साप्ताहिक संवाददाता
ग्लोबल नेपाली फिल्म एवार्डको चौथो संस्करण २०१९ को तयारी अन्तिम चरणतिर पुगेको छ । यो वर्ष चौथो ग्लोबल नेपाली फिल्म एवार्ड–२०१९, सान फ्रान्सिस्कोको बे एरियामा नोभेम्बेरको ३० देखि डिसेम्बर १ तारिकसम्म चल्ने बताइएको छ ।
विगत तीन संस्करण कोलोराडोको डेन्भर सहरमा प्रस्तुत उक्त एवार्डले नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रवद्र्धन, पुरस्कार एवं प्रोत्साहनका साथै नेपाली सिनेमाको बजार प्रवद्र्धन, सिनेमा टुरिज्मका विषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन, चलचित्र पर्यटन तथा भिजिट नेपाल–२०२० को प्रमोसन गर्ने उद्देश्य बोकेको छ । ग्लोबल नेपाली फिल्म एवार्डले विगत देखि नै ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ । नेपाली चलचित्र उद्योगलाई विश्व बजार सम्म फैलाउने उद्देश्यका साथ आयोजना गरिँदै आएको यो कार्यक्रमको यो चौथो संस्करण अझ बृहत हुने र यसमा संसारभर बसोबास गर्ने नेपालीहरूको सहभागिता रहने बताइएको छ ।
एवार्डको मुख्य शो नोभेम्बर ३० का दिन बर्क्लीको यू सी थिएटरमा हुनेछ । त्यस्तै कार्यक्रमको भोलिपल्ट बिहानै भिजिट नेपाल–२०२० लाई प्रमोसन गर्ने उद्देश्यले सम्पूर्ण कलाकारहरूको सहभागितामा बर्कली सिटीको मुख्य सडकनै बन्द गरी ‘नेपाल डे परेड’ मनाइनेछ भने सोही दिन साँझ कलाकारहरू सहितको फेयरवेल इभेन्ट क्रुजमा हुनेछ ।
चलचित्र पर्यटनलाई विश्वसामु परिचित गराउँदै अनि नेपाललाई चलचित्र सुटिङ स्पटका रुपमा विकसित गर्दै विश्व बजारमा नेपालको प्राकृतिक सौन्दर्य उजागर गर्नु, अधिकतम रुपमा पर्यटक नेपाल भित्र्याउनु तथा संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मीहरूबीच पुनर्मिलनको अवसर जुटाउनु यो एवार्डको लक्ष्य भएको नायक नवराज श्रेष्ठ बताउँछन् ।