साप्ताहिक संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएयता ज्ञानेन्द्र मल्ललाई बधाईको ओइरो लागिरहेको छ । मिडियालाई अन्तर्वार्ता दिंदा–दिंदा पनि थाकिसकेका होलान् उनी । यसक्रममा ज्ञानेन्द्रसम्बन्धी केही पुराना तथ्य पनि बाहिर आएका छन् ।
त्यसमध्ये एउटा यस्तो घटना अगाडि आएको छ, जुन पूरा हुन नसक्दा नेपाली क्रिकेटलाई फाइदा नै पुगेको छ । सन् २०१२ को भन्दा अघि ज्ञानेन्द्र नाम चलेका खेलाडी त भैसकेका थिए, तर आम्दानी भने थिएन । निरन्तर क्रिकेट पनि भैरहेको थिएन । यस्तोमा उनीमाथि परिवारबाटै चर्को दबाब परेको थियो, विदेश जान ।
ज्ञानेन्द्रले अष्ट्रेलिया जान भिसा अप्लाई समेत गरेका थिए । डिपेन्डेन्ट भएर उता लाग्ने सोच थियो उनको । यद्यपि उनी रिजेक्ट भए । त्यो घटना उनका लागि अप्रत्याशित थियो । त्यति बेला भिसा पाएको भए, अहिले उनी नेपालमा हुने थिएनन् । अनि हुने थिएनन्, नेपाली टिमका कप्तान पनि, उनको भाग्यमा अष्ट्रेलिया जान लेखिएको थिएन । त्यसैले ज्ञानेन्द्र भन्न थालेका छन्— त्यति बेला जे भयो, राम्रै भयो ।