पृथ्वीको भूगोलमा अनावश्यक अप्राकृतिक चिज–वस्तुहरूको उपस्थिति नै दृश्य प्रदूषण हो जसले कुनै ठाउँको सौन्दर्यलाई अनपेक्षित रूपमा ह्रास पुर्याइरहेको हुन्छ । यस्तो प्रदूषणले दृष्टि क्षेत्रमा नकारात्मक परिवर्तन त ल्याउँछ नै, यसले स्रोत र साधनको अनावश्यक प्रयोग भएको कुरा पनि दर्साउँछ ।
केही दिनअघि एउटा ट्रेनिङ दिन काठमाडौं जानुपर्ने थियो । समय अभावका कारण काठमाडौंसम्मको १ घण्टाको यात्रा अवधिमै तयारी गर्ने विचारले म बसमा चढेँ । सुरुवात कसरी गर्ने, मुख्य विषय कसरी प्रस्तुत गर्ने अनि निचोड कसरी दिने भनेर खाका बनाउँदै थिएँ, जनागाल पुगेपछि सडकछेउमा एउटा ठूलो होर्डिङ बोर्डमा एउटा नयाँ गाडीको विज्ञापन देखँे । भ्याउन्जेलसम्म मुन्टै बटारेर त्यो गाडीको फिचर्ससमेत हेर्न भ्याएँ । जगातिको ग्यास स्टेसन नपुग्दासम्म म त्यही गाडीको विषयलाई लिएर नाना कुरा सोचिरहेको रहेछु, पछि मात्र झल्याँस्स भएँ । त्यसपछि म पुन: आफ्नो विषयवस्तुतिर लागँे । जडिबुटीसम्म आइपुग्दा पुन: चालै नपाई मेरो दिमाग कुनै एउटा सिमेन्टको विज्ञापनमा अड्किएको थियो । आफ्नो विषयवस्तु कुन्नि कता कतिबेला हरायो, पत्तै भएन । हिजोआज यताउता हिँड्दा धेरैलाई यस्तो हुन्छ र यो दृश्य प्रदूषणको मनोवैज्ञानिक असर हो ।
मानव सभ्यताको विकाससँगै प्रदूषणका नयाँ–नयाँ आयाम थपिँदै छन् । तिनैमध्येको एक दृश्य प्रदूषण एउटा बिल्कुलै नयाँ खालको विषय हो, धेरैलाई थाहा पनि नहुन सक्छ, यस्तो प्रदूषण पनि हुन्छ भन्ने कुरा । काठमाडौंमा वैशाख महिनादेखि ध्वनि प्रदूषण नियन्त्रण गर्न भनेर सवारी साधन चालकहरूले हर्न बजाउन नपाउने नियम लागू भएपछि मुख्य सडकका दायाँ–बायाँ खम्बाहरूमा अनि ठाउँ–ठाँउमा गेट नै बनाएर सूचना प्रवाह गरिएको पाइन्छ । यो अवसरलाई व्यापारीहरूले आफ्नो ब्रान्डको विज्ञापन गराउने सुनौलो अवसरका रूपमा लिएछन् । ध्वनि प्रदूषण नियन्त्रण गर्ने सन्देश जनतासम्म पुर्याउने बहानामा तुल, पर्चा वा फ्लेक्स बनाएर बाटो वा सहरको जताततै टाँस्दा त्यसका साथमा दृश्य प्रदूषण पनि भैरहेछ भन्ने कुरा जान्नु जरुरी छ । अझैसम्म पनि हामीकहाँ दृश्य प्रदूषणका बारेमा कुनै निकायको ध्यान गएको छैन । पृथ्वीको भूगोलमा अनावश्यक अप्राकृतिक चिज–वस्तुहरूको उपस्थिति नै दृश्य प्रदूषण हो जसले कुनै ठाउँको सौन्दर्यलाई अनपेक्षित रूपमा ह्रास पुर्याइरहेको हुन्छ । यस्तो प्रदूषणले दृष्टि क्षेत्रमा नकारात्मक परिवर्तन त ल्याउँछ नै, यसले स्रोत र साधनको अनावश्यक प्रयोग भएको कुरा पनि दर्साउँछ ।
सहरदेखि राजमार्ग, बजार तथा गल्लीहरू पनि विभिन्न बिल्बोर्ड, फ्लेक्स अनि फ्लायर्सहरूले भरिपूर्ण देखिन्छन् । पछाडिको भ्यु छोपिने गरी, थोरै देखिने आकाश ओगट्ने गरी राखिएका त्यस्ता दृश्यात्मक बिचलनले त्यो ठाउँमा आवतजावत गर्ने मानिसहरूको ध्यान विकेन्द्रित त हुन्छ, साथसाथै त्यो ठाउँको ओरिजिनालिटीसमेत नष्ट हुन्छ र सौन्दर्यमा खलल पुगिरहेको हुन्छ । यात्राका क्रममा त्यस्ता विज्ञापनजन्य बोर्डहरू (जुन प्राय: ध्यान तान्ने किसिमकै हुन्छन्) प्रति चालकहरूको ध्यान आकर्षित भयो भने ठूलो दुर्घटनासमेत निम्तिन सक्छ । मानव क्रियाकलापले ठाउँको एउटा अवस्थालाई परिवर्तन गरी अर्को कुरुप अवस्थामा पुर्याउँछ र कुनै दृश्य हेरेर आनन्द लिने मानिसले क्षमतामा ह्रास आउँछ । सुन्दर प्राकृतिक छटाले हामीलाई सकारात्मक ऊर्जा दिइरहेको हुन्छ भने दृश्य प्रदूषणले त्यसको उल्टो काम गर्छ । हेर्दा केही लाग्दैन, तर त्यसले दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । थोरै समयमा धेरै बोर्ड, गन्जागोलको सूचना र रङ्ग तथा चित्रहरू हेरेर आँखासमेत थाकिरहेको हुन्छ भने दिमाग पनि नजानिँदो किसिमले तनावग्रस्त हुन्छ । पर्यटकीय क्षेत्रहरूमा देखा पर्ने अव्यवस्थित दृश्यले पर्यटन व्यवसायमै आघात पार्न सक्ने त छँदैछ । यसले कुनै क्षेत्रको मौलिकता एवं विशेषता नै नष्ट गरिरहेको हुन्छ ।
दृश्य प्रदूषणका उदाहरण खम्बामा टाँसिएका ब्रोसरदेखि पार्टीले गर्ने भित्तेलेखनसम्म हुन् । सहरमा बिजुलीका खम्बा वरिपरि छरपस्टिएका विभिन्न तारदेखि सहरी सौन्दर्यमा आँच पुर्याउने गरी थुपारिएका फोहोरका डङ्गुर पनि हुन् । मोबाइल तथा इन्टरनेट प्रविधिको विकाससँगै विज्ञापनलाई डिजिटाइज गर्ने प्रचलन बढ्दै गए पनि नेपालजस्तो विकासोन्मुख मुलुकमा दृश्य प्रदूषणको समस्या तत्काल हट्नेवाला छैन । पहिलो कुरो, यसमा कानुनी अवधारणा विकास हुन समय लाग्छ, दोस्रो उपभोक्ता समुदाय पनि यो विषयमा सचेत छैन, साथै लगानीकर्ताहरूसमेत यसमा लगानी गर्न उत्सुक हुने कारणले विज्ञापनको समयावधि बढी र लागत कम, सबैको प्रविधिसँग पहुँच नहुनु, सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा डिस्प्ले हुने विज्ञापनले अझै पूर्ण विश्वसनीयता प्राप्त गरिनसक्नु नै हो ।
त्यस्ता बिल बोर्डहरू राख्नै हुँदैन भन्ने होइन, त्यसको साइज, दूरी र क्षेत्र हेरेर प्रावधान तयार गरिनुपर्छ । अमेरिका, नर्वे, साउथ कोरियाजस्ता थुप्रै देशमा दृश्य प्रदूषण कम गर्ने कानुन छन् । ट्राफिक संकेत, लोकेसन म्याप, दिशा निर्देश गर्ने चिन्हहरूलगायत अन्य आधारभूत सूचकबाहेक कमर्सियल प्रायोजनका बोर्डलाई वातावरणीय वर्णपटलाई कम असर पर्ने किसिमले विकास गर्दै लानुका साथै वातावरणीय दृश्यलाई प्रभाव पार्न सक्ने विज्ञापनलाई कानुनी दायरामा ल्याउनुपर्छ । आकार र क्षेत्र हेरेर वैज्ञानिकता दिँदै लाभान्वित पक्षले सरकारी करसमेत तिरे–नतिरेको अनुगमन गरिनुपर्छ ।
सडक छेउमा घर बनाउनेहरूका लागि पनि सामान्य आचारसंहिता आवश्यक छ, जस्तै पूरै सिसा वा टल्किने धातु प्रयोग गर्दा सवारी चालकहरूको आँखा टल्किएर अन्योल सिर्जना हुन सक्छ । दृश्य प्रदूषण न्यूनीकरण गर्न एक पक्ष मात्र लागिपरेर सम्भव छैन । सरकारी निकायहरूको सहयोग पनि चाहिन्छ र गैरसरकारी संस्थाहरूले पनि चासोपूर्वक यस विषयमा अभियान चलाउनुपर्छ । संचारमाध्यमहरूले पनि दृश्य प्रदूषणका सम्बन्धमा जनचेतना जगाउनुपर्छ ।