साप्ताहिक संवाददाता
मासुका पारखीहरूका लागि जाडोमा च्याङ्ग्राको मासु प्रमुख रोजाइ हुनसक्छ । हिमाली भेगका जडीबुटीयुक्त चरन क्षेत्रको घाँस खाएर हुर्किएका च्याङ्ग्राको मासु स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त मानिन्छ । च्याङ्ग्राको मासुमा खसीको मासुको तुलनामा कम बोसो हुन्छ । सरकारले दसैंका अवसरमा हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएर काठमाडौंमा सर्वसाधारणलाई बिक्री गर्दै आएको छ जसका कारण मनसुनी मासुका रूपमा च्याङ्ग्राको मासुको चर्चा दसैं–तिहारताका मात्र हुन्छ । यद्यपि अहिले सडक, सञ्चारजस्ता सुविधाका कारण पारखीहरूले च्याङ्ग्राको मासु खान दसैं वा तिहार नै पर्खनु पर्दैन ।
अहिले व्यवसायीहरूले यसलाई दसैं–तिहार बाहेक अरू बेला पनि काठमाडौंमै उपलब्ध गराउँछन् । केही रेस्टुराँको मेनुमा पनि च्याङ्ग्राको सुकुटी लोकप्रिय परिकार सावित हुन पुगेको छ । काठमाडौंमा खुलेका धेरैजसो थकाली रेस्टुराँको मेनुमा च्याङ्ग्राको सुकुटी समावेश हुन्छ । पेप्सीकोला, नख्खु तथा भक्तपुरमा मासु बेच्दै आएको उदयपुरे मासु पसलका सञ्चालक रमेश कार्की आफूहरूले विशेष गरी असोज–कात्तिकको चाडपर्वको मौसममा बढी च्याङ्ग्राको मासु बेच्ने कुरा बताउँछन् । ‘त्यसबाहेक हामीले असोजदेखि माघसम्म र वैशाखमा पनि च्याङ्ग्राको मासु बिक्री गरिरहेका छौं,’ कार्की भन्छन् । कार्कीले सिंनामंगलस्थित लेकाली किचन एन्ड कटिया हाउस, पेप्सिकोला तथा लोकन्थलीस्थित मटन स्टेसन आदि रेस्टुराँमा च्याङ्ग्राको मासु सप्लाई गर्दै आएको जानकारी दिए ।
कोटेश्वरस्थित कर्णाली मासु पसलले पनि च्याङ्ग्राको मासु बेच्दै आएको छ । उक्त मासु पसलले जिउँदो र काटेको दुवै किसिमको च्याङ्ग्रा उपलब्ध गराउँछ । कर्णाली र उदयपुरे मात्र होइन, काठमाडौंका अन्य कतिपय मासु पसलले पनि च्याङ्ग्राको मासुको ब्यापार गर्दै आएका छन् । उनीहरूले जुम्ला, हुम्ला, मनाङ, मुस्ताङ, रसुवा आदि हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याउँछन् । व्यवसायीहरूका अनुसार च्याङ्ग्राको मासु सिजनमा प्रतिकिलो १८ सयसम्म पुग्छ । अहिले भने च्याङ्ग्राको मासु १४ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भैरहेको छ ।