साप्ताहिक संवाददाता
तीन वर्ष पुरानो एउटा तस्बिर सेयर गरेको विषयमा हलिउड नायिका तथा गायिका केटी पेरीविरुद्ध सेलिब्रिटी न्यूज एजेन्सी ब्याक ग्रिडले क्यालिफोर्नियाको एक जिल्ला अदालतमा १ लाख ५० हजार डलर माग दावी गर्दै कपिराइट कानुनको उल्लंघन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
सन् २०१६ को एक हलोविन पार्टीमा केटी पेरीले तत्कालीन अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको जस्तो मेकअप तथा गेटअपमा तस्बिर खिचाएकी थिइन् । उक्त तस्बिरलाई केटी पेरीले आफ्नो इन्स्टाग्राममा 'Bill and 4EVA' क्याप्सनसहित अपलोड गरेकी थिइन् ।
केटी पेरीको उक्त कामले अमेरिकी संघीय कानुनअन्तर्गतको कपिराइट कानुन उल्लंघन भएको दाबी गर्दै अहिले आएर ब्याक ग्रिडले मुद्दा दायर गरेको हो । उक्त तस्बिर केटी पेरीको इन्स्टाग्राममा अझै पनि छ । इन्स्टाग्राममा केटी पेरीका ८ करोड ६२ लाखभन्दा बढी फलोअर छन् ।