साप्ताहिक संवाददाता
कार्तिक २४, २०७६
कुनै बेला चलचित्रमा स–साना भूमिकाका लागि पनि कसैले नपत्याएकी कियारा आडवाणीको दिन फर्किएजस्तो छ । विगत ५ वर्षदेखि बलिउडमा संघर्ष गरिरहेकी कियारा अभिनित चलचित्र कविर सिंहको सफलतापछि यतिबेला बलिउडका ठूला निर्माता तथा निर्देशकहरू कियारालाई आफ्नो चलचित्रमा मुख्य भूमिकामै हेर्न चाहन्छन् ।
त्यसैले पनि यतिबेला कियाराको हातमा थुप्रै चलचित्र छन् । तीमध्ये पाँचवटा चलचित्र लगालग प्रदर्शन हुने क्रममा छन् । कियारा अभिनीत गुड न्यूज आगामी डिसेम्बरमा सार्वजनिक हुँदैछ भने त्यसको केही समयपछि लक्ष्मी बाम्ब (मे), इन्दुकी जवानी (५ जून), भुलभुलैया–२ (जुलाई) तथा शेरशाह छन् । यी सबै चलचित्र ठूला ब्यानरका तथा सुपरस्टार कहलिएका अभिनेताहरूको भएकाले कियारा आफ्नो भविष्यप्रति ढुक्क भएको बताइन्छ ।