताको अवस्था तथा उनीहरूको सोच्ने शैली कस्तो छ ? 

यसमा दुई प्रकारका नेपाली फेला पार्न सकिन्छ । एउटा मजस्तो– मैले मेरा दुईवटा बच्चाबच्चीलाई नेपाली भाषा, संस्कृतिका बारेमा बारम्बार बताइरहेको छु । १३ वर्षकी मेरी छोरी अमेरिकामै हुर्किएकी हो, अर्को ६ वर्षको छोरा छ, उनीहरू पर्फेक्ट नेपाली बोल्छन् । उनीहरूलाई हामीले सबै नेपाली संस्कार सिकाएका छौं । मैले उनीहरूमा नेपालको माया भर्ने प्रयास पनि गरेको छु । यसरी संस्कृति ग्याप नहुने गरी थुप्रै नेपालीले आफ्ना सन्तान हुर्काइरहेका छन् । यसरी हुर्काइएका बालबालिकामा नेपालप्रतिको माया–ममता कम हुँदैन । अर्को खालको नेपाली वर्ग पनि छ । त्यो वर्गले अमेरिकामा आफ्ना छोराछोरीलाई नेपालका बारेमा केही बताउँदैनन् । फलस्वरूप सांस्कृतिक एवं कम्युनिकेसन ग्याप सिर्जना हुन्छ । नेपाली बोल्न नसक्नेहरू पनि छन्, त्यसलाई कम्युनिकेसन ग्याप भन्न सकिन्छ । नेपालीपन जोगाउन अभिभावकको भूमिकामा कमी कमजोरी भएको पाइन्छ । अमेरिकामा भएको दोस्रो पुस्ता हामीभन्दा टेन टाइम फास्ट छ । उनीहरू अमेरिकी शैलीमा तयार भैरहेका छन् । टेक्नोलोजी र इन्भेन्सको एज, सोसल मिडियाको प्रभाव, अमेरिकी एजुकेशनको प्रभावले पनि त्यसमा काम गरेको छ । अमेरिकी लर्निङ म्याथड नै एडभान्स छ । तीव्र रूपमा वृद्धि भैरहेको उनीहरूको क्षमतामा अभिभावकहरूको भूमिका नेपालका लागि भोलिका दिन केही योगदान गर्न सक्ने माध्यम बन्न सक्छ । आउने १० वर्षमा अमेरिकाको सबै सेक्टरमा दोस्रो पुस्ताको नेपाली देखिनेछ । उनीहरूको विकास नै त्यही आधारमा भैरहेको छ । 

त्यहाँका नेपालीहरूको स्टाटस कस्तो छ ? 

अमेरिकामा वर्ग छुट्याइँदैन । यद्यपि अमेरिकामा अनस्किल्ड नेपाली धेरै छन् । प्लस टु गरेर डिभी भरेर अमेरिका पुगी ग्रिनकार्ड लिएर मात्र पुग्दैन । डिभी भर्नुअघि तालिम लिएर जानुपर्छ । जुन सेक्टरमा आफूले राम्रो गर्न सक्ने हो, त्यही सेक्टरको तालिम लिनुपर्छ । अमेरिकाको मार्केट सर्च गर्ने, जब ओरेन्टेड सेक्टर के–के हुन सक्छन् भन्ने कुरा अहिले गुगल सर्च गरे पनि जानकारी पाइन्छ । डिभी भरेर अनस्किल जाने अनि कम्प्युटर तथा भाषागत समस्या पनि छ भने अमेरिकामा ठूलै संघर्ष गर्नुपर्छ । सबै नेपाली प्रोफेसनल जबमा छैनन्, ६०–७० प्रतिशत नेपाली सामान्य प्रकारको काम गरेर जीविकोपार्जन गरिरहेका छन् । त्यो कामले पनि २–४ सय डलर नेपालमा पठाउन त सकिन्छ तर त्यसलाई अलि माथि उठाउने तरिकाले तालिम लिने, उता गएर पढ्ने मात्र हो भने नेपालीहरूको जीवनस्तर अलि माथि पुग्छ । होइन भने १–२ लाख नेपालमा पठाउने र जीवन त्यही गुजार्नेहरूको भीड पनि अमेरिकामा देख्न सकिन्छ । त्यो नकारात्मक भने होइन, किनभने नेपालमा त ४० हजारको जागिर पनि पाइदैन । अमेरिकामा २–४ हजार डलर त एक महिनामै कमाइन्छ जसमध्ये आधा पैसा नेपाल पठाउन सकिन्छ । त्यसलाई सकारात्मक नै मान्नुपर्छ । अझ स्किलफुल भएर जाँदा अमेरिकाको बसाइ र कमाइ दुवै राम्रो हुन्छ ।

 

प्रकाशित :कार्तिक २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्