अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा बग्दादीको मृत्युमा गर्व व्यक्त गरे । ती व्यक्ति को थिए जसको मृत्युमा अमेरिकाले गर्व गर्यो ? सारा विश्व नै रमायो । बग्दादी तिनै व्यक्ति हुन्, जसको जानकारी दिनेलाई अमेरिकाले २५ मिलियन डलरको पुरस्कार घोषणा गरेको थियो । आतंककारी ओसामा विन लादेनको खबर दिने जोकोहीलाई पनि अमेरिकाले यति नै रकम पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
अबु बक्र अल बग्दादी इस्लामिक स्टेट अफ इराक एन्ड सिरियाका (आईएसआईएस) सर्वोच्च नेता थिए । आईएसआईएस एउटा आतंकवादी संगठन हो । यो हजारौं निर्दोष मानिसको हत्या गर्ने एक रुढिवादी जेहादीहरूको समूह हो ।
बग्दादीको उदय
बग्दादीको उदय र पतनको कथा इराकमा अमेरिकी सेनाको हस्तक्षेपबाट सुरु हुन्छ । उनको उदय र पतन दुवैमा कहीँ न कहीँ अमेरिकाको संलग्नता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाएका छन् । सन् २००३ मा इराकमाथि हमला गर्दै प्रवेश गरेको अमेरिकी सेनाका कारण इराक द्वन्द्वमा धकेलियो । सन् २००४ मा भएको आन्दोलनका क्रममा बग्दादी अमेरिकी सेनाबाट समातिए । इराकमा भएको अमेरिकी जेलमा १० महिनाको बसाइपछि उनी छुटेका थिए । सन् २०१० मा स–साना समूहमा प्रवेश गर्दै उनी इराकी अलकायदाको प्रमुख भएका थिए ।
सन् २००६ मा अलकायदाका इराक प्रमुख अल ज्वारकीको अमेरिकी ड्रोन हमलामा निधन भएपछि इराकको अलकायदा फुटी इस्लामिक स्टेट अफ इराकको निर्माण भएको थियो । अबु ओमर अल बग्दादी उक्त समूहका नेता थिए । उनको पनि हत्या भएपछि सन् २०१० मा बग्दादीले त्यसको नेतृत्व लिए । बग्दादीले उक्त समूहलाई अघि बढाउँदै सन् २०१२ मा सिरियासम्म फैलाउने सफलता प्राप्त गरे । यता सन् २०११ सम्ममा अमेरिकी सेना इराकबाट बाहिरिसकेको थियो ।
बग्दादीले त्यतिबेलासम्म धेरै ठूला काम गरिसकेका थिए । उनले सद्दाम हुसेनका सेना तथा खुफिया एजेन्टहरूलाई आफ्नो समूहमा समाहित गर्दै संगठन विस्तार गरे । इस्लामिक स्टेट अफ इराक (आईएसआई) को स्थापनासमेत गरे ।
आईएसआईको उदयपछि बग्दादीले सिरियाको फ्रि सिरियन आर्मीसँग सहकार्य गरेर संगठनलाई अझ दह्रो बनाए । सन् २०१४ मा आएर उनले इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) को निर्माण गरे ।
शक्ति सञ्चय यात्रा
सिरियामा जारी द्वन्द्वका क्रममा फ्रि–सिरियन आर्मीले हतियार नभए आफूहरूले असद सरकारसँगको युद्ध हार्ने बताएपछि अमेरिका, इजरायल आदि मुलुकले फ्री सिरियन आर्मीलाई हातहतियार तथा तालिम प्रदान गरेका थिए तर त्यहाँ आईएसको घूसपैठ भएको थियो । फ्री सिरियन आर्मीको नाममा आएको हतियार आईएसको हातमा पुगेसँगै बग्दादी थप शक्तिशाली बन्न पुगे । सन् २०१४ सम्म आइपुग्दा बग्दादीको आईएस शक्तिशाली संगठनको भैसकेको थियो ।
अमेरिकाकै मद्दतमा जानेर वा नजानेर अलकायदा र ओसामा बिन लादेनको जसरी उदय भएको थियो, त्यसरी नै बग्दादीको पनि उदय भयो । बग्दादीले आफ्नो साम्राज्य फैल्याउँदै विभिन्न भूभागमा शासनसमेत चलाएका थिए । सन् २०१९ को मार्चमा आएर आईएसले कब्जा गरेको सबै भूभाग सिरियन आर्मीले फिर्ता लगेपछि आईएस पतनको दिशातर्फ लागेको हो ।
आईएसका प्रमुख बग्दादी एकताका विश्वविद्यालयका प्राध्यापक थिए । उनी सन् २०१४ मा पहिलो पटक एउटा भिडियोमा देखा परे । मोसुलको एक विशाल मस्जिदमा बग्दादीले आफूलाई ‘कोलिफेट’ घोषणा गरे । मध्य एसियाली मुलुकहरूले त्यसको भत्र्सना गर्दै विरोध जनाए । आईएसमा कोलिफेटबाट राज्य सञ्चालन हुनुपर्ने मान्यता छ । कोलिफेटलाई राज्य सञ्चालन गर्न ईश्वरद्वारा पठाइएका प्रतिनिधिका रूपमा आईएस दाबी गर्छ तर मुस्लिम धर्मालम्बीमा कोलिफेटलाई मान्दैनन् ।
सुन्नी मुस्लिमहरूले निर्माण गरेको अलकायदाबाटै आईएसको गठन भएको मानिन्छ । सिया नेतृत्वको इराकी सरकारले लिएको साम्प्रदायिक नीतिप्रति सुन्नी समुदायको आक्रोश बढ्ने क्रममा बग्दादीले त्यसको फाइदा उठाउँदै आफ्नो संगठनलाई ठूलो बनाएका हुन् ।
बग्दादीको जीवनकाल
अबु बक्र अल बग्दादीको जन्म २८ जुलाई सन् १९७१ मा इराकको राजधानी बग्दादको उत्तरमा पर्ने समरा सहरमा भएको थियो । उनी संयुक्त राष्ट्रसंघ तथा युरोपियन युनियनद्वारा घोषित खुंखार आतंककारी थिए । २०११ मा अमेरिकाले उनका बारेमा खबर दिनेलाई १० मिलियिन डलर इनाम दिने घोषणा गरेको थियो । २०१७ मा त्यसलाई बढाएर २५ मिलियन डलर पुर्याइएको हो ।
बग्दादीसहित उनका पिताका ४ छोरा थिए । उनी तेस्रो सन्तानका रूपमा जन्मिएका हुन् । बग्दादीका बुवाको नाममा सेख अवाद हो । उनका बुबा समुदायका सक्रिय सदस्य हुनुका साथै धार्मिक प्रवचनहरू दिन्थे । बग्दादीले धार्मिक शिक्षा लिएका थिए । त्यसैले उनी धर्मगुरु पनि भए ।
उनकी आमाको नाम सार्वजनिक भएको छैन । विभिन्न समाचार संस्थाका अनुसार बग्दादीका एक जना काका सद्दाम हुसेनको सुरक्षा फौजमा संलग्न थिए भने एक भाइ इराकी सेनाको अधिकृत तथा अर्का एक भाइ इराक–इरान युद्धका क्रममा मारिएका थिए ।
इराकी विश्वविद्यालयमा इस्लामिक कानुन र कुरान अध्ययन गरेका बग्दादीले अध्यापन समेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । सन् २०१४ मा अमेरिकी तथा इराकी जासुसहरूले गरेको एक अनुसन्धान अनुसार बग्दादीले इस्लामिक विश्वविद्यालयबाट इस्लाम धर्ममा डक्टरेट गरेका थिए ।
बाल्यकालमा निकै लजालु स्वभावका बग्दादी बग्दादमा एउटा सानो कोठा लिएर बस्थे । उनको जीवनस्तर सामान्य थियो । सधै एक्लो र शान्त देखिने बग्दादीको जीवनशैली भने सधैँ रहस्यमय तरिकाको हुने सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आईएसको प्रमुख हुँदा बग्दादीलाई ‘इनभिजिबल सेक’ बताइन्थ्यो । बग्दादीका ३ श्रीमतीमध्ये दुई इराकी तथा एक सिरियाली थिए । तीनको नाम सार्वजनिक भएको छैन । सन् २०१० मा उनी आईएसको इराक प्रमुख भएसँगै उनको आतंकवादी गतिविधिले गति लिएको हो ।
अपराध यात्रा
संयुक्त राष्ट्रसंघ तथा युरोपियन युनियनद्वारा घोषित आतंकवादी थिए– बग्दादी । उनको अपराधको फेहरिस्त लामै छ । आफूलाई स्वघोषित कोलिफेट बनाएका बग्दादीले महिलामाथि हिंसा गर्ने, विद्यालयमा पठनपाठन हुन नदिने तथा खोजी–खोजी अन्य समुदायका मानिसहरूको हत्या गर्ने काम गरे ।
उनका कयौ यौन दासी थिए । बग्दादीको संगठनले विभिन्न मुलुकका नागरिकलाई बन्दी बनाउँथ्यो । उनले एक अमेरिकी महिलालाई यौन दासी बनाएर उनको हत्या समेत गरेका थिए । हत्या, हिंसा तथा बलात्कार उनी र उनको समूहको दैनिकी थियो । लुटपाट, अपहरण, फिरौती, धम्की अनि तेल खानीमाथिको कब्जाले उनको संगठनलाई धनी बनायो । बग्दादी सन् २०११ मा इराकको उम–अल कोर मस्जिदमा भएको आत्मघाती बम हमालामा संलग्न थिए । उक्त आक्रमणमा एक सुन्नी विधायिकाको समेत मृत्यु भएको थियो ।
सन् २०११ को मार्च र अप्रिलमा मात्र उनको फौजले २३ वटा स्थानमा आक्रमण गर्यो । बग्दादमा भएको एउटा आतंककारी हमलामा सयौंको ज्यान गयो । मे ५ मा बग्दादको दक्षिण क्षेत्रमा पर्ने हिला भन्ने ठाउँमा भएको आक्रमणको मुख्य योजनाकार बग्दादी नै थिए । त्यहाँ २४ जना प्रहरीको मृत्यु भएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए । अगस्ट १५ मा उनले मोसुलमा आक्रमण गरे । उक्त आत्मघाती बम विस्फोटमा ७० जनाको मृत्यु भयो । डिसेम्बरमा उनको निर्देशनमा बग्दादको एउटा छिमेकी सहरमा एक कार विस्फोट भयो जसमा ६३ जना मारिए ।
बग्दादीको आईएसले फ्रान्सको राजधानी पेरिसमा सन् २०१५ मा आत्मघाती आक्रमण गर्दा १ सय ३० जना निर्दोष नागरिकको ज्यान गएको थियो । यस्तै, २०१६ को ट्रक आक्रमणमा परी ८६ जना मारिएका थिए भने जुन २०१६मा भएको एयरपोर्ट आक्रमणमा ४५ जना मारिए । बग्दादी ती सबै घटनामा कुनै न कुनै रुपमा संलग्न थिए ।
सिरिया र इराकमा कब्जा जमाउन थालेपछि बग्दादीलाई सिंगो विश्वले आतंकाकारीका रूपमा चिनिसकेको थियो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आईएसलाई जी–२० मुलुकहरूले सहयोग गरेको आरोपसम्म लगाए । उनको संगठनलाई मध्य एसियाका केही मानिसले सहयोग गर्ने गरेको बताइएको छ । आईएसले कब्जा गरेका सहरहरूमा तेलका ठूल्ठूला कुवा अर्थात् खानी थिए । त्यही तेल कालोबजारीमा प्रयोग गरेर दैनिक लाखौं डलर कमाउँथे बग्दादी ।
उनी मासिक तलब दिएर लडाकूहरू भर्ती गर्थे । एक जना लडाकुलाई मासिक ५ सय देखि ८ सय डलरसम्म दिने गरिएको पश्चिमा सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले बग्दादी तथा उनको संगठन विरुद्ध करोडौं डलर खर्च गरेको छ ।
आईएसको सम्बन्धमा चल्र्स लिस्टर तथा प्याट्रिक ककबर्नद्वारा लिखित पुस्तकका अनुसार सन् २०१५ मा आईएसआईसँग ३० हजार सैनिक थिए जसमा १५ हजार विदेशी थिए । विदेशी भन्नाले इराक र सिरिया बाहेकका । उक्त समूहसँग करिब दुई अर्ब डलर बराबरको सम्पत्ति थियो भने वार्षिक आम्दानी २ सय मिलियन देखि ३ सय मिलियन डलर हुने गरेको बताइएको छ । आईएसले इराकदेखि सिरियासम्मको करिब ८८ हजार वर्गकिलोमिटर क्षेत्रमा कब्जा जमाएको थियो ।
आईएस र बग्दादी
बग्दादी ४ जुलाई २०१४ मा पहिलो पटक सार्वजनिक भएका थिए । बग्दादीले मुस्लिम समुदायलाई इस्लामिक स्टेटमा आउन आह्वान गर्दै इराक र सिरिया विरुद्धको लडाइँमा सहभागी हुन अनुरोध गरेको भ्वाइस रेकर्ड सार्वजनिक भएको थियो ।
सन् २०१५ सम्म आईएसले सिरिया तथा इराकमा बेलायत जत्रो भू–भाग कब्जा गरेको थियो । सन् २०१५ को ८ फेब्रुअरीमा जोर्डनले उनले कब्जा गरेका स्थानहरूमा ५६ वटा एयर स्ट्राइक गर्यो जहाँ ७ हजार आईएस लडाकु मारिएको दाबी गरियो । यता बग्दादी राकाबाट भागेर मोसुल पुगे ।
सन् २०१९ को मार्चसम्म आइपुग्दा आईएस पूरै कमजोर भयो । उसले नियन्त्रणमा लिएको अन्तिम भू–भाग पनि सिरियन आर्मीले मुक्त गरेपछि आईएसको पतन सुरु भयो । बग्दादीले गत महिना टेपमार्फत आफ्नो परिवारका सदस्य तथा लडाकुहरूलाई मुक्त गर्न आग्रह समेत गरेका थिए ।
बग्दादी अमेरिकी सेनाको विशेष फौजले सिरियाको इड्लिबमा गरेको कारबाहीका क्रममा अक्टोबर २७ मा मारिए । बग्दादी लुकेर बसेको स्थानमा अमेरिकी सेना जमिनमा उत्रनुअघि उनी ज्यान जोगाउन सुरुङभित्र पसेका थिए । त्यहीँ उनले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेको बताइन्छ ।
बग्दादीको डीएनए टेस्टपछि अमेरिकी सेनाले उनको शव पहिचान गरेको थियो । उनको डीएनए सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो । बग्दादीको शव समुद्रमा व्यवस्थापन गरियो । बग्दादी मारिएको ५ दिनपछि आईएसले त्यसको पुष्टि गर्दै संगठनको नयाँ नेतामा अबु इब्राहिम अल
हाशेमी अल कुरैशीलाई चयन गरेको बताएको छ ।
-एजेन्सीको सहयोगमा