साप्ताहिक संवाददाता
कार्तिक २४, २०७६
भारतीय चलचित्रका स्थापित अभिनेता कमल हासनको फिल्मी करियरले ६० वर्ष पूरा गरेको अवसरमा गत बिहीबारदेखि उनको गृहनगर तमिलनाडुको परमाकुडीमा भव्य उत्सव सञ्चालन भयो । ३ दिनसम्म चलेको उत्सवमा तमिल चलचित्रका सुपरस्टार रजनीकान्त पनि उपस्थित थिए ।
उक्त अवसरमा कमल हासनले आफ्ना गुरु के. बालाचन्द्रनको मूर्तिको अनावरणसमेत गाएका छन् । स्मरणीय छ, सन् १९६० मा प्रदर्शित तमिल चलचित्र कलाथुर कन्नम्मामा बाल कलाकारका रूपमा अभिनय गरेका कमल हासनले उक्त भूमिकाका लागि राष्ट्रपति पदकसमेत प्राप्त गरेका थिए ।
कमल हासनले तमिल, कन्नड, तेलुगु, मलयालम, अंग्रेजी तथा हिन्दी भाषाका गरी २ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । भारतीय चलचित्र उद्योगका कुनै पनि कलाकारको अभिनय जीवनमा यस्तो कार्यक्रम आयोजित गरिएको यो नै पहिलो अवसर भएको बताइन्छ ।