साप्ताहिक संवाददाता
क्यूएफएक्स सिनेमाजको पर्दा संख्या देशव्यापी २३ पुगेको छ । तीन महिनाभित्र यो संख्या बढ्ने क्युएफएक्सका निर्देशक नकिम उद्दिनले बताए । बिहिवार मात्रै भक्तपुरमा रहेको भाटभटेनीमा यसको शाखा खुलेको हो ।
भक्तपुरपछि हामी १०–१५ दिनमै बुटवलको भाटभटेनी र बिराटनगरमा यसको शाखा खोल्दैछौं, निर्देशक उद्दिनले भने, ‘क्युएफएक्सलाई आम दर्शकहरुले दिनुभएको मायाप्रति आभारी छौं ।’
भक्तपुरमा खुलेको क्युएफएक्स हलमा तीन स्क्रिनमा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस ध्वनी प्रविधि जडान गरिएको छ । सात सय सिट क्षमताको तीन हलमा रिसलाइनर सोफा पनि राखिएको छ । दर्शकले आफू अनुकुलको पोजिसनमा फिल्मको मजा लिन सक्छन् ।
‘घामड शेरे’को प्रिमियर
भक्तपुरको शाखा उद्धघाटनसँगै चलचित्र ‘घामड शेरे’ पनि प्रिमियर गरियो । आज शुक्रवारदेखि प्रदर्शन भएको यो चलचित्रको हिजो निर्माण टिमले प्रिमियर गरेका हो । चलचित्रको विशेष शो हेर्न नेपालका चर्चित सेलिब्रेटी, पत्रकार, राजनितीज्ञ, व्यापारीहरुको उपस्थिती थियो ।
हेमराज बिसी निर्देशित यो चलचित्र हेरिसकेपछि दर्शकले राम्रो तारिफ गरेका छन् । कथाबस्तु, प्रस्तुती, अभिनय तथा साउण्डको विधामा चलचित्र अब्बल रहेको प्रतिक्रिया मिल्यो । एक शेरे पात्रको जीवनमा आउने उतारचढाव बोकेको चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको चलचित्रमा नेपालको प्रशासनिक व्यवस्था, साली–भेनाको सम्बन्ध, वैदेशिक रोजगारले निम्त्याएको परिस्थितिलाई चलचित्रले निकै मिठो ढगंले उठान गरेको छ ।
यो चलचित्रमा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भुमिका छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा देखाइएको छ ।