साप्ताहिक संवाददाता
विन्ध्यवासिनी म्युजिक फाउन्डेसनले काठमाडौंमा एउटा विशेष सांगीतिक समारोह आयोजित गर्दै संगीतकर्मी तथा स्रष्टाहरूलाई सम्मान अर्पण गरेको छ भने दसौं विन्ध्यवासिनी म्युजिक एवार्ड–२०७६ को मनोनयन सूची पनि सार्वजनिक गरेको छ ।
विन्ध्यवासिनी संगीत साँझ तथा सम्मान कार्यक्रम चार दशकभन्दा लामो समयदेखि चार सयभन्दा बढी गीत गाएर नेपाली संगीतको क्षेत्रमा योगदान पुर्याएका गायक दीपक खरेललाई नगद ५० हजार सहित विन्ध्यवासिनी संगीत साधना सम्मान–२०७६ बाट सम्मानित गरिएको थियो ।
समारोहमा साढे दुई दशकदेखि नेपाली गीत–संगीतको सेवा गरेबापत संगीतकार एवं गायक हरि लम्साललाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रजत सम्मान–२०७६ बाट सम्मानित गरियो भने पोखराका सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठलाई १५ हजार रुपैयाँसहित विन्ध्यवासिनी पत्रकारिता सम्मान–२०७६ बाट पुरस्कृत गरियो ।