माथिल्लो तामाकोसी: आशा र अपेक्षा

- किशोर नेपाल

कार्तिक २२, २०७६

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणको मात्र होइन, नेपाली जनताको पनि ‘ड्रिम प्रोजेक्ट’ हो । चिलिमे जलविद्युत् आयोजनाको सफलतापछि यो आयोजना प्रारम्भ गरिएको थियो । यो नेपाली जनताको ड्रिम प्रोजेक्ट बन्नुको एउटै कारण थियो— लगानी । यो आयोजनाको निर्माण सम्पूर्ण नेपाली लगानीमा हुन लागेको थियो । यो साँच्चै राष्ट्रिय गौरवको विषय थियो । नेपालीहरूले आप्mनै पुँजीमा ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनामा हात हालेका थिए । आयोजनाको निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत, नेपाल दूरसञ्चार संस्थानको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत सेयर लगानी छ । यस्तै, कर्मचारी संचय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, दोलखावासी जनताको १० प्रतिशत, सर्वसाधारण जनताको १५ प्रतिशत, विद्युत् प्राधिकरणका कर्मचारीको ३ दशमलव २ प्रतिशत सेयर लगानी छ । 

आयोजनाले ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भने पनि पहिलो चरणमा ४ सय २६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । यसमा रोल्वालिङ खोलाको पानी मिसाएपछि यसको ३० मेगावाट क्षमता बढनेछ ।

यो आयोजनाको सबै काम सकिइसकेको छ । आयोजनाका प्रवक्ता डा. दिनेश न्यौपानेका अनुसार आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भैसकेको छ । अब चुरो काम बाँकी छ २ प्रतिशत । यो २ प्रतिशत काम सम्पन्न नभएसम्म बिजुलीको उत्पादन हुँदैन । त्यसैले अहिले सबैको ध्यान यही २ प्रतिशतमा केन्द्रित छ ।

जलविद्युत्का क्षेत्रमा अनन्त सम्भावना भएको देशका रूपमा परिचित छ नेपाल । नेपालकै पनि दोलखा जिल्ला जलविद्युत्को हब बनेको छ । धेरै लोडसेडिङका दिन र रात बिताएका नेपालीहरू आफ्नो नियतिसँग तर्सिएका छन् । उनीहरू जलविद्युत्का क्षेत्रमा नेपालले छिटै फड्को मारे देशको कल्याण हुने कुरा सोचिरहेका छन् । यसै क्रममा आउँछ माथिल्लो तामाकोसीको नाम । यो आयोजनाबाट विद्युत् उत्पादन ढिलो भएको छ । ढिलाइको मुख्य कारण २०७२ को भुइँचालो र भारतीय नाकाबन्दी रहेको बताउँछन् आयोजनाका अधिकारीहरू । भुइँचालो र नाकाबन्दीले १८ महिना आयोजनाको काम रोकियो ।

कामदारहरू लाखापाखा लागे । कामदार जुटाएर कामलाई लय ल्याउन निकै मेहनत गर्नुप¥यो । त्यसपछि पनि अरू अवरोध आइ नै रहे । जसोतसो त्यो संकट टारियो । अहिले यो आयोजनामा लय आइसकेको छ । आयोजनाका सुरुङ, बाँध, बालुवा छान्ने प्रबन्ध र टर्बाइनको काम सकिइसकेको छ । यसको अर्थ हो, आयोजनाको सिभिल, इलेक्ट्रो मेकानिकल, प्रसारणलाइन र सब–स्टेसन निर्माणका काम सम्पन्न हुने चरणमा छन्, तर विद्युत् उत्पादन गर्न पानी प्रवाहित गरेर चलाउनुपर्ने टर्बाइनमा पानी पठाउने पेनस्टक साफ्टको काम पूरा भएको छैन । सम्पूर्ण आयोजनाको जम्मा ५ प्रतिशत काम भनिएको पेनस्टक पाइप राख्ने काम पूरा नभएकाले आयोजनाका अधिकारी पनि अलमलमा परेका छन् । पेनस्टक पाइप राख्ने काम निकै कठिन पनि छ । यसका दुईवटा पाइप जोड्न ४८ देखि ९६ घण्टाको समय लाग्छ । भूमिगत तहसम्म पाइप झार्न चार घण्टा लाग्छ भने फिटिङमा आठ घण्टा लाग्छ । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अहिले देशका आँखाहरू केन्द्रित छन् । जनताको लगानी भएकाले पनि यसमा सबैको चासो रहनु स्वभाविक हो । मेलम्ची खानेपानी आयोजना समयमा पूरा नभएको घटनाले उद्वेलित भएका जनताको मनस्थिति माथिल्लो तामाकोसी पनि ढिलो हुँदा खलबलिनु अस्वाभाविक होइन । आयोजनाका प्राविधिक अधिकारीको मनमा पनि अलिकति संशय छ कि कतै पेनस्टक पाइपको काममा ढिलाइ भयो भने चैत मसान्तभित्रमा विद्युत् उत्पादन सम्भव हुनेछैन । तल्लो पेनस्टक पाइप १ सय मिटर जडान भैसकेको छ । अब २ सय ७३ मिटर पाइप जडान हुन बाँकी छ । यो स्तम्भकार आयोजनाको अवलोकनमा जाँदा पेनस्टक पाइप जडानको काम तदारुकताका साथ भैरहेको थियो ।

सबैको कामना छ, माथिल्लो तामाकोसीले २०७६ सालमै विद्युत् उत्पादन गरोस् । निश्चय पनि, यो आयोजना नेपाली लगानीको उपयोगिताका हिसाबले माइलस्टोन हो । यो आयोजना निर्माणका क्रममा दर्जनौं मानिसले ज्यान गुमाएका छन् । लाखौंका आशा र अपेक्षा जोडिएका छन् यससँग । यही सम्झेर आयोजनाका अधिकारीहरू निर्धारित समयमा विद्युत् उत्पादन गर्ने परिस्थितिको निर्माणमा लागून् । यो नै सबैको चाहना हो ।

प्रकाशित :कार्तिक २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्