साप्ताहिक संवाददाता
यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिष्टर नेपाली’का लेखक तथा निर्देशक देव भुषाल यो समयमा चलचित्रको प्रमोसनसँगै हल व्यवस्थापनमा व्यस्त छन् । नवलपरासीस्थित प्रगतिनगर घर भई हाल अमेरिकाको हस्टिन टेक्सासमा बसोबासरत भुषाल चलचित्र प्रमोसन र प्रदर्शनका लागि केही समयदेखि नेपालमा छन् ।
देव प्रवासमा लामो समय बसेर नेपाली संस्कृति र भाषा बिर्सदै गएको पुस्तालाई झकझक्याउन चलचित्र बनाएको दाबी गर्छन् । ‘चलचित्रमा भाषा, संस्कृतिमार्फत राष्ट्रियताको कथा उठान गरेको छु । मलाई लाग्छ, स्वदेशमा भन्दा विदेशमा बस्ने नेपाली समुदायले राष्ट्रियताको भावलाई नजिकबाट बुझेका छन्’, हालैको भेटमा देवले साप्ताहिकसँग भने, ‘देशको झन्डै बोकेर हिड्नुमात्र राष्ट्रियता होइन, देशको भाषा, संस्कृति, सम्पदाको बारेमा जानकार हुनु पनि राष्ट्रियता हो । मैले यो चलचित्रमा यही कुरालाई प्राथमिकता दिएको छु । मैले चलचित्रमा जो जहाँ बसे पनि आफ्नो गाउँठाउँलाई बिर्सनु हुन्न भन्ने कथा उठान गरेको छु ।’
चलचित्र बनाउनकै लागि देव दुई वर्षदेखि नेपाल आउजाउ गरिरहन्थे । ‘म नेपाल आइरहँदा यहाँका कलाकार, निर्माता, निर्देशकसँग टच भइरहन्थें । उहाँहरुसँग पनि चलचित्रका बारेमा बहस भइरहन्थ्यो’, देव खुले, ‘चलचित्रले भाषा संस्कृतिको जगेर्ना गर्न आव्हान गरे पनि यो व्यावसायिक चलचित्र पनि हो ।’
उनले राष्ट्रियताको कथा उठान गरे पनि चलचित्रमा राजनीति नघुसाएको दाबी गरे । ‘राष्ट्रियताको कथा भए पनि चलचित्रमा राजनीति छैन् । यो विशुद्ध कथा हो’, देव भन्छन्,‘चलचित्रले स्वदेशमा बस्नेलाई पनि राष्ट्रियताको पाठ सिकाउनेछ ।’
चलचित्रमा अभिनेता भुवन केसी पहिलो पटक खलपात्रमा देखिँदैछन् । उनको चलचित्रमा दोहोरो भूमिका छ । ‘मैले स्क्रिप्ट लेखेपछि अभिनयका लागि भुवन दाईकोमा प्रस्ताव लगें । उहाँले स्क्रिप्ट पढेपछि म खेल्न तयार छु भन्नुभयो । किनकी आफ्नो चरित्रले पनि भुवन दाईलाई तानेको थियो’, उनले भने ।
प्रेमराजा दाहालको निर्माण रहेको चलचित्रमा भुवन केसी, रिमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल, विष्णु सापकोटालगायतका कलाकारको अभिनय छ । यो चलचित्रको केही दिन अघि अमेरिकामा पनि प्रदर्शन गरिएको थियो ।