साप्ताहिक संवाददाता
पछिल्लो समयका लोकप्रिय अभिनेता हुन्, अनमोल केसी । अनमोलका चलचित्रलाई दर्शकले निकै आशा राख्छन् । उनले काम गरेका अधिकांश चलचित्र फ्लोरमा गएसँगै चर्चामा रहने गर्छन् ।
अनमोलप्रति निर्माताको केहि बढि विश्वास छ । किनभने, अनमोलले अरु कलाकारको तुलनामा निर्माताको लगानी सुरक्षित गर्ने सम्भावना बढि हुन्छ ।
छायांकनमा जाने अन्तिम तयारी भैरहेका बेला एक्कासी अनमोलले साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको चलचित्र ‘धुपौरे’बाट हात झिकेका छन् । उनले चलचित्रको स्क्रिप्टमा तयारी नपुगेको भन्दै केहि मिहेनत गरेर मात्रै छायांकनमा जान निर्माण पक्षलाई सुझाएका थिए । श्रोत भन्छ, ‘अनमोलले केहि ढिला गरेर जाऔं भन्ने तर निर्माण पक्षले तुरुन्तै छायांकनमा जाऔं भन्दा अनमोलले नमान्ने कुरा आयो । सोहि कारण अनमोल यो चलचित्रबाट बाहिरिएको हुन सक्छ ।’
केहि महिनादेखि यो चलचित्रको काममा व्यस्त अनमोलले अब यो चलचित्रबाट हात झिकेपछि अरु कुन प्रोजेक्टमा केन्द्रित हुन्छन् ? धेरैको चासोको विषय बनेको छ ।
अनमोलले काम गर्नेहो भने निर्माता माधव वाग्लेको चलचित्र ‘पारस’ पुर्ण रुपमा छायांकनमा जान तयार छ । अनमोलकै लागी लेखिएको यो चलचित्रको स्क्रिप्ट फाइनल समेत भैसकेको छ । तर, तुरुन्तै छायांकनमा जानका लागी एउटै कुराले रोकेको छ, – निर्देशक को बन्ने ?
अहिले अनमोलका बा भुवन केसीसँग निर्माता माधव वाग्लेको कुरा भैरहेको छ । खासमा माधव वाग्ले निर्देशक बन्न खोजिरहेका छन् । वाग्लेका अनुसार लामो समयदेखि चलचित्र क्षेत्रमा अनुभव रहेकाले राम्रो चलचित्र बनाउन सक्छु भन्ने उनलाई लागेको छ । तर, भुवन केसीले भने यो कुरा मान्न तयार छैनन् । भुवनले सकेसम्म निर्देशनमा अरु कोहि ल्याउन र आफुहरु पछाडीबाट सहयोग गरौं भनिरहेका छन् । तर, माधव वाग्लेले अनमोललाई हिरो बनाएर आफु निर्देशनमा चम्किन खोजिरहेका छन् । यदि यो चलचित्रमा अनमोलले काम गरेनन् भने उनी होमप्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘एन्टि हिरो’ मै केन्द्रित हुने सम्भावना छ ।
कान्तिपुरका रामजी ज्ञवालीसँग लामो गफ गर्दै भुवन केसीले भने, ‘माधवजीसँग कुरा भैरहेको छ । उहाँ ‘पारस’ लाई निर्देशन गर्न खोजिरहनुभएको छ । हेरौं, केहि दिनमा के गर्ने भन्ने विषयमा निर्णय आउन सक्छ ।’
भुवनका अनुसार अनमोलले यदि ‘पारस’मा काम गरेनन् भने ‘एन्टि हिरो’कै काममा व्यस्त हुने पक्का छ । हाल स्क्रिप्टको काम अन्तिम तयारीमा छ, भुवनले थपे, ‘अनमोल अहिले यहि चलचित्रको काममा बढि केन्द्रित छ ।’
दशैंमा सार्वजनिक गर्ने योजना रहेको यो चलचित्र दुई महिना भित्रै छायांकनमा जाने भुवन केसीको योजना छ ।
त्यसो त चलचित्र बजारमा के पनि हल्ला फैलिएको छ भने अनमोलले रोहित अधिकारी र दिनेश राउतको चलचित्रमा काम गर्ने सम्भावना छ । तर, भित्री कुरा धेरैलाई थाहा छैन । सामान्य गफगाफकै आधारलाई लिएर यो हल्ला फैलाइएको हो ।
रोहितले ‘छ माया छपक्कै’बाट सोचेजस्तो फाइदा नहुने भएपछि दीपक–दीपासँग सम्वन्ध तोड्न यस्तो हल्ला फैलाइएको हुन सक्छ, निर्देशक दिनेश राउत निकट एक पत्रकार भन्छन्, ‘राउतसँग त्यस्तो आधिकारिक कुरा भएकै छैन । सामान्य गफगाफ भएको हुन सक्छ ।’