साप्ताहिक संवाददाता
अभिनेत्री तथा मोडल अदिति बुढाथोकी लामो समयदेखि मुम्बईमा छिन् । नेपाली चलचित्र ‘कृ’ की यी अभिनेत्रीले यो अवधिमा केही हिन्दी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । अदितिको बलिउड चलचित्रमा प्रवेश गर्ने संघर्ष भने आजका मितिसम्म जारी नै छ । यसबीच यी अभिनेत्रीले इन्स्टाग्राममार्फत आफू प्रेममा परेको जानकारी घुमाउरो शैलीमा दिएकी छिन् ।
गत शनिबार इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गर्दै अदितिले भारतीय र्यापर अलिम मोरानीसँग प्रेममा रमाइरहेको संकेत गरेकी हुन् । मोरानीसँग समुद्री किनारको सुन्दर लोकेसनमा खिचिएको उक्त तस्बिरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छिन् । तस्बिरमा अदितिले आफ्नो दाहिने हात गायक मोरानीको तिघ्रामा राखेकी छिन् भने मोरानीले आफ्नो देब्रे हातले अदितिको कम्मर समाएका छन् ।
तस्बिरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । अदितिले आफ्नो प्रेमीसँगको उक्त तस्बिर सार्वजनिक गरेलगत्तै धेरैले उनीहरूलाई बधाई दिएका छन् । तस्बिरमा प्राप्त प्रतिक्रियामा उनीहरूको जोडी सुहाएको कुरा उल्लेख गरिएको छ । र्यापर मोरानीले इन्स्टाग्राममा आफूलाई र्यापर, गीतकार तथा ड्रमरका रूपमा चिनाएका छन् । उनले अघिल्लो वर्ष पहिलो र्याप गीत लेट मि लाइभ...सार्वजनिक गरेका थिए, जसले युट्युबमा राम्रो दर्शक पाएको थियो ।