साप्ताहिक संवाददाता
कार्तिक २३, २०७६
पारस खड्काले क्रिकेट खेल्दा उनको जर्सिको नम्बर हुन्छ— ७७ । यसको अर्थ के होला त ? पारसको जन्म कात्तिक ७ गते भएको हो । कात्तिक वर्षको सातौं महिना हो । त्यस अर्थमा महिना र गतेको प्रतिनिधित्व गर्दै उनले दुई ७ अर्थात् ७७ लाई आफ्नो जर्सी नम्बर बनाएका हुन् । हालै मात्र उनले जन्मदिन मनाए र यो यसअघिका जन्मदिनभन्दा फरक रह्यो ।
पारसको जन्म दिनमा कीर्तिपुरमा पहिलो पटक आयोजित वुमेन्स च्याम्पियन लिग क्रिकेटको फाइनल थियो । त्यसको आयोजक क्विक्स इभेन्ट्स म्यानेजमेन्टमा खड्का स्वयं पनि आबद्ध छन् । त्यसैले उनी पूरा दिन त्रिभुवन विश्वविद्यालयको मैदानमै व्यस्त रहे । फाइनल सकिएपछि पारसले महिला क्रिकेट खेलाडीहरूसँगै बसेर आफ्नो जन्मदिन मनाए ।