भान्सामा साहित्यकार

- सुजाता मुखिया

कार्तिक २१, २०७६

बिहान उठी पानी ल्याउँछु, तिमी कुचो लाउनु

भात म पकाइदिन्छु, तिमी लुगा धुनु

बराबर तिम्रो मेरो माया बराबर

हरिवंश आचर्यले गाएजस्तै अहिले महिला र पुरुष सराबरी घर–भान्साको काममा खट्ने गरेका छन् । कुचो लगाउने, भाँडावर्तन माझ्ने, खानपिन पकाउने, लुगाफाटो धुने कामलाई कुनैबेला महिलाको पेवा भनिन्थ्यो । अहिले भने उक्त धारणामा ठूलो परिवर्तन देखा पर्न थालेको छ ।

खाना आफैं पकाउँछु

मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेले १० वर्षकै उमेरमा खाना बनाउन सिकेका थिए । घरमा महिनावारी हुँदा बार्ने चलन भएकाले उनले सानै उमेरदेखि खाना बनाउन थाले । त्यसपछि काठमाडौंमा डेरा गरेर बस्न थालेपछि आफैं खाना बनाउनुपथ्र्यो । अहिले पनि उनी आफैं खाना पकाउँछन् । घरमा मासु पकाउनुपरे आमा–बुवाले उनैलाई अघि सार्नुहुन्छ । दिदीले पकाएको सुख्खा रोटी र आफूले पकाएको सब्जी मिठो मानेर खानुहुन्छ । त्यसैले पनि न्यौपाने दसैंमा खसीको मासु आफंै पकाउँछन् । 

आफ्नै करेसाबारीमा भएको सब्जी आफै टिपेर धोइपखाली गरी पकाउँछन् । भान्सामा नुन, तेल, मरमसला सकिए बजारबाट आफैं किनेर ल्याउँछन् । भाडा माझ्ने, कुँचो लगाउने, लुगा धुने सबै काम न्यौपाने आफैं गर्छन् । 

कहिलेकाहीं पकाउँदै काम गर्दा खाना डढ्छ । काममा भुलिदा दुई पटक नुन हालेर सब्जी चर्को भएको अनुभव पनि छ उनीसँग । दाल पकाउँदा दाल नहाली पानी मात्र उमालेका पनि छन् । एकपटक ग्याँस सानो बनाएर दुध बसालेर ल्यापटपमा काम गर्दा दुध सुकेर कुराउनी भएको छ । पानी उमालेर बिर्संदा पानी सुकेर भाँडा डढेको पनि छ । न्यौपाने अनावश्यक सामान जोड्न मन नलाग्ने भएकाले अति आवश्यक सामान मात्र किन्छन् ।

युट्युबमा हेरेर पकाउँछु

युवा साहित्यकार सुबिन भट्टराई नेपाली भान्सामा पाक्ने सबै किसिमका परिकार बनाउन आए पनि कहिलेकाहीं मात्र डाढू–पन्यु समाउँछन् । दाल–भात पकाउन उनलाई खासै जाँगर चल्दैन, तर फरक किसिमको खाना, खाजा, मासु आदि चाहिँ पकाउँछन् । भट्टराई कामबाट फुर्सद मिल्नासाथ युट्युबमा हेरेर पकाउन थाल्छन् । नयाँ–नयाँ परिकार बनाउन युट्युबबाटै सिक्छन् । भान्सामा के पाक्दैछ भनेर हेर्छन । संयुक्त परिवार भएकाले सबैलाई पकाएर भने ख्वाउदैनन् । 

भान्सामा सामान छ–छैन पकाउने बेलामा मात्र थाहा हुन्छ उनलाई । भट्टराई घरको सबै काम गर्ने मानिस भए पनि बिदा भएका बेला आफ्नो कोठा सफा गर्छन्, मिलाउँछन् । भट्टराईकी श्रीमती पनि कोठा सफा गर्छिन् र उनी त्यसमा श्रीमतीलाई सघाउँछन् । बजारमा नयाँ सब्जी वा खान मन लागेको कुरा किनेर ल्याउँछन् । नयाँ किताब देख्नेबित्तिकै किनेर ल्याउँने भट्टराईलाई ती पुस्तक मिलाएर राख्न पनि जाँगर चल्छ । यद्यपि पढिसकेपछि भने अल्छी लाग्छ, त्यसैले पुराना किताबहरूचाहिँ भद्रगोल हुन्छन् । 

खाना पकाउन मज्जा आउँछ 

अविवाहित हुँदा भान्साको सबै काम गर्ने कुमार नगरकोटीको घरको काम विवाहपछि भने उनकी श्रीमतीले गर्दै आएकी छिन् । उनलाई खाना पकाउन एकदमै मज्जा लाग्छ । नगरकोटीले बनाएको खाना सबैले मन पराएर खान्छन् । यद्यपि उनलाई एक्लै बनाएर खान अल्छी लाग्छ । एक्लै पकाएर कहिल्लै खाँदैनन् । पहिले साथीहरूलाई बोलाएर ख्वाउँथे । साथीहरू मैले पकाएको मीठो मानेर खान्थे र प्रशंसा गर्थे । पहिले–पहिले आफू सेफ हुनुपर्ने हो जस्तो पनि लाग्थ्यो नगरकोटीलाई । 

अहिले पनि कहिलेकाहीं श्रीमती र छोरालाई पकाएर ख्वाउँछन् । उनलाई खसीको मासु एकदमै मिठो गरि पकाउन आँउछ । लेखनमा व्यस्त हुने भएकाले नगरकोटी अहिले भान्सामा समय दिन पाउँदैनन् । उनको भान्सामा आलुको परिकार र मासुमात्र पाक्छ । सागसब्जी कमै पाक्छ । उनलाई सागसब्जी खासै मन पर्दैन । नगरकोटीलाई भान्सामा नुन सकिएको थाहा हुन्छ । उनी भान्सामा प्रयोग हुने सामानहरू आफै किनेर ल्याउँछन् । नयाँ मरमसला देख्ने वित्तिकै किनिहाल्छन् । 

नगरकोटीको छुट्टै कोठा छ जहाँ उनी लेख्ने–पढ्ने काम गर्छन् । उनको कोठा भद्रगोल हुन्छ । यद्यपि उनलाई अस्तव्यस्त कोठा नै मनपर्छ ।

 

प्रकाशित :कार्तिक २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्