साप्ताहिक संवाददाता
यो साताको फ्रेस रिलिज अन्तर्गत चलचित्र ‘मिस्टर नेपाली’ हल छिरेको छ । विदेशमा बस्ने नेपालीहरुमा नेपालको माया कति छ ? भन्ने विषयमा केन्द्रित रहेको यो चलचित्रमा भुवन केसी र साहिल श्रेष्ठको प्रमुख भूमिका देख्न सकिन्छ ।
साहिलले त यो चलचित्रबाट रजतपटमा डेब्यु गरेका हुन् । चलचित्रको कथाबस्तु साहिलले निभाएको पात्र वरिपरी घुम्छ । अभिनेता भुवन केसीलाई नकारात्मक भूमिकामा प्रस्तुत गरिएको छ । मोटामोटी चलचित्र ठिकै हो, तर दर्शक नआएपछि ‘घामड शेरे’ जस्ता चलचित्र त डुबे, मिस्टर नेपालीको त कुरै नगरौं ।
किनभने, घामड शेरे निर्माण टिम दमदार थियो । कलाकारहरु उस्तै लोकप्रिय थिए । चलचित्रको बजेट २ करोड भन्दा बढि थियो । प्रचार प्रसार राम्रो थियो । तर, ‘मिस्टर नेपाली’को प्रचार प्रसार खासै गरिएको थिएन । चलचित्र प्रदर्शनका बेलासम्म कलाकारहरु समेत प्रचार प्रसारमा हिडेनन् । अलिकति नजिकका युट्युवर र पत्रकारहरुसँग खाजा खाने र गफगाफ गर्नेबाहेक अरु केहि गर्न सकेन मिस्टर नेपाली टिमले । सोहि कारण चलचित्र प्रदर्शन हुँदैछ भन्ने समेत दर्शकले पत्तो पाएनन् ।
देव भुषालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिस्टर नेपाली’लाई प्रेमराज दाहालले लगानी गरेका हुन् । चलचित्रमा सरोज खनाल, नन्दु श्रीवास्तव, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, राजेन्द्र गिरीलगायतका कलाकारको पनि अभिनय छ ।
यो चलचित्रले काठमाडौँमा खासै हल पाएको छैन । निर्मातालाई सबैभन्दा धेरै पैसा दिने क्युएफएक्सले त खासै शो उपलव्ध गराएको छैन । क्युएफएक्स भक्तपुर र क्युएफएक्स र क्युएफएक्स सिभिल मलले आज तिन स्क्रिन उपलव्ध गराएको छ । भोली पनि तिन शोज दिएको छ । पर्सिदेखि चलचित्रलाई स्क्रिन दिएको छैन । चलचित्र प्रदर्शन भएका हलहरुमा दर्शकको संख्या निकै पातलो छ । अन्य हलको हालत पनि त्यस्तै–त्यस्तै हो । काठमाडौँभन्दा बाहिरका हलहरु पनि सुनसान रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
आजको रिजल्ट अनुसार भोलीनै यो चलचित्र हलबाट उत्रिए अचम्म नमाने हुन्छ ।