साप्ताहिक संवाददाता
साहित्यकार झमक घिमिरेद्वारा लेखिएको पुस्तक ‘जीवन काँडा कि फूल’ मा झमकको भूमिका निर्वाह गर्ने कलाकार रोजिना बुद्धाचार्य हुन् भने झमकको बुवाको भूमिका निर्वाह गर्ने कलाकार हुन्– किशन सुनार । थुप्रै चलचित्रमा अभिनेताका रूपमा काम गरिसकेका अभिनेता किशन सुनारले यो चलचित्रमा झमकको बुवाको भूमिकालाई चुनौतीपूर्ण भनेका छन् । चलचित्रको छायांकनका क्रममा आफूसहित रोजिताले समेत प्रसस्त मेहनत गरेको कुरा सम्झँदै अभिनेता सुनारले अभिनेत्री बुद्धाचार्यका सकारात्मक तथा सुधार्नुपर्ने पक्षहरूलाई यसरी उजागर गरेका छन् :
सकारात्मक पक्ष
लगनशील
थिएटर आर्टिस्टका रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी रोजिताको कामप्रतिको लगनशीलता लोभलाग्दो छ ।
सम्मानको भावना
आफूभन्दा ठूला व्यक्तिलाई कसरी सम्मान गर्नुपर्छ भन्ने कुरा बुझेकी एउटी कलाकारका रूपमा मैले उनलाई चिन्ने मौका पाएँ ।
समयको महत्व
उनले समयको महत्व निकै राम्रोसँग बुझेकी छिन् । समयमा आफूलाई दिइएको काम कसरी सम्पन्न गर्नुपर्छ भन्ने कलामा उनीसँग छ ।
अध्ययनशील
उनी निकै अध्ययनशील छिन् । मलाई उनको यो बानी असाध्यै मन पर्छ । यसबाहेक उनमा एक प्रतिशत पनि घमण्ड छैन, यो उनको अर्को राम्रो पक्ष हो ।
सुधार्नुपर्ने पक्ष
उदासीपन
छायांकनको अवधिभर मैले उनलाई प्राय: उदास नै देखें । उनी आफ्नो यो उदासीपनबाट माथि उठ्नु जरुरी छ ।
व्यस्तता
अति नै व्यस्त रहँदा कतिपय काम बिग्रन्छ भन्ने कुरा उनले विस्तारै बुझ्दै गएकी छिन् ।
चरित्रमा डुब्ने
छायांकनपछि पनि मैले उनलाई चलचित्रकै चरित्रमा डुबिरहेको पाएँ । त्यस्तो बानीले आफैंलाई एक्लो महसुस गराउँछ ।
सोझी
उनी आवश्यकताभन्दा बढी नै सोझी छिन् । चलचित्रमा करियर बनाउने हो भने आफ्नो यस्तो सुधोपनमा केही सुधार ल्याउनैपर्छ ।