साप्ताहिक संवाददाता
जुट भन्नासाथ अधिकांशको दिमागमा तासको सम्झना आउँछ । तासको कतिपय खेलमा जुटको विशेष महत्व हुन्छ । जुटको महत्व राम्रो हुँदाहुँदै पनि त्यसको सदुपयोग गर्न सकिएन भने त्यो खेल खेलाडीका लागि फिका नै हुन्छ । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘बादशाह जुट’ हेर्दा खेलाडी भएर पनि नमिलेको खेलझैं लाग्छ । निर्देशक जोनी सिंह राणाको ‘डेब्यू’ निर्देशनको यो चलचित्रमा उनले अनुभवी कलाकारहरूलाई खेलाडीका रूपमा छाने पनि ती खेलाडीलाई सही रूपमा खेलाउन सकेका छैनन् । चलचित्रमा अभिनेताद्वय आमिर गौतम तथा सुशील श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।
चलचित्रको कथा आमिर र सुशीलको बाल्यकालबाट सुरु हुन्छ । तासका सौखिन श्याम सुन्दर खड्का(आमिर) र रामचन्द्र कटुवाल(सुशील) जहिल्यै बहाना बनाएर कक्षाबाट बाहिरिन्छन् । एकदिन फलास खेल्ने क्रममा दुवैलाई बादशाह जुट आउँछ । छोराहरूले तास खेलेको थाहा पाएपछि उनका बुवाले दुवैको कान समातेर आइन्दादेखि तास नखेल्न चेतावनी दिन्छन् । उनले दुवैलाई राम्रो काम गरेर तासको बादशाह नभई वास्तविक बादशाह बन्न सुझाव दिन्छन् ।
वयस्क भएपछि आमिर प्रहरी र सुशील पत्रकार हुन्छन् । श्यामसुन्दर गैरकानुनी काम गर्नेलाई पक्रेर आफूलाई बादशाहका रूपमा चिनाउन चाहन्छन् भने रामचन्द्र चाहिँ ‘एक्सक्लुसीभ’ समाचार दिएर च्यानलको टीआरपीसँगै आफ्नो साख बढाउन चाहन्छन् । एकदिन श्यामसुन्दरले आइएसआइका लडाकुहरूले प्रशिक्षण लिइरहेको देख्छन् र रामचन्द्रलाई ‘एक्सक्लुसीभ’ समाचार भन्दै बोलाउँछन्, तर त्यही प्रशिक्षणका कारण दुवैको जागिर जान्छ अर्थात् उक्त प्रशिक्षणका प्रशिक्षक नै गृहमन्त्रीका छोरा हुन्छन् । यो घटनाले रामचन्द्र र श्यामसुन्दरबीच फाटो ल्याउँछ ।
कथा अघि बढ्ने क्रममा रामचन्द्र र श्यामसुन्दरको जीवनमा प्रिया र मुना नामका दुई युवतीको आगमन हुन्छ । दुवै युवती आफ्नो साथी निशाको हत्याको बदला लिने युवाको खोजीमा हुन्छन् । प्रिया र मुनाले निशाको हत्या व्यापारी जयनन्द शाहले गरेको बताएपछि रामचन्द्र र श्यामसुन्दर जयनन्दलाई मारेर जयनन्द प्रतिको प्रिया र मुनासँगै आम मानिसको त्रास हटाउने अभियानमा लाग्छन् ।
चलचित्रको कथा अनुसार कलाकारले केही हदसम्म अभिनय गरेका छन्, तर निर्देशकले जति गराउन सक्नुपथ्र्यो त्यति गराउन सकेका छैनन् । चलचित्रको सांगीतिक पक्ष औसत छ । यो चलचित्रमा कमेडी फ्लेभर मिसाउन खोजिए पनि त्यसले दर्शकलाई खासै हसाउँदैन ।
चलचित्रमा प्रशस्तै कमजोरी छन् । बाल्यकालमा प्रिया, निशा र मुना एक अनाथाश्रममा बसेका हुन्छन् । श्यामसुन्दर र रामचन्द्रले गुगलमा सर्च गरेर उक्त अनाथाश्रम खोज्छन् । यो दृश्य अनौठो लाग्छ । चलचित्रमा एक्सनलाई प्राथमिकता दिइए पनि प्रमुख पात्र आमिरले कुद्दै बन्दुक चलाएको दृश्य असुहाउँदिलो छ ।
प्रिया र मुनालाई एकछिन भेटेका श्यामसुन्दर र रामचन्द्र अर्को दृश्यमा उनीहरूसँगै ओछ्यानमा भेटिन्छन् जुन अपत्यारिलो लाग्छ । प्रहरी र पत्रकारिता पेशाबाट निकालिएपछि बेरोजगार भएका श्यामसुन्दर र रामचन्द्र अर्पाटमेन्टमा बसेको देखाइएको छ जुन असम्भवझैं लाग्छ । बेरोजगार भए पनि उनीहरू विलासी जीवन बिताउँछन् जबकि उनीहरूको कुनै आयस्रोत हुँदैन ।
चलचित्रलाई मनोरन्जनसँगै सन्देशको माध्यमका रूपमा पनि लिइन्छ । दर्शकले कुनै पनि चलचित्रमा यी दुवै कुरा पाएनन् भने त्यो चलचित्र हेरेको अर्थ पनि रहँदैन ।