हामी यस्तै त हो नि ब्रो गीत समीर घिसिङ भीटेनले रमाइलो गर्दा–गर्दै सिर्जना गरेका हुन् । साथीहरूसँग बसेर रमाइलो गर्दा सन् २०१७–१८ तिर यो गीत तयार भएको हो । एकैछिनमा साथीहरूसँग बसेर तयार गरेको गीतलाई उनले डेढ वर्षपछि मात्र श्रोताहरू माझ ल्याएका थिए । चार महिना पहिले रिलिज भएको यो गीत हिट होला भन्ने भन्दा पनि गीत गाउने कर्मकै रूपमा तयार भएको थियो । यसको सिर्जना फ्रि–स्टाइलमा भएको छ । गीत रिलिज हुँदा शब्दका बारेमा प्रश्न उठ्ला भन्ने कुरा उनले कल्पनासम्म गरेका थिएनन् । उनमा हिपहप हो, यसलाई त्यस्तो सोचिन्न होला भन्ने थियो । गीतले धेरैको माया पनि पायो, २ करोड रिच पुगिसकेको गीत ४ महिनापछि विवादमा तानियो । फलस्वरूप भिटेन पक्राउ परे भने उक्त गीत युट्युब बाटै हटाइयो । उनले २४ घण्टा भन्दा बढी प्रहरी हिरासतमा बिताए । अहिले फेरि यसबाट केही पाठ सिक्दै सांगीतिक क्षेत्रमा अघि बढ्दैछन्– भीटेन । उनी यतिबेला नयाँ एल्बमको तयारीमा छन् । यो उनको तेस्रो एल्बम हुनेछ । सन् २०२० को मध्यतिर बजारमा ल्याउने तयारी छ उनको । भीटेन नयाँ एल्बमका गीतहरू तयार गर्दैछन् । सबै गीतको भोकल सिद्धिसकेको छ, अब फाइनल मिक्सिङ तथा मास्टरिङ गर्न मात्र बाँकी छ । यो एल्बम मोटिभेसनल खालको हुनेछ । जीवन बाँच्न सिकाउने खालको भएकाले एल्बममा समावेश यी गीत आफूलाई नै मन परेको उनले बताए । भीटेनले हालसम्म झन्डै ६० वटा गीत गाइसकेका छन् । एल्बमका रूपमा भने उनका दुईवटा एल्बम सार्वजनिक भएका छन् । एउटा सन् २०१७–१८ मा र अर्को २०१९ मा ।
हुनत उनी अन्डरग्राउन्ड र्याप गीत गाएर उदाएका हुन् । र्याप गीतमा नेपाली भाषा नै बढी प्रयोग गर्नु भीटेनका गीतको विशेषता हो । यस्ता गीत दर्शक–श्रोताले मन पराएका पनि छन् । उनले सन् २०१५ मा गरिब शीर्षकको गीत रेकर्ड गराए । यो नै उनको रेकर्डेड डेब्यु गीत थियो । सन्देशमूलक यही गीतले उनलाई सांगीतिक क्षेत्रमा ल्याएको थियो । उनका मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो आदि गीत दर्शक–श्रोताहरूले विशेष रुचाएका छन् ।
अहिले नेपाल भित्र र बाहिर उनका लाखौं फ्यान छन् । भीटेन व्यक्तिगत रूपमा भने लजालु स्वभावका छन् । ‘र्याप भनेको कच्चा शब्द अनि केही अश्लील पनि हुन सक्छ, प्रायगरी बोलिरहेको जस्तो, झर्किएको जस्तो । र्यापजस्तो पनि हुन सक्छ, बुझ्न खोज्नुपर्यो । सकारात्मक सोच राखेर हेर्ने–सुन्ने काम गर्नुपर्यो अनि मात्र नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ,’ भीटेन भन्छन्— यसमा मनमा जे आउँछ त्यही नै गाउने हो ।
भीटेनको व्यस्तता बढ्न थालेको तीन वर्ष भयो । सबैका भावनालाई गीतमार्फत समेट्ने प्रयास गर्छन् उनी । रमाइला, हाँस्ने, नाच्ने तथा दु:ख–सुखका गीत गाएका छन् उनले । आगामी दिनमा पनि यस्तै भेराइटीमा गीत तयार पार्ने उनको योजना छ । भीटेनलाई अलिकति फरक शैलीको पहिरन मन पर्छ । उनलाई स्वाग मन पर्छ । जिन्स, हुडिज, हिपहप जुत्ता, क्याप, ग्रेड गरिएको हेयर स्टाइल, आफूलाई मन लागेजसरी हिँड्न रुचाउँछन् । उनले दाहिने नाक छेडेर फुली पनि लगाएका छन् ।
विदेशका कार्यक्रममा विदेशी समेत नेपाली र्याप गीतमा रमाउने उनले बताए । हामीसँग पावर छ भन्ने कुरा विदेशीहरूलाई पनि थाहा छ । नेपालभित्र पनि राम्रो सपोर्ट पाउन सके नेपाली र्यापको माग बढ्ने उनको दाबी छ । ‘फ्युचर राम्रो छ, क्राउड कहिलेकाहीं बढी जोस्सिँदा सम्हाल्न गाह्रो हुन्छ’ उनले भने । आफूलाई गाह्रो पर्दा पनि अरुलाई सहयोग गरौं भन्ने भावना छ उनमा । मनमा लागेको कुरा भनिहाल्ने बानीका कारण कतिपय साथीले चित्त पनि दुखाउँछन् उनीसँग ।
भीटेन यो अवस्थासम्म आइपुग्न त्यति सहज भने थिएन । २३ वर्षअघि रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका हुन् उनी । बुबा कपिल लामा तथा ममी हेम लामाको पहिलो सन्तानका रूपमा जन्मिएका भीटेनका दुई बहिनी छन् । बाल्यकालमा उनी अलि मोटा थिए अनि लोसे पनि । त्यसैले सबैले उनलाई मोटे भनेर जिस्क्याउँथे । पछि पढाइको सिलसिलामा होस्टलमा बस्न थाले । त्यति बेला उनी फुटबल पनि खेल्थे । उमेर बढ्दै गएपछि उनको मोटोपन हरायो । त्यतिबेला नै उनी गीत गाउने, र्याप हान्ने काम गर्थे । हिन्दी तथा अंग्रेजी गीत मन पराउँथे । बिस्तारै उनले आफ्नो रुचि मिल्ने साथीहरू फेला पारे । उनको घरमा उफर थियो, हेडफोनको माइकलाई उफरमा जोडेर गीत गाउँथे उनी । भ्वाइस रफ आए पनि त्यसमा गीत सुनाउँदै आफ्नो प्रतिभा बाहिर ल्याए उनले । उनीकहाँ साथीहरू आउँथे, जोसँग र्याप ब्याटल पनि चल्थ्यो । साथीहरूको सपोर्ट मिल्यो, त्यसपछि भीटेन नेपाली र्यापलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनुपर्छ भन्ने सोचका साथ अगाडि बढे । त्यतिबेला उनी प्रकाश ओझा, नारद खतिवडा, उदीत नारायण झा आदिका गीत बढी सुन्थे ।
महोत्तरीको दुर्गा माविबाट एसएलसी उत्तीर्ण गरेपश्चात उनीे काठमाडौं हान्निए अनि शिशु निकुञ्ज, सीतापाइलामा भर्ना भए । पढ्न भनेर काठमाडौं आएका भीटेनलाई गीतसंगीतको नसाले पनि तानिहाल्यो । खासमा उनी काकाको घरमा बस्ने, स्कुल पढ्ने अनि फुर्सदमा काकालाई उनको व्यवसायमा सघाउने गरी काठमाडौं आएका थिए । काम सकेर उनी गीत रेकर्ड गर्न जान्थे । गीत रेकर्ड गर्दा राति अबेर हुन्थ्यो । मध्यरातमा घर पुग्दा काकाले ढोका खोल्दिएनन्, गाली गरे अनि त्यसपछि उनले सडकमै रात बिताए । यस्तो पटक–पटक भयो तर उनलाई दु:ख लाग्दैनथ्यो, आनन्द मान्थे । किनभने उनी गीत रेकर्ड गरेर आएका हुन्थे र त्यसकै खुसी बढी हुन्थ्यो । साथीको घरमा स्टुडियो भएकाले रेकर्डिङ गर्न पैसा खर्च गर्नु पर्दैनथ्यो । यसले केही सहजता थियो उनलाई ।
यसरी र्याप गीततर्फ बढी आकर्षित हुन थालेपछि काकाको व्यवसायलाई कम समय दिन्थे उनी । त्यतिबेला काकाको व्यवसाय राम्रोसँग चलिरहेको थिएन, त्यसैले काकाले उनलाई घरबाट निकालिदिए । त्यसपछि उनी साथीको कोठामा गए । त्यहाँ पनि लथालिङ्ग अवस्था थियो, जसोतसो बसे । एक हप्तासम्म खाना नखाई चिया र चिउराको भरमा दिन काटे । उनले केही समय घरमा रंग लगाउने काम समेत गरे । ‘यदि त्यो समयमा घर फर्किएको भए आज म यो स्थानसम्म आइपुग्ने थिइनँ,’ भावुक हुँदै उनले भने ।
भीटेनले जीवनमा सुखभन्दा दु:ख बढी देखेका छन् । उनीसँग पैसा थिएन । साथीहरूले गाडी भाडा भनेर पैसा दिए तर त्यो पैसा चुरोट खाएर सके अनि धुम्बाराहीदेखि ह्वाइट गुम्बासम्म पैदलै पुगेँ । यस्तो कार्य पटक–पटक गरेका छन् उनले । उनलाई पढ्न समेत झ्याउ लाग्थ्यो, त्यसैले कलेज छाडे । पछि पश्चाताप भयो अनि केही वर्षको ग्यापपश्चात् कलेज ज्वाइन गरे । उनले पहिलोपल्ट गीतबाट कमाएको ५ हजार रुपैयाँ थियो । ‘बुटवलमा कार्यक्रम आयोजना गरी २५ हजार दिने गरी उनलाई बोलाइयो तर पछि ५ हजार मात्र दिइयो,’ उनले भने । भीटेनले केही समय थान्का पेन्टिङको व्यवसाय गरे । अहिले भने उनी यो व्यवसायमा संलग्न छैनन् । सबै समय संगीतलाई नै दिन्छन् । कहिलेकाहीँ मुड चले थान्का पेन्टिङ बनाउने काम भने गर्छन् ।
आफ्नो सांगीतिक नाम भीटेन साथीहरूले जुराइदिएको उनी बताउँछन् । ‘यो नाम त खासमा मैले निकालेको भन्दा पनि साथी–भाइ बसेका बेलामा निस्किएको हो । यो नामका पछाडि खासै कुनै अर्थ छैन, कुरैकुरामा यो नाम आयो, सुन्दा अलि युनिक लाग्यो त्यति नै हो,’ उनले स्मरण गरे । ‘हामी बसिरहेका थियौं । यसरी जमघटमा हुँदा केटाहरूको नाम राख्ने हुन्छन् नि टोलतिर । कसैलाई डल्ले भन्छन्, कसैलाई के भन्छन्, हो त्यस्तैमा मलाई खोइ के हिसाबले केटाहरूले त्यही नाम राखिदिए, मलाई पनि दामी लाग्यो’ उनले थपे । यो नामको विशेष अर्थ नभएको र यसका बारेमा अरु डिटेल तिनै साथीहरूसँग सोध्नुपर्ने उनले बताए ।
भीटेनको मन म्युजिकमा मात्र छ । उनी यताउता दायाँबायाँ केही मतलब राख्दैनन् । ‘मलाई कसले के भन्दैछ, कसले के गर्दैछ मतलब हुँदैन, मतलब गर्न थाल्यो भने दिमाग त्यतातिर डुल्न थाल्छ, यता आफ्नो ध्यान भंग हुन्छ । यो आफैंलाई घाटा हो ।’
कसले के राम्रो भन्यो कसले के नराम्रो भन्यो त्यो सोच्ने भन्दा पनि आफूले जे बुझेको छ त्यही गर्दै जाने उनको बानी छ । दर्शक–श्रोताको माया, सपोर्ट तथा मोटिभेसनले आज आफू यो स्थानसम्म आइपुगेको उनले बताए । भीटेन नाम स्थापित हुन उहाँहरूकै हात भएकाले अब पनि सपोर्ट गर्ने र माथी लाने कुरा दर्शक–श्रोताहरूकै हातमा भएको उनको बुझाइ छ ।
भीटेन कन्सर्टहरूमा व्यस्त छन् । अफर आएअनुसार मिलाएर गर्ने प्रयास गरिरहेको छु, राम्रो पनि भैरहेको छ, नराम्रो पनि भैरहेको छ, त्यसलाई समेत ध्यान दिएर कसरी अझ राम्रो गर्ने भनेर सोचिरहेको छु । प्रोगाममा क्वालिटि दिने आफ्नो योजना भएको उनले बताए । ‘अफरहरू आइरहेका छन्, ती अफरलाई एसेप्ट गरेर आफ्नो दिमाग–विचार लगाएर अझ राम्रो क्वालिटि दिने योजना छ, त्यसरी नै अघि बढिरहेको पनि छु,’ उनले बताए ।
भीटेन अहिलेसम्म अविवाहित नै छन् । विवाहका बारेमा केही नसोचेको उनी बताउँछन् । ‘हेरौं, टाइम लाग्ला, मेरा सपनाहरू धेरै छन्,’ उनले भने । संगीतको आम्दानीबाट उनी सन्तुष्ट छन् । आम्दानीका लागिभन्दा पनि गाउनकै लागि यो क्षेत्रमा समर्पित भएको हुँ । ठीकै भैरहेको छ । खान–बस्न पुगेको छ । कार्यक्रमबाट अलि–अलि आउँछ । दाइहरूले माया गर्छन्, दर्शक–श्रोताहरूले पनि रेस्पेक्ट गर्नुहुन्छ, माया दर्साउनुहुन्छ,’ –भीटेन भन्छन् ।
उनी राति अबेर सुत्छन् । बिहान उठ्दा कहिलेकाहीँ ८–९ नत्र ११ बज्छ, सुत्दाचाहिँ बिहान पाँँच बजिसकेको हुन्छ । उनलाई बेलुका निद्रा लाग्दैन, कहिलेकाहीँ भने २–३ बजे नै सुत्छन् ।
उनको दैनिकि स्टुडियोमै बित्छ । उठ्नेबितिकै चिया खायो, स्टुडियो छिर्यो, तानतान–तुनतुन गर्यो यताउता गर्दा–गर्दै दिन जान्छ । भीटेन गीत लेख्दै दिन बिताउँछन् । उनले एक महिनामा १० वटा गीत तयार पारेका थिए । उनी खासै घुम्न निस्किँदैन । बस, काममा मात्र ध्यान दिन्छन् ।