साप्ताहिक संवाददाता
वर्षकै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ ।
छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा निर्माण हुने चलचित्र भोली शुक्रवारदेखि छायांकनमा जाँदैछ ।
निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा प्रदीपको अपोजिटमा क्रिष्टिना गुरुङले डेब्यु गर्दैछिन् । यो चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, क्रिजन गौतम, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहनेछ ।
आसुशेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘प्रेम गीत ३’ चौथो प्रोजेक्ट हो । यो चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । लभ स्टोरी जनरामा निर्माण हुने यो चलचित्र काठमाडौँ र मनाङमा खिचिनेछ । निर्माता सन्तोष सेनले चलचित्रमा साढे ३ देखि ४ करोड लगानी रहने अनुमान गरेका छन् ।