साप्ताहिक संवाददाता
जनता भेडा र स्वाँठ भएकाले नेताहरू गतिछाडा भएका हुन ।
सुवास रेग्मी, संगीत व्यवसायी
संस्कार नपुगेकाले नेताहरू गतिछाडा भए ।
सुशील नेपाल, भीजे
यो समाज नै गतिछाडा हुँदै गएको छ । त्यसमाथि शक्तिमा हुनेहरूलाई जे गरे पनि आफ्नै हातमा हुने भएकाले जे पनि गर्छन् नि ।
सिर्जना सुब्बा, रंगकर्मी
सिस्टमको अभावले गति छाडेका हुन् । दुई मिनेटभित्र कारागारमा पुग्ने व्यवस्था नहुँदासम्म यस्तै हो ।
श्याम भट्टराई, निर्देशक
अनपढ तथा संस्कारविहीन नेता बढी भएर यस्तो समस्या आएको हो ।
तारामणि खतिवडा, किबी उद्यमी
नेपालमा प्रारम्भिक कालदेखि नै ठूलाले सानालाई दबाएर राख्ने अनि हैकम चलाउने चलन चल्दै आयो । त्यही कुरा सुने अनि देखेका अहिलेका पुस्ताले पनि त्यसको सिको गरे । यिनीहरूमा जे गर्दा पनि जनताले मानिहाल्छन् भन्ने भ्रम पैदा भयो । पैसा भएपछि कोही बोल्दैन, तैं चुप मै चुप हुन्छ भन्ने दम्भ अनि महत्वाकांक्षाले जथाभावी गर्न थाले । जनता पनि पैसामा बिकेका कारण यिनीहरूविरुद्ध बोल्न सकेनन् र विकृति अझ बढ्दै गयो ।
श्रीदेव भट्टराई, कलाकार
विधिको शासन नहुनु मुख्य कारण हो । थिति बिग्रिएको छ । नेताहरूमा संस्कारको कमी छ । नैतिक आचरण समाप्त हुँदै गएको छ । अनुशासनहीनता बढेको छ भने भ्रष्टाचार मौलाएको छ । सेवाका लागि भन्दा पनि पदमा पुगेर प्रतिष्ठासँगै पैसा कमाउने तीव्र लालसाले आज राजनीति तथा सामाजिक काम सेवा भन्दा पनि पेशा र व्यापारमा रूपान्तरित हुँदैछ । जसरी पनि पदमा पुग्ने र त्यसको दुरुपयोग गर्ने चलन बढ्दो छ । अपराधको ढाकछोप एवं अपराधीको संरक्षण राजनीतिको पर्याय बन्दैछ । मुख्य कुरा दण्डहीनताका कारण गतिछाडापन बढेको छ । अनैतिक कार्य र अपराध गर्दा कार्वाही होला भन्ने डर कसैमा छैन ।
एकराज गिरी, पत्रकार
राजनीति भ्रष्ट हुँदै गयो । नैतिकता र विचारको खडेरीले समस्या सिर्जना गर्यो ।
रोशनी केसी, कलाकार/निर्मात्री
राजनीतिक संस्कार, आचरण तथा इमान्दारिताको कमी देखियो । पावर र पैसाको घमन्ड तथा स्वार्थअनुकूल चलखेल गर्न सक्ने अवस्थाका कारणले यस्तो अवस्था आएको हो ।
राजन लम्साल, सञ्चारकर्मी
सानाले ठूलाको सिक्ने हो । जब भोक लाग्छ, खाली हुन्छ भुँडी, रित्तो हुन्छ भाँडा, मान्छे भोक अनि अभावमा हुन्छन् गतिछाडा ।
विल्सनविक्रम राई, अभिनेता
पार्टीहरूमा बलियो भएको गुटबन्दीका आडमा जिम्मेवारीबाट हटेर मोजमस्तीमा लाग्ने बानीले निम्तिएको समस्या हो यो । आडम्बरी तथा लालचीहरूमा कानुनभन्दा बलियो छु भन्ने अहम् मौलाएकाले पनि गतिछाडापन देखियो ।
रूपक डोटेल, गायक
दलाल तथा माफियाहरूसँगको उठबसले गर्दा ।
रमेश कँडेल, साहित्यकार
राजनीतिमा होमिएका ‘क’ देखि ‘ज्ञ’ दर्जासम्मका नेताहरू पूर्ण रूपले म–म भन्ने रोगले ग्रसित हुनु नै यो दुर्दसाको प्रमुख कारण हो । उनीहरूलाई जनताको डर हुँदै नहुनु, अन्धभक्त झोले कार्यकर्ता हुनु, मातृभूमिप्रति उत्तरदायित्वविहीन हुनु तथा नैतिक रूपले पतित हुनु नै गतिछाडा हुनुको मुख्य कारण हो ।
फुपू तेन्जिङ शेर्पा, प्रबन्ध निर्देशक, आईआईएफटी स्कुल अफ फेसन
हामी जनताका कारण नै साना तथा ठूला नेता गतिछाडा हुँदै गएका छन् । नेताहरूले जे गर्दा पनि ताली बजाउने हाम्रो प्रवृत्तिलाई नै म यसको कारण मान्छु । तालीको सट्टा गाली दिने हो भने केही सुधार हुन्थ्यो कि ?
आरसी कोइराला, संस्थापक अध्यक्ष, एभरेस्ट नेपाल कल्चर ग्रुप
अध्ययन र चिन्तनको महाखडेरी लागेर गतिछाडा भएका हुन् । कानुनको लामो हात आफ्नै भएको मानेकाले विधिको शासनलाई लोप्पा ख्वाउँदैछन् । अध्ययन एवं चिन्तनको कमीका कारण पनि यस्तो स्थिति उत्पन्न भएको हो ।
ऋषिराम अधिकारी, सिइओ, किताब यात्रा
सोझा साझा जनतालाई झुक्याउने बानी परिसकेपछि, जति पनि लाज पचाउन सक्ने भएका छन् अनि शक्ति र धनको मोहले गर्दा गतिछाडा हुँदै गएका छन् ।
सत्यराज चौलागाईं, निर्देशक
सोच, क्षमता, योग्यता एवं व्यक्तित्व नपुगी पैसा, नाता र पावरका बलमा नेता भएर दम्भ बढेकाले यस्तो स्थिति उत्पन्न भएको हो ।
श्याम श्रेष्ठ, निर्माता
आध्यात्मिक चेतनाको कमी तथा नैतिक शिक्षाको अभावका कारण नेताहरू गतिछाडा भए । आध्यात्मिक दिवालियापनका कारण नेताहरू भौतिकवादी भए । इन्द्रियहरूको मोहमायाबाट बाहिर निस्कन नसकेर नै नेताहरू गति छाडा हुन पुगे । हामीसँग अपराध तथा भ्रष्टाचार विरोधी घटना एवं विसंगतिका विरूद्ध कडा कानुन छ, तर कानुनको सुस्त कार्यान्वयनका कारण नेताहरू आफ्ना गल्तीका बाबजुद नडराई हिँडिरहेका छन् ।
रोजा बस्नेत, सञ्चारकर्मी
कानुनको शासन पूर्ण रूपमा लागू नहुनुले समस्या देखियो ।
त्रिलोक राणा, गायक
नेपालमा सबैका निम्ति एकसमान कानुन नभएकाले शक्तिशालीहरू गतिछाडा भए ।
सम्झना उप्रेती रौनियार, निर्देशक
केहीलाई छोडेर, बाँकी सबैले यो देश उहाँहरूकै आशमा परेको र नेपालको लालपुर्जामा आफ्नै फोटो छ भन्ठानेर पो हो कि ?
निर्मल शर्मा, कलाकार
राजा, महाराज तथा युवराजधिराज बन्ने दम्भले हो । पदीय दायित्वको दुरुपयोग तथा भ्रष्ट आचरणबाट आर्जित भएको पैसाको दम्भले गर्दा ।
छविरमण सिलवाल, साहित्यकार
सपनाको अन्त्य भएपछि सबैले गति छाड्ने हुन् ।
चेतन सापकोटा, गायक/संगीतकार
उनीहरूलाई आफ््नो दायित्व देश र जनताका लागि काम गर्ने हो र राम्रो काम गर्ने मान्छे मात्र हिरो हुन्छ भन्ने कुरा महसुस नभएर हो ।
सरोज प्याकुरेल, संगीतकार
हाम्रो राजनीतिमा सदाचार, आदर्श तथा नैतिक शिक्षाको अभाव छ । कानुन एवं अनुशासन बुझ्नुपर्नेहरू नै आफूलाई कानुनभन्दा माथि मान्छन् । शक्ति, पद र पैसाको उन्मादका कारण जे गर्न पनि सकिन्छ भन्ने अभिमान उनीहरूमा छ । पार्टीहरूले नेता तथा कार्यकर्तालाई कस्तो बन्ने ? के–के गर्ने ? के–के नगर्ने ? के गरे कारबाही हुन्छ ? के गरे पुरस्कृत भइन्छ जस्ता कुरामा स्कुलिङ गरेका छैनन् । जति ठूलो गल्ती गरे पनि त्यसलाई राजनीतिकरण गर्ने र शक्तिको बलमा दण्ड सजाय नगर्ने प्रवृत्तिले गर्दा एकपछि अर्को घटना घटिरहेका छन् ।
डा. रवीन्द्र समीर, लेखक/जनस्वास्थ्य विज्ञ
नेतामा राजनीतिक संस्कार देखिएन, त्यसकारण ।
राजु केसी, चलचित्रकर्मी
साना ठूला सबै नेताको मति बिगँ्रदै गएर गति छोडेका हुन् । मति सुधार गर्न साना नेता हुँदा नै गतिलो शिक्षा नीति अपनाउनुपर्छ । नत्रभने हाम्रो देशको विकास शब्दमा मात्र सीमित हुन्छ ।
योजना पुरी, गायिका