हिमाल चुम्न ‘याक अट्याक’

- आश गुरुङ

कार्तिक २९, २०७६

चक्रीय अन्नपूर्ण पदमार्गमा सोमबारदेखि अन्तर्राष्ट्रिय स्तरको साइकल दौड ‘याक अट्याक–२०१९’ प्रारम्भ भएको छ । प्रतियोगिताको १३ औं संस्करणको पहिलो दिन सहभागीहरूले बेसीसहरदेखि घलेगाउँ जाने बाटो पुमागाउँ, बाग्लुङपानी, नजरेबाट चण्डिस्थान मकैडाँडा हुँदै बेसीसहरसम्मको ३० किलोमिटरमा साइकल कुदाए । दोस्रो दिन प्रतियोगीहरू हिमाली जिल्ला मनाङतर्फ लागे । यसरी उनीहरूले ७ दिन साइकल कुदाउनेछन् । चौथो दिन मनाङको मनाङ गाउँ (३, ५४० मि.) मा एक दिन ‘रेस्ट’ गर्नेछन् । उनीहरूको ९ दिने यात्राअन्तर्गत अन्तिम दिन म्याग्दीको तातोपानीदेखि पोखरासम्म साइकलको ग्रुपराइड तथा सवारीको यात्रा हुनेछ ।

प्रतियोगितामा नेपालसहित बेलायत, फ्रान्स, इटाली, जर्मनी, अमेरिका आदि १२ देशका २५ जना अन्तर्राष्ट्रिय साइकल रेसलर सहभागी छन् जसमध्ये ५ जना नेपाली छन् भने २ जना विदेशी महिला छन् । यसपटक एसियाली खेलकुदको बन्द प्रशिक्षणका कारण नेपाली महिलाहरू भने प्रतियोगितामा सहभागी छैनन् । 

यो प्रतियोगिताका क्रममा दोस्रो दिन चामे, तेस्रो दिन मनाङ, चौथो दिन मनाङ गाउँमा विश्राम हुने एक अट्याक कार्यक्रमका प्रबन्धक नेपालस्थित माउन्टेन बाइक कम्पनी (एमटीबी) का निर्देशक अजय पण्डित क्षेत्रीले बताएका छन् । क्षेत्रीका अनुसार पाँचौं दिन थोराङ फेदी, छैटौं दिन पदमार्गमा विश्वकै अग्लो भञ्ज्याङ मानिएको थोराङला (५ हजार ४ सय १६ मिटर) पास गरेर कागवेनी, सातौं दिन कागवेनी वरपर, आठौं दिन कालोपानी पुगेर प्रतियोगिता सम्पन्न हुनेछ । उनीहरूको बास भने म्याग्दीको तातोपानीमा हुनेछ । प्रतियोगिता अवधिभर साइकल रेसलरले २ सय २० किलोमिटर पार गर्नेछन् । 

यसअघि काठमाडौंको शिवपुरीमा सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने उक्त साइकल रेस १० औं संस्करणयता लमजुङबाट प्रारम्भ हुन थालेको हो । बीबीसी, सीएनएन जस्ता अन्तर्राष्ट्रिय मिडियाले समेत प्रसारण गर्ने यो प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने दाबी गरिन्छ ।

प्रकाशित :कार्तिक २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×