साप्ताहिक संवाददाता
नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर कार्तिक २२ गते अर्थात बिहीबारदेखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) सुरु गरेका छन् । विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) को उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले गरेका हुन् । हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता हुनु पर्ने बताउँदै मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले अहिले बर्तमान अवस्थामा ६० प्रतिशत नेपाली जुत्ताले आत्मनिर्भर भएको र अर्काे वर्ष ८० प्रतिशत नेपाली जुत्ताको आत्मनिर्भर सुन्न चाहेको बताए ।
मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक एव् मेलका सभापति रामकृष्ण प्रसाइले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उनको भनाई छ ।
जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहको सिजनलाई लक्षित गरि थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने रहेको बताइएको छ । जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । ‘मेलामा २ सय ५० रुपैयाादेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध हुनेछन,’ उनले भने ।
मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउादंलाई लक्षित गरेर उत्पादन गरेका नयाा मोडलका जुत्ताचप्पल समेत उपलब्ध हुनेछन् ।