साप्ताहिक संवाददाता
सन् १७६१ मा मराठा र अफगान सेनाबीच भएको पानीपतको तेस्रो लडाइँमा आधारित चलचित्र पानीपतको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सञ्जय दत्त, अर्जुन कपुर तथा कृति सेननलाई देखाइएको छ । यो चलचित्रमा सञ्जय दत्तले अफगान सेनापति अहमद शाह अब्दाली तथा अर्जुन कपुरले मराठा सेनापति सदाशिवराव भाउको भूमिका निर्वाह गरेका छन् ।
कार्तिक आर्यन, अनन्या पाण्डे तथा भूमि पेडनेकर अभिनित चलचित्र पति, पत्नी और वहको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा कार्तिक आर्यन श्रीमान्को र भूमि पेडनेकर श्रीमतीको भूमिकामा छन् भने अनन्या पाण्डे प्रेमिकाको भूमिकामा छिन् ।
उजडा चमनसँग कथा मिलेको आरोप खेप्दै आएको चलचित्र बालाको ट्रेलर सार्वजनिक भए लगत्तै यो चलचित्रमाथि कथा चोरेको आरोप लागेको छ । बालामाथि चलचित्र निर्माता नमन गोयल र निर्देशक कमलकान्त चन्द्राले आफ्नो चलचित्र द बिगिनिङ टु गेट बेल्डको कथा चोरेको आरोप लगाएका हुन् ।
सन् १९९४ मा सार्वजनिक प्रदर्शनमा आएको अन्दाज अपना–अपनाले प्रदर्शनको २५ वर्ष पूरा गरेको अवसरमा उक्त चलचित्रकी नायिका करिश्मा कपुरले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै उक्त चलचित्रको स्मरण गराएकी छिन् ।
कुनै बेलाकी शालिन अभिनेत्री जरिना वहाब फेरि चलचित्रमा फर्कने भएकी छिन् । जरिनाले सलमान खानको अपकमिङ चलचित्र राधेमा आमाको भूमिका निर्वाह गर्ने बताइएको छ ।
भोजपुरी चलचित्रका मेगा स्टार रवि किशनकी छोरी रिवाको पहिलो हिन्दी चलचित्र सब शुभ मंगलको पोस्टर सार्वजनिक भएको छ । यो चलचित्र सन् २०२० को पहिलो शुक्रबार प्रदर्शनमा आउने बताइन्छ । चलचित्रमा रिवासँग अक्षय खन्ना तथा प्रियांक शर्माले स्क्रीन सेयर गरेका छन् ।