साप्ताहिक संवाददाता
कार्तिक २२, २०७६
अष्ट्रलियन स्ट्यान्ड अप कमेडीयन ब्रेन्डन बन्स भोलि शनिबार ठमेलमा प्रस्तुत हुँदैछन् । ब्रेन्डनले ठमेलको हाउस अफ म्युजिकमा आफ्नो प्रस्तुतिमार्फत नेपालीहरूलाई हँसाउन लागेका हुन् । बेलायतमा स्ट्यान्ड अप कमेडी गर्दै आएका ब्रेन्डन नेपाली कमेडियन क्लब कमेडी टुकटुक तथा हाउस अफ म्युजिकको निमन्त्रणामा नेपाल आउन लागेको बताइन्छ ।
४८ वर्षिय यी अष्ट्रलियन नागरिक आफ्ना आक्रामक तथा आपत्तिजनक प्रस्तुतिका कारण प्रख्यात छन् । ब्रेन्डनको मुख्य भुमिकामा सञ्चालन हुने उक्त कार्यक्रममा नेपाली कमेडीयन योजना मगर तथा आसन भण्डारीले पनि साथ दिनेछन् । साँझ ८ बजे प्रारम्भ हुने कार्यक्रम राति ११ बजेसम्म चल्ने बताइएको छ । यो कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ४ सय रुपैयाँ तिर्नुपर्नेछ ।