साप्ताहिक संवाददाता
दक्षिण भारतीय चलचित्रकी स्थापित अभिनेत्री काजल अग्रवालले यतिबेला विवाहको योजना बनाइरहेकी छिन् । यसबीच आफूभन्दा दोब्बरभन्दा बढी उमेरका अभिनेता कमल हसनसँग चलचित्र इन्डियन–२ को छायांकनमा व्यस्त अग्रवालले आफ्ना भावी श्रीमान्मा के–कस्ता खुबी हुनुपर्छ भन्ने कुरा सार्वजनिक गरेकी छिन् ।
काजलका अनुसार उनको श्रीमान्मा आध्यात्मिक स्वभाव, केयरिङ गर्न सक्ने क्षमता तथा उनका बारेमा आवश्यकताभन्दा बढी चासो राख्न सक्ने गुण हुनुपर्ने कुरा बताएकी छिन् । यो कुरासँगै कागजले आफ्नो श्रीमान् चलचित्र उद्योगसँग असम्बन्धित हुनुपर्ने शर्त समेत राखेकी छिन् ।
स्मरणीय छ, हिन्दी चलचित्रमा अपेक्षाकृत सफलता प्राप्त नगरेपछि काजल दक्षिण भारतीय चलचित्रतर्फ लागेकी थिइन् । त्यहाँ उनले नाम र दाम दुवै कमाइन् । अहिले उनी इन्डियन–२ मार्फत् फेरि हिन्दी चलचित्रमा देखा पर्न लागेकी हुन् । इन्डियन–२ सन् १९९६ मा प्रदर्शित सफल चलचित्र इन्डियनकै सिक्वेल हो ।