नेपालको हो भनेर, तर भाषा त उनीहरूले बुझेका हुँदैनन् । जे भए पनि म्युजिक चलिसकेपछि सरकारले यसले यस्तो बोल्यो भनेर रोक्न मिलेन नि । फाइदा त हाम्रो देशलाई भएको हुन्छ, देशको नाम संसारभरि फैलिएको छ, आज एउटा आर्टिस्टले यो लेभलमा बसेर काम गर्न पाएको छ । त्यो आर्टिस्टलाई देखेर हजार जना नयाँ आर्टिस्ट निस्कने हो । सबैले म्युजिकको लाइनमा रोजगारी पाउने भए, स्वतन्त्रतापूर्वक सिर्जना गर्न पाउने भए ।
हामी यस्तै त हो नि ब्रो गीतका कारण चर्चा अनि विवादमा आएका नेपाली हिपहप स्टार समीर घिसिङ भीटेन नेपाली हिपहपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन चाहन्छन् । यद्यपि उनी आफ्नो यही पछिल्लो गीतका कारण पक्राउसमेत परे भने उक्त गीत युट्युबबाट हटाउन बाध्य भए । अहिले उनी पुन: आफूलाई परिमार्जित र परिष्कृत गर्दै अघि बढ्न खोजिरहेका छन् । आफ्नो २४ घण्टे गिरफ्तारीपछि सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नजनाएका भीटेनले साप्ताहिककर्मी राजाराम पौडेलसँग खुलेर कुराकानी गरे ।
तपाईंले गाउने गीतको विधा कुन हो ? कसरी यसतर्फ आकर्षित हुनुभयो ?
पूरै अर्थात् प्योर हिपहप हो, हिपहप थरी–थरीको हुन्छ । यसलाई आ–आफ्नो हिसाबले बनाउन मिल्छ, यस्तै हुनुपर्छ भन्ने लिमिट हुँदैन । रमाइलो गर्दैछौं भने जोक्स हुन सक्छ, त्यसलाई कुन हिसाबले प्रिजेन्ट गर्दैछौं, त्यसले निर्धारण गर्छ । रमाइलो गर्ने, पार्टी गर्ने हिसाबले बनाइएको छ भने डान्स म्युजिक हुन्छ, क्लब म्युजिक हुन्छ । यस्तो गीत आमाबाबु–छोराछोरी सबै बसेरसँगै हेर्नैपर्छ भन्ने छैन । हामीले जबर्जस्ती गीत सुन भनेर भनेका पनि हुँदैनौं, बरु त्यहाँ हामीले सूचना दिएका हुन्छौं । भिडियो हेर्नुभन्दा अघि, गीत सुन्नुभन्दा अघि १८ वर्षभन्दा मुनिकाले नहेर्नु भनेर लेखिएको हुन्छ, अनि हामीले युट्युबतिर इमेल नहुनेहरूले हेर्नै नमिल्ने पनि बनाइदिएका हुन्छौँ, १८ वर्ष मुनिकाले हेर्न नमिल्ने बनाइदिएका हुन्छौँ । हिपहपमा त्यो हुनैपर्छ किनभने हिपहप यस्तो खालको आर्ट हो जसको कुनै लिमिट छैन, सिस्टमभन्दा बाहिर जाने संगीत हो यो । ‘ठग लाइफ’ भन्ने शब्द सुन्नुभएको होला नि, त्यो हिपहपबाटै निस्किएको हो । हुन त त्यो राम्रो कुरा होइन होला तर पनि यसले हिपहप त्यहीँबाट जन्मिएको जनाउँछ । आफूले हेर्दै आएको, पहिल्यैदेखि सिक्दै आएको, थाहा हँुदै आएको, सुन्दै आएको हुनाले यसकै हावाले भेट्यो मलाई, त्यसैले म हिपहपमै रमाएँ । यो म्युजिक मलाई मन पर्नुको खास कारणचाहिँ यो सीमाभन्दा बाहिर हुनु पनि हो ।
यस्ता गीतमा विरोधचाहिँ किन हुन्छ ? सुन्नेले के कुरा बुझ्नुपर्छ ?
हिपहप भनिसकेपछि कति कुरा जोक्स हुन्छ, त्यसमा कतिलाई होच्याइएको हुन्छ, कतिलाई जिस्क्याइएको हुन्छ, खिसी गरिएको हुन्छ, हाँसोमा उडाइएको हुन्छ । कतिलाई डिस भनिन्छ, एक–अर्कालाई डिस गर्ने कुरा हुन्छ, र्याप ब्याटलमा जस्तो । हिपहपमा डिस गर्ने मेरा पनि कतिपय गीत छन्, तर सुन्नेले कसरी लिनुपर्यो भन्दाखेरि यसले मलाई भन्यो कि भनेर लिइयो भने उसलाई रिस उठ्छ, अनि उसले विरोध गर्छ, तर त्यो गीत म आफैं गाउँदै छु भन्ने हिसाबले फिल गर्यो भने उसलाई मज्जा आउँछ । जब र्यापरको आवाज आफूले नै बोलेजस्तो लाग्छ त्यो कुराले मोटिभेसन आउँछ, एक्सप्रेसन आउँछ, हो त्यसरी लिने हो हिपहपलाई, तर मानिसहरूले नेगेटिभ हिसाबले लिइदिन्छन् अनि विरोध हुन्छ ।
विश्वमा हिपहप म्युजिकको ट्रेन्ड कस्तो छ ? हिपहपमा देखाउने स्टाइल कसरी सिर्जना हुन्छ ?
संसारभरि नै सबैभन्दा बढी हिट पनि हिपहप नै छ, मेरो दृष्टिमा अहिलेको नम्बर वान म्युजिक भनेकै हिपहप म्युजिक हो । सबैभन्दा बढी आम्दानी गर्ने, सबैभन्दा बढी बजार भएको विधा पनि यही हो । अहिले पनि र्यापरहरूले घाँटीभरि चेन नै चेन (सिक्री) अनि हातभरि पैसा नै पैसा देखाएका हुन्छन् । उनीहरूले पैसा–सुन नै देखाउन खोजेका होइनन्, तर किन देखाए भन्ने कुरा आउँछ, स्ट्रगल गर्यो, दु:ख गरेर कमायो अनि त्यसको प्रदर्शन गर्यो, हिपहप त्यसरी नै चलिरहेको छ । यसको अर्थ आफूसँग छ भने त्यसलाई देखाउने हो, स्टाइल दिने हो भन्ने हो, त्यही भएर ‘स्योयाक’ भन्ने शब्द नै स्टाइल हो । स्योयाक शब्द अरु जनराका गीतले निकालेको शब्द होइन । अलिकति मात्तिने पारा देखाउने भएर यसलाई कतिपयले मन नपराउनु भएको हो । नेपालमा मात्र नभएर संसारभरि नै यस्तै छ ।
नेपालमा तपाईंहरूले गाउनुभएको हिपहपमा प्रयोग भएको शब्दलाई लिएर प्रश्न उठ्यो, अन्य देशमा प्रयोग हुने शब्द कस्तो पाउनुभएको छ ?
नेपालमा हिपहप भनेको के हो, र्याप भनेको के हो भनेर बुझ्दा यम बुद्धले आमा गीत गाए, साथी गीत गाए, त्यो खालको गीत मात्र र्याप हो भने जसरी लिन्छन् । किनभने त्यसमा त एउटा म्यासेज छ पोजेटिभ खालको । त्योचाहिँ र्याप हो, त्यसबाहेक अरु र्याप होइन, अरु भनेको छाडापन हो, यताउता भन्ने चलन छ । यस्तो खालको मनस्थिति छ हामीकहाँ । हिपहप भनेपछि सबै थरी हुन्छ, यसमा रमाइलो पनि गर्छ हिपहप आर्टिस्टले, गर्दैन र ? जहिले पनि दु:खी भएर निराशाको गीत वा मोटिभेसनल गीत मात्र गाइँदैन नि, रमाइलो पनि होला, क्लब पार्टी आदितिर जाने कुरा पनि भयो— माया प्रेम पनि बस्ने भयो, माया–प्रेमको गीत पनि गाइदिने भयो । हिपहपमा सबै खालका गीत गाउन सकिन्छ । म्युजिक जस्तो पनि हुनसक्छ । अब नेपालमा जस्तो पार्टी गर्यो त्यस्तै गीत बनाइयो तर त्यो पचेन । अहिले अनलाइनबाट गीत बिक्री हुन्छ, अनलाइन लिसनिङ हुन्छ, तर यहाँ सरकारले दिएको सिस्टम छैन, न यहाँ कुनै राष्ट्रिय टेलिभिजन, रेडियोले हाम्रो गीत बजाएको छ, न सरकारले कुनै स्थान दिएको छ, छैन नि ? डाइरेक्ट इन्टरनेट प्लेटफर्मबाट गएको हो । जुन प्लेटफर्म नेपाल सरकारले दिएको पनि होइन । त्यो सिस्टम, इन्टरनेट, युट्युब नेपालको होइन, युट्युब, इन्टरनेट सबैको साझा हो । यो छुट्टै संसार हो । भावनात्मक खालको गीत पनि हुन्छ यसमा । र्याप भन्नाले यमबुद्धजस्तै मात्र पनि होइन, हुन त मेरो पनि त्यस्तै एक–दुईवटा गाना छन्, अझै पनि आउँदैछन् त्यस्ता गीत, म जहिले पनि गर्छु यस्ता गीत, मोटिभेसन फरएभर हुन्छ, जहिले पनि चाहिन्छ मानिसलाई, म पनि त्यस्तो गीत गर्छु, अरू गीत पनि आउँदैछन् तर र्याप त्यति मात्र होइन, र्याप सबै थोक हो ।
नेपालमा हिपहपको क्रेज कस्तो छ ?
एकदमै धेरै छ । र्याप म्युजिककै क्रेज छ, अहिलेको जमानामा । पहिले–पहिले अरूकै जमाना थियो होला । रक म्युजिक, रक ब्यान्डहरू निकै चल्थे, यताउता सबैतिर ब्यान्डहरू हुन्थे, तर अहिले र्यापको क्रेज छ । जसरी हामी फुटबलबाट आकर्षित भएर गल्ली–गल्लीमा फुटसल खेल्छौं, र्याप पनि लगभग त्यस्तै भैसक्यो ।
हिपहप तथा र्याप गीतले कुन उमेर समूहलाई बढी आकर्षित गरेको छ ?
र्याप खासमा युवाहरूका लागि हो, स–साना बच्चाहरूलाई पनि थाहा छ र्यापका बारेमा, बूढाहरूलाई त्यति जानकारी नहोला । खासगरी ८–१० वर्षभन्दा माथिकोमा यसको क्रेज छ । १२–१३ वर्षकाले हल्का रमाइलो गर्छन् भने १४–१५ वर्षकाले बुझ्न थाल्छन् । १६ देखि १८ वर्षकाले मज्जाले बुझेका हुन्छन् । १८ देखि २० वर्षकालाई र्यापले बढी छुन्छ । त्यसभन्दा माथिकाले र्यापलाई यस्तो हो भन्ने भिजनले (पूर्वाधार बनाएर) हेर्छन्, राम्रो देख्नेले मन पराउँछन्, नराम्रो देख्नेले मन पराउँदैनन् । त्योभन्दा जति माथिको उमेर समूहमा गयो, यसको क्रेज बिस्तारै कम हुँदै जान्छ ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सरकारको समर्थन छ त ?
सरकारले समर्थन गरेको छ, नगरेको होइन । के समर्थन गरेको छ भने हामीलाई देशमा बस्न दिएको छ,
सरकारको समर्थन त्यही हो ।
हामीले र्यापमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न के गर्नुपर्छ ? यसको मुख्य कुरा भाषा हो कि संगीत ?
मुख्य कुरा स्वतन्त्रता हुनुपर्छ, हामीले बोल्ने भनेको नेपाली भाषा हो, यो भाषा नेपालभन्दा बाहिर नेपालीबाहेक अरु कसैले बुझ्दैनन्, तर म्युजिकमा भाषा मात्र हुँदैन । अस्ति भाषाले गर्दा असर परेको हो, भाषाले गर्दा समाजमा विकृति फैलिने कुरा आयो । आफ्नै भाषा नेपालीमा बोलेको छ भने त्यो यहाँका जसले पनि बुझ्ने भए । त्यसमा नराम्रो शब्द परेको छ भने त त्यो अझ फैलने भयो भन्ने कुरा आयो । तर भाषा मात्र नभएर मुख्य कुरा म्युजिक हो, भाषाले म्याटर गरेन, भाषाले त्यहाँभित्र रोक–छेक केही गरेन, म्युजिक हो मुख्य कुरा, संगीतले तपाईंको भाषा बुझ्दैन । त्यही भएर मुख्य कुरा त म्युजिक राम्रो हुनुपर्छ । म्युजिक दामी भैसकेपछि जहाँसुकैको मानिसलाई छुन्छ । अस्तिको हाम्रै गीत पनि धेरैले मन पराइरहनुभएको छ । संसारभरिका सबै मानिसलाई टच गर्न सकिन्छ भने नेपालभित्रै खुम्चिएर बस्ने कुरा त भएन नि ।
हिपहपमा अगाडि बढिरहनुभएको छ, नेपाली म्युजिकलाई कहाँ पुर्याउने सपना छ तपाईंको ?
सपना त छ नि, अर्बौं–खर्बौं रिच पुर्याउनेछ । त्यो देखेपछि त कहाँको आर्टिस्ट हो भनेर खोजी गर्छन् दुनियाँले । अनि थाहा हुन्छ नि नेपालको हो भनेर, तर भाषा त उनीहरूले बुझेका हुँदैनन् । जे भए पनि म्युजिक चलिसकेपछि सरकारले यसले यस्तो बोल्यो भनेर रोक्न मिलेन नि । फाइदा त हाम्रो देशलाई भएको हुन्छ, देशको नाम संसारभरि फैलिएको छ, आज एउटा आर्टिस्टले यो लेभलमा बसेर काम गर्न पाएको छ । त्यो आर्टिस्टलाई देखेर हजार जना नयाँ आर्टिस्ट निस्कने हो । सबैले म्युजिकको लाइनमा रोजगारी पाउने भए, स्वतन्त्रतापूर्वक सिर्जना गर्न पाउने भए । यस्तै ठाउँमा नेपाली म्युजिकलाई पुर्याउने सपना छ मेरो ।
त्यस्तो सपना पूरा हुन नेपालबाट सम्भव होला त ? केही आधार छन् त्यसका ?
एकदमै सम्भव देखिरहेको छु, एकदम राम्रो छ । नेपाली म्युजिकको दायरा फराकिलो हुँदै गएको छ । नेपाली र्याप गीत मात्र नभएर नेपाली म्युजिक जस्तो ‘कुटुमा कुटु’ को एक सय मिलियन पुग्न थालेको छ । एक सय मिलियन भनेको इन्टरनेसनल भ्यूज हो । मैले भन्न खोजेको मार्केट देख्यो नि, अब एक सय मिलियन देख्दाखेरि इन्डियन मार्केटले पनि आँखा लगायो, मिलेर काम गर्न सक्यो, हाम्रो आर्टिस्टको कला पनि भारतभरि फैलने भयो । यसरी फैलिएपछि त बजार ठूलो भयो नेपालको पनि, अरू–अरू देशसँग लिंक भयो । भारतमा मात्र नभएर बाहिर पनि सबैले देख्ने भए । यो फाइदाको कुरा हो । सम्भव छ जस्तो लाग्छ । र्याप म्युजिकको मार्केट पनि छ । मेरो अस्तिको गीत पनि २० मिलियन पुगेको थियो, जुन निकै राम्रो हो नेपालको सन्दर्भमा । त्यसले आर्टिस्टलाई फाइदा हुन्छ, देशको नाम अघि बढ्छ, पैसा पनि झर्छ, आफ्नो देशमा इनकम आउँछ, आर्टिस्टले कमाएर लिएर आउँछ । सबै हुँदै गएको पनि छ । अरूहरूले पनि काम पाएका छन् ।
कसरी पक्राउ पर्नुभयो ? प्रहरी हिरासतको अनुभव सुनाउनु न ?
म स्टुडियोमै थिए । त्यतिबेला थाहा दिएनन्, झ्याप्प आए । रेकर्डिङका लागि तयार हुँदै थिए, झम्सीखेलस्थित आफ्नै स्टुडियोमा थिएँ । पक्राउपछि २४ घण्टा भन्दा बढी हिरासतमा बसे होला । तनावै–तनाव भयो, प्लानिङहरू थिए, धेरै कुरा सोचिरहेको थिएँ, सुटिङलगायतका योजना त्यत्तिकै थिए । तिहारको मुखमा एक्कासि पक्राउ पर्दा टेन्सन भैरहेको थियो । पक्राउ परेपछि धेरै कुरा सोच्दा–सोच्दै समय बित्यो ।
त्यो २४ घण्टाले तपाईंलाई के सिकायो ?
धेरै कुरा आफूले सोचेर पनि सिकें, अब के हुन्छ भन्ने सोचें, यताउता सोधपुछ गरें । त्यहाँ भएका मानिसलाई के कसरी आएको हो भनेर सोधे, कोही आफूले हाँकेको गाडीले मान्छे किचेर आएका थिए, कसैले झगडा गरेर आएको भने, एक–अर्कासँग कुरा सेयरिङ भयो । त्यहाँ कसैले यस्तो गीत गाउनु हुन्न भनेनन्, सबैले राम्रो कुरा गरे । गल्ती त हुन्छ मानिसबाट, तर राम्रा खालका मानिस नै थिए त्यहाँ, जानी–जानी होइन झुक्किएर गल्ती गर्नेहरू बढी थिए । हिरासतमा रहेका सबैले राम्रो कुरा गरे । मलाई थाहा नभएका कुराहरू सिकाए । मैले उनीहरूको कुरा सुने । मेरो कुरा पनि सुने उनीहरूले ।
यो अनुभवबाट नयाँ गीत जन्मने सम्भावना छ ?
अवश्य छ, हिरासतमा बस्दाको अनुभवबाट नयाँ गीत मज्जाले जन्मन्छ । त्यहाँ मैले दु:ख पनि देखे, कति तनावमा थिए, यद्यपि दु:ख पर्दा पनि हाँसेर बसिरहेका थिए, म त टेन्सनमै थिए, सुरुको दिन सबैलाई त्यस्तै हुँदो रहेछ । म त हाँस्न पनि सकिरहेको थिइनँ । उनीहरू हाँसिरहेकै थिएँ । उनीहरूलाई हेर्दा खासै केही भएको छैन भन्ने भयो । उनीहरूले पनि सहानुभूति दिए, सबै कुरा ठीक हुन्छ भाइ भने । उनीहरू हाँसिरहेको, जिस्किरहेको देख्दा, आफ्नो टेन्सन पनि हरायो । यद्यपि भोलि के गर्ने भन्ने सम्झिँदै बसें । प्लानिङ बनाएँ, अब यसो–यसो गर्छु भनेर । नयाँ–नयाँ आइडिया निकालें । म यसरी मुभ हुन्छु भनेर निर्णय लिएँ । यातना जस्तो केही पनि भएन ।
यसबाट के–कस्तो पाठ सिक्नुभयो ?
धेरै पाठ सिकियो, म्युजिकलाई राम्रो हिसाबले, मैले कुरा पनि गरें, माथि–माथिका मानिसहरूसँग कुरा गरे, उहाँहरूले पनि मोटिभेसन दिनुभएको छ, छोड्नुहुन्न, हार नखानुहोला यताउता भन्नुभएको छ सबै जनाले, गीत राम्रो लाग्यो तर मिलाएर गर्नुपर्छ भन्ने खालको कुरा पनि छ । व्यंग्य गर्न त मिल्यो कसरी गर्ने भन्ने खालको कुरा सिकें । कानुन के हो सिस्टम के हो बुझ्ने अवसर पाएँ ।
कुनै सम्झौता पनि गर्नुभयो ?
कुनै सम्झौता त भएको छैन, सीधा कुरा गरियो, अरु केही भएन । अब एक महिनापछिको तारेख दिइएको छ ।
परिवारबाट कस्तो समर्थन छ ?
बुबा भेट्न आउनुभएको थियो । परिवार पोजेटिभ छ । प्रेसर केही छैन । म ढुक्क भएर बसेको छु । खुसी नै छु ।
तपाईंका गीत मन पराउनेहरूलाई के भन्नुहुन्छ ?
सबैलाई धन्यवाद । मैले राम्रोका लागि प्रयास गरिरेहको छु । मलाई गाह्रो पर्दा धेरैले म्यासेज गर्नुभयो त्यसबाट म उत्साहित भएँ, खुसी लागेको छ ।