साप्ताहिक संवाददाता
सामान्यत: के देखिन्छ भने यौन सम्पर्कपछि महिलाहरू आफ्नो यौन साथीसँग चल्ने जिस्कने कुरामा रुचि राख्छन् र त्यसका लागि पहल पनि गर्छन् । उनीहरू आफ्नो यौन साथीसँग रमाइला तथा मीठा कुराकानी गर्न चाहन्छन् । त्यसको ठीक विपरीत अधिकांश पुरुष तत्कालै कोल्टे फर्केर निदाउने प्रयास गर्छन् । त्यस्तो अवस्थामा अधिकांश महिला के सोच्छन् भने लोग्ने मानिसहरू स्वार्थी हुन्छन् । यद्यपि पुरुषहरूको यस्तो व्यवहारका पछाडि केही बायोलोजिकल कारण भएको एक अध्ययनले देखाएको छ ।
यौनसम्पर्कपछि अधिकांश पुरुषले सुत्ने कुरालाई प्राथमिकता दिनु मिथकीय धारणाबाट धेरै टाढा छ । एक अध्ययनअनुसार यौन सम्पर्कपछि अधिकांश पुरुषले निकै थाकेको अनुभव गर्छन् र उनीहरू निदाउन थाल्छन् । यसको कारण के हो भने यौन सम्पर्कका बेला पुरुषको शरीरबाट धेरै किसिमका हार्मोन्स तथा रसायन प्रवाहित हुन्छन् जसले उनीहरूलाई निदाउन प्रेरित गर्छन् । यौन सम्पर्कका बेला चरम उत्कर्षमा पुग्दा अधिकांश पुरुषलाई चरम आनन्दको अनुभव हुन्छ र त्यतिबेला उनीहरूको शरीरबाट प्रोलेक्टिन नामक रसायन प्रवाहित हुन थाल्छ जसका कारण उनीहरूलाई निद्राले च्याप्छ । यस्तो अवस्थाबाट जोगिन पुरुषहरूले डोपामाइन नामक औषधी प्रयोग गर्नुपर्ने हुन्छ । डोपामाइन एक किसिमको मुड बुस्टर जस्तै हो, जसले प्रोलेक्टिनको प्रभावलाई कम गर्छ ।
चरम उत्कर्षका बेला देखापर्ने तनाव तथा श्रमका कारण शरीरमा उर्जा उत्पादन गर्ने रसायन ग्लाइकोजनमा कमी आउन थाल्छ । यो कारणले पनि यौन सम्पर्क पछि पुरुषहरू निदाउन थाल्छन् । पुरुषको शरीरमा भएको मांसपेशीको घनत्व महिलाहरूको तुलनामा बढी हुने हुँदा यौन सम्पर्कपछि उनीहरू चाँडै थाक्ने विशेषज्ञहरू बताउँछन् ।