ट्रेन्डिङमा के–के ?

- साप्ताहिक संवाददाता

कार्तिक २२, २०७६

युट्युबमा विभिन्न विषयवस्तुमा आधारित नेपाली भिडियोहरू ट्रेन्डिङमा परिरहेका हुन्छन् । यो हप्ता ट्रेन्डिङको दस स्थानसम्म हेर्दा २ नम्बर ट्रेन्डिङमा द भ्वाइस अफ नेपालको २३ औं इपिसोड छ । यो द भ्वाइस अफ नेपालको नकआउट चरण हो । १ नोभेम्बरमा अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म २२ लाख भ्युज पाएको छ । द भ्वाइस अफ नेपाल अर्को चरणदेखि लाइभ सोमा जाँदैछ ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट अपलोड भएको हास्यटेलिश्रृंखला ‘सक्किगो नि’ युट्युब ट्रेन्डिङको ३ नम्बरमा छ । उक्त भिडियोले मंगलबारसम्म २१ लाखभन्दा बढी भ्युज पाएको छ । चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट छुट्टिएको जिग्री–पाँडे समूहले निर्माण गरेको सक्किगोनीले तीव्र गतिमा लोकप्रियता हासिल गरेको छ । यो साता ट्रेन्डिङको तेस्रो स्थानमा आएको सक्किगो निको सातौं भाग हो । 

युट्युबको ५ नम्बर ट्रेन्डिङमा ‘मेरा बिहे भएका बहिनीलाई मेरो बूढाले मुखमा आएको सबै गाली गर्छ, दिदी रुँदै मिडियामा’ शीर्षकको भिडियो परेको छ । यस्तै, युट्युबको ६ नम्बरमा ब्रिजेश श्रेष्ठको डल्ली बोलको गीत छ । नेस स्टुडियो युट्युब च्यानलबाट अपलोड भएको ९ दिनभित्र यो भिडियोले १० लाखभन्दा बढी भ्युज पाएको छ । 

चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैको ६२६ भाग युट्युब ट्रेन्डिङको ८ औं नम्बरमा छ । मेरी बास्सैको यो भाग तिहार विशेष छ । मिडिया हब अफिसियल च्यानलबाट अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म १४ लाखभन्दा बढी भ्युज पाएको छ । 

युट्युब ट्रेन्डिङको ९ नम्बरमा योगेश काजी एवं सारिका घिमिरेको ‘हेल्लो’ गीतको भिडियो छ । एकनारायण भण्डारीको शब्दको उक्त भिडियोमा आश्मा विश्वकर्मा तथा सरोज अधिकारीले अभिनय गरेका छन् । यो भिडियोलाई मंगलबारसम्म युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ । 

प्रकाशित :कार्तिक २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्