साप्ताहिक संवाददाता
जङ्कोट, रोल्पाका शनि विश्वकर्मा केही हप्ताअघि नेपाल लोकस्टार शीर्षकको लोकगायन रियालिटी शोको विजेता घोषित भए । सुमधुर स्वरका धनी शनि भर्खरै १७ वर्ष पुगेका छन् । विश्वकर्मासँग लोकस्टारसम्मको यात्रा, संघर्ष र पहिलो लोकस्टार बन्दाको अनुभवजस्ता विषयमा केन्द्रित रहेर साप्ताहिकर्मी महेश तिमल्सिनाले गरेको कुराकानी :
पहिलो लोकस्टार भएपछि कस्तो अनुभव गरिरहनुभएको छ ?
खुसी लागिरहेको छ । पहिलो पटक यति ठूलो रियालिटी शोको विजेता बन्दाको खुसी व्यक्त गर्न मसँग कुनै शब्द छैनन् ।
लोकस्टारसम्म कसरी पुग्नुभयो ?
म कक्षा १२ को परीक्षा सकेर बसेको थिएँ । यही क्रममा मलाई अंकल दुर्लभ केसीले दाङबाट फोन गरेर बाबु लोकस्टार खुलेको छ, तिमीले त्यसमा भाग लिन गए राम्रो हुन्छ भन्नुभयो । मैले पनि लोकस्टारमा सहभागिता जनाउने निधो गरें । त्यसपछि सबै तयारी पूरा गरी काठमाडौं आएर अडिसन दिएँ ।
लोकस्टारको मञ्चको सुरुको दिनलाई कसरी स्मरण गर्नुहुन्छ ?
सुरुमा गेटभित्र छिर्दा निकै डर लागेको थियो । अडिसन दिन आएका धेरै प्रतिस्पर्धी विभिन्न पोसाकमा सजिएर आएका थिए, तर म भने क्याजुअल नै गएको थिएँ । त्यहाँ एउटा ग्रुपमा पाँच जना प्रतियोगी थिए । यही क्रममा मेरो पालो आयो । पहिलो पटक मञ्चमा उभिँदा एकदमै डर लागेको थियो । त्यसपछि मैले स्केल मागेर ‘तिरिरी मुरली बज्यो वनैमा...’ गाएँ । त्यो गीत गाउने क्रममा छनौट हुन्छु कि हुन्न भन्ने खुलदुली मनमा थियो । गीत गाइसकेपछि स्क्रिनमा रिजल्ट आउने बेलासम्म कुर्दा निकै आत्तिएको थिएँ । रिजल्ट आयो, त्यो पनि २० वटा तारा अर्थात् गोल्डेन स्टारका रूपमा । गोल्डेन स्टार प्राप्त गरेपछि म सीधै टप २० मा पुगेँ । त्यसपछि मेरो खुसीको सीमा रहेन, यतिसम्म कि मञ्चमा मैले आफैंलाई बिर्सिएछु ।
गोल्डेन स्टार भैसकेपछि विजेता हुन्छु भन्ने सोच्नुभएको थियो ?
थिइनँ, टप २० मा छनौट हुँदा अब माथिल्लो चरणमा कसरी उक्लिने भनेर सोच्थें तर विजेता नै हुन्छु भन्ने लागेको थिएन ।
माथिल्लो चरणमा जाने तयारी कसरी गर्नुभयो ?
गोल्डेन स्टार भैसकेपछि ममाथि थप चुनौती थपिएको थियो । अब त केही गर्नुपर्छ भनेर सक्ने जति मेहनत गरें । गुरुसँग सिकें, साथीहरूसँग पनि गु्रपमा सिक्थें । यसरी नै तयारी गर्थें ।
काठमाडौं बसाइमा तपाईंको रुममेट को थियो ?
सुरुमा पविन्द्र सुनार हुनुहुन्थ्यो । दुई–तीन हप्तापछि परिवर्तन भएर रविराज शाह थपिनुभयो । त्यसपछि प्रतिस्पर्धीहरू फेरिँदै जाँदा कोठा पनि फेरिँदै गयो । त्यसपछि चेतन गोतामे र प्रभुराज पाण्डेसँग बस्न थालें । टप ५ पछि भने एक्लै बसें ।
लोकस्टारमा विजेता भएर ५० लाख रुपैयाँ जित्नुभएको छ, केमा उपयोग गर्नुहुन्छ ?
यो मेरो व्यक्तिगत पुरस्कार अथवा जित नभएर मेरा सबै समर्थकको जित हो । उहाँहरूले दिएको माया पनि यसैमा भएकाले म यो पैसा सांगीतिक करियरमै लगानी गर्छु ।
लोकस्टार बनेर गाउँ पुग्दा गाउँको वातावरण कस्तो थियो ?
मैले अपेक्षा गरेभन्दा फरक थियो । पहिले गरिने व्यवहार र अहिलेको व्यवहारमा निकै फरक पाएँ । गाउँका बूढाबूढी, अधबैंसे, केटाकेटी सबै जना भेला भएर बधाई दिनुभयो । पहिले एउटा गाउँठाउँको मात्र शनि थियो, तर अहिले देशको शनि भएको छ भन्दै सबैले आफ्नो छोरा, नाति, दाजुभाइजस्तो मानेर माया अनि आशीर्वाद दिनुभयो ।
लोकस्टारबाट तपाईंले सिकेको कुरा के हो ?
धेरै कुरा सिकें । त्यहाँ मैले नजानेको कुरा सिक्ने अवसर पाएँ । पहिले मलाई निर्धक्क भएर बोल्न गाह्रो हुन्थ्यो, तर लोकस्टारमा गएपछि मेरो बोल्ने शैलीमा परिपक्वता आएको छ, साथै स्टेजमा कसरी प्रस्तुत हुने भन्ने कुरा पनि सिकें । पहिले गाउँका मेलापर्वमा गीत गाउँदा निकै डर लाग्थ्यो, तर लोकस्टारले मेरो त्यो डर भगाइदियो ।
तपाईंको परिवारमा को–को हुनुहुन्छ ?
बुबा–ममी, दाइ, दिदी र म ।
कक्षा १२ उत्तीर्ण हुनुभयो, अब स्नातक तह कहाँ पढ्ने ?
स्नातक तह त काठमाडौंमै पढ्छु, तर कुन कलेज पढ्छु भन्ने कुरा यकिन गरिसकेको छैन ।
तपाईंलाई कुन विधाको संगीत मन पर्छ ?
सबै मन पर्छ, विशेष गरी लोकगीत नै बढी मन पर्छ ।