साप्ताहिक संवाददाता
गत कात्तिक ८ गते आईएमई नेपाल लोकस्टारको पहिलो सिजन सम्पन्न भएसँगै रोल्पाका शनी विश्वकर्मा पहिलो आईएमई नेपाल लोकस्टार घोषित भए । पहिलो लोकस्टार भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँ पुरस्कार जिते । आईएमई नेपाल लोकस्टारको फाइनलमा शनीसँगै रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे पुगेका थिए । प्रतियोगिताको फस्ट रनर्सअप चेतन गोतामे भए भने विनोद दनुवार सेकेन्ड रनर्सअप घोषित भए ।
यस्तै अर्को रियालिटी शो द भ्वाइस अफ नेपाल यतिबेला हिमालयन टेलिभिजनमार्फत प्रसारण भैरहेको छ । गत हप्ता नकआउट चरण सम्पन्न गरेको यो प्रतिस्पर्धा शुक्रबारदेखि लाइभ शो सुरु भएको छ । यहाँसम्म आइपुग्दा द भ्वाइस अफ नेपालमा १२ प्रतियोगी बाँकी छन् । लाइभ शोमा यिनै १२ प्रतियोगीले प्रत्यक्ष प्रस्तुति दिनेछन्, त्यसपछि दर्शकको मतका आधारमा उनीहरूको यात्रा अघि बढ्ने द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । गत शनिबारसम्म २४ इपिसोड सम्पन्न भएको द भ्वाइसले अब ८ इपिसोड लाइभ शो प्रसारण गर्नेछ भने नवौं इपिसोड द भ्वाइस अफ नेपालको फाइनल हुने निर्देशक पौडेलले बताए । यो रियालिटी शोको फाइनल १४ डिसेम्बरमा हुने बताइएको छ । गत वर्ष द भ्वाइस अफ नेपालको फाइनल कतारमा सम्पन्न भएको थियो, तर यसपालि भने नेपालमै गर्ने तयारी भैरहेको पौडेलले जनकारी दिए ।
स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ प्रसारणको तयारीमा छ । यो रियालिटी शो डिजिटल अडिसन हुँदै फिजिकल अडिसनबाट छानिएका २४ प्रतियोगीलाई लिएर प्रसारणमा जाँदैछ । कान्तिपुर टेलिभिजनबाट सोमबार र मंगलबार राति ९ देखि १० बजेसम्म प्रसारण हुने यो रियालिटी शो कहिलेदेखि प्रसारणमा आउँछ भन्ने कुरा तय भैनसकेको च्याम्पियनका निर्देशक विशाल भण्डारीले बताए । ढिलोमा मंसिरको पहिलो हप्ता प्रसारणमा जान्छौं– उनले भने । कमेडी च्याम्यिनको डिजिटल अडिसनमा २२ सय प्रतियोगी सहभागी थिए, जसबाट जजहरूले १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाए । फिजिकल अडिसनबाट छानिएका टप २४ को छायांकन गत मंगलबार र बुधबार सम्पन्न गरिएको भण्डारीले बताए । कमेडी च्याम्पियनमा ऋचा शर्मा, सन्तोष पन्त, मनोज गजुरेल तथा प्रदीप भट्टराई निर्णायक छन् । च्याम्पियन विजेताले २५ लाख रुपैयाँ नगद तथा २५ लाख रुपैयाँ बराबरको गाडी पुरस्कार पाउने बताइएको छ ।
गायन रियालिटी शो नेपाल आइडलको तेस्रो श्रृङ्खला प्रसारणको अन्तिम तयारीमा छ । एपिवान एचडी टेलिभिजनमार्फत प्रसारणमा आउन लागेको नेपाल आइडलले विभिन्न सहरमा ओपन अडिसन सम्पन्न गरिसकेको छ । ओपन अडिसनबाट ३ सयभन्दा बढी प्रतियोगी छानिएका छन् । गत सोमबारदेखि यिनै प्रतियोगीको जज अडिसनको छायाँकन सुरु भएको छ । यो अडिसन एक हप्तासम्म चल्ने प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार जज अडिसन सकिएपछि टेलिभिजनमा प्रसारणका लागि आउने मिति तय हुनेछ । पौडेल भन्छन्, ‘सकेसम्म मंसिर ५ गते विश्व टेलिभिजन दिवसको दिन प्रसारणमा जाने योजनामा छौं ।’