साप्ताहिक संवाददाता
दसैं तिहारको बजारलाई लक्षित गर्दै नेपाली बजारमा १६ लाखभन्दा बढी मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्मको अवधिमा कुल १६ लाख २३ हजार ६ सय ९५ वटा मोबाइल सेट आयात भएका हुन् । विभागका अनुसार साउनसम्म कुनै मोबाइल सेट आयात भएको देखिँदैन, तर पछिल्ला दुई महिना अर्थात भदौ र असोजमा भने त्यति ठूलो संख्यामा मोबाइल सेट आयात गरिएको पाइन्छ ।
ती मोबाइल आयातका लागि ७ अर्ब १९ करोड ५ लाख ७५ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको छ । जुन अघिल्लो वर्षको तुलनमा निकै बढी हो । अघिल्लो वर्ष सोही अवधिमा ६ अर्ब २९ करोड ६२ लाख ९४ हजार रुपैयाँमा कुल १३ लाख ६२ हजार ३ सय ३१ वटा मोबाइल सेट आयात भएका थिए । यो तथ्याङ्कले नेपालमा मोबाइलको बढ्दो व्यापारलाई दर्साउँछ । आयात हुने मोबाइलमध्ये झन्डै ८० प्रतिशत बजार भने चिनियाँ मोबाइलको छ ।
चीनबाट मात्र ३ अर्ब ३३ करोड ८९ लाख मूल्य बराबरका १२ लाख ८७ हजार भन्दा बढी अर्थात कुल आयातको ७९ दशमलव १२ प्रतिशत मोबाइल दुई महिनाको अवधिमा भित्रिएका छन् । धेरैजसो कम्पनीका मोबाइल फोन चीनमै एसेम्बल भएर आउने भएकाले पनि यस्तो देखिएको व्यवसायीहरू बताउँछन् ।