साप्ताहिक संवाददाता
अभिनेता भुवन केसी लामो समयपछि अभिनयमार्फत दर्शकमाझ फर्कंदै छन् । पछिल्ला केही वर्ष चलचित्रको निर्माणमा व्यस्त भएर केही राम्रा चलचित्र दिइसकेका अभिनेता केसी यतिबेला आफ्नै दोहोरो भूमिका भएको चलचित्र ‘मिस्टर नेपाली’ को प्रदर्शनको पर्खाइमा छन् ।
आफ्नो ब्यानरभन्दा बाहिरका चलचित्रमा अभिनय गर्न खासै नरुचाउने भुवनले निर्माता–निर्देशकसँगको पुरानो सम्बन्धका कारण उक्त चलचित्रमा अभिनय गरेको यसअघि नै बताइसकेका छन् । यो चलचित्रमा उनले खलनायकदेखि नायकसम्मको भूमिका निर्वाह गरेका छन् । चलचित्रको हालै सार्वजनिक ट्रेलरमा भुवनलाई दुई भिन्न रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा उनले बुवा र छोराको भूमिकाका अभिनय गरेको अनुमान लगाउन सकिन्छ ।
चलचित्र मिस्टर नेपालीमा छोरा भुवनलाई अभिनेत्री रीमा विश्वकर्माले जोडीका रूपमा साथ दिएकी छिन् भने यसमा बुवा भुवनको भूमिका सशक्त रहेको बताइन्छ । ‘लामो समयपछि अभिनयमा फर्किएकाले केही नौलो पनि लागिरहेको छ, अभिनेता केसीको भनाइ छ— ‘यद्यपि, मैले राम्रो दिने प्रयास गरेको छु । मिस्टर नेपालीलाई सफल बनाउने जिम्मा दर्शकहरूकै हातमा छ ।’