१ मंसिर मंसिर संक्रान्ति
४ मंसिर विश्वबालअधिकार दिवस ।
मेष
नगद तथा उधारो कारोबार गर्दा सावधानी अपनाउनुपर्नेछ । मित्रवर्गले वचनअनुरुप समयमै आर्थिक सहयोग नगर्दा संकट बेहोर्नुपर्ला । परिस्थिति पहिचान गरी पुरुषार्थ देखाउन सके प्रतिष्ठा प्राप्त हुनेछ । अनुकूल तथा प्रतिकूल अवस्थामा अरुको मुख ताक्दा पछि परिएला । परोपकार तथा पूण्य आर्जनमा संलग्न भइनेछ ।
वृष
मन पराउने साथीको भावना कदर गर्नु उचित्त हुन्छ । भैतिक साधनको उपयोगबाट अरूको मन लोभ्याउन सकिनेछ । पुराना कामबाट प्राप्त प्रतिफलले अन्य योजना बनाउन सहयोग पुर्याउनेछ । सामूहिक लगानीमा नयाँ कार्य प्रारम्भ गर्न मत मिल्नेछ । सुनौलो रंगको अनुसरण गर्दा अपेक्षाभन्दा छिटो सफलता प्राप्त होला ।
मिथुन
तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिएला । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्न सकिनेछ । उथलपुथल पूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाइनेछ । मन मिल्ने साथिको सुझावको मात्र विश्वास गर्नाले पछि परिएला । प्रेमको नाटक गरी झुक्याउनेहरूसँग सचेत रहनुपर्नेछ । पिपलको पूजाले अघि बढ्न मद्दत गर्नेछ ।
कर्कट
सामाजिक जिम्मेवारी पूरा गर्दा आफ्नो पहिचान वृद्धि हुनेछ । व्यापार–व्यवसायबाट अपेक्षाभन्दा बढी लाभ होला । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । वैदेशिक यात्राको योग छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सहकर्मीहरूसँग वैचारिक मतभिन्नता उत्पन्न हुनसक्छ ।
सिंह
विशिष्ट व्यक्तिहरूको सल्लाहमा गरिएका कार्य सफल हुनेछन् । अचल सम्पत्तिको खरिद बिक्रीमा नोक्सान हुनेछैन । भेटघाटले मनोबल उच्च बनाउनेछ । मनोरञ्जन गर्दा खर्चको भार आफैंले बेहोर्नुपर्ला । शारिरिक श्रम गर्दा स्वास्थ्य अनुकूल रह्नेछ । साहित्यिक क्षेत्रमा सहभागी हुने अवसर जुट्नेछ । सप्ताहान्तमा अध्ययनमा अवरोध देखा पर्ने सम्भावना छ ।
कन्या
राजनैतिक विवादको सामना गर्नुपर्ला । शौक्षिक क्षेत्रको लगानी तथा मेहनत खेर जानेछैन । महत्वपूर्ण सभा–सम्मेलनमा सहभागी हुने अवसर जुट्न सक्छ । व्यवसाय परिर्वतन गर्ने विषयमा पारिवारिक मत मिल्नेछ । चन्द्रमाको आराधना गर्दा थप सफलता प्राप्त गर्न सकिन्छ । साताको अन्त्यतिर अनुसन्धानात्मक कार्यबाट जस पाइनेछ ।
तुला
पुरुषार्थ गरी धन आर्जन गर्न सकिनेछ । सुमधुर पारिवारिक वातावरणले नयाँ कार्य थालनी गर्न ऊर्जा प्रदान गर्नेछ । मान–प्रतिष्ठा वृद्धि हुनेछ भने आकर्षक सवारी साधन खरिद हुने सम्भावना पनि छ । कार्य बोझ वृद्धि भै मानसिक चाप पर्ने हुदाँ भ्रमण तथा योग अभ्यासमा जोड दिनुहोला ।
वृश्चिक
नौला चुनौतीहरूको सामनामै साता व्यतीत हुनेछ । दीर्घकालीन आम्दानी हुने व्यवसायमा लगानी गरिनेछ । विपरीत लिंगीले विदेश जाने प्रस्ताव राख्न सक्ने सम्भावना छ । प्रतिष्ठत व्यक्तिको आग्रह स्वीकार गर्दा आफूलाई फाइदै होला । साताको अन्त्यमा खनापानमा विशेष ध्यानदिनुपर्नेछ ।
धनु
चासो नभएका विषयमा सरोकार राख्दा दु:ख पाइनेछ ।सोमबारदेखि कतिपय बाधा स्वत: हट्नेछन् । हितैषीहरूको सहयोग जुट्नाले रचनात्मक काममार्फत धेरैलाई आकर्षित गर्न सकिनेछ । मन मिल्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । बलजफतिले काम बिग्रनेछ भने गल्ती सच्याउने प्रतिबद्धताले गुमेको प्रतिष्ठा फर्काउनेछ ।
मकर
आफ्ना तथा मान्यजनको सहयोगबाट मांगलिककार्यको तिथि छिनोफानो हुने सम्भावना छ । मित्रजनको सहयोगबाट व्यापार–व्यवसायमा सफलता हात पर्नेछ । प्रेमी–प्रेमिकाबीचको सम्बन्ध समधुर रहला । रोजगारीका नौला अवसर हात लाग्ने छन् । साथीभाइसँग मनोरञ्जनमा सरिक भइनेछ । मैसमी फेरबदलबाट देखा पर्ने शारीरिक समस्याप्रति सचेत हुनुपर्नेछ ।
कुम्भ
सामाजिक कार्यमा सहभागी भै जस आफनो पोल्टामा पार्न सकिनेछ । प्रेमिकाको मार्गदर्शनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वैचारीक मतान्तर रहे पनि मान्यजनको सुझाव आत्मसात् गर्नु नै उचित हुन्छ । कला–साहित्यको क्षेत्रबाट बढी लाभ लिन सकिनेछ । सेतो रंग तथा तरल पदार्थको व्यवसायमा लाभ होला ।
मीन
राजनैतिक तथा विवादित विषयको नेतृत्व गर्न अग्रसर भइनेछ । कुरा काट्नेहरू तथा असहयोगीहरू स्वत: निर्मुल भै काममा राम्रो प्रतिफल हात पर्ने सम्भावना छ । मनभित्र उब्जिएको चञ्चलतामा संयम अपनाउनुपर्नेछ । भोजभतेर तथा मनोरञ्जनमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।