साप्ताहिक संवाददाता
बृहत् नेपाली शब्दकोश अनुसार ‘घामड’को अर्थ घमण्डी, अभिमानी, असजिलो तथा अबुझ हो । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घामड शेरे’ पनि यस्तै चरित्र भएको एक युवाको संघर्षमा केन्द्रित छ । हेमराज बिसीद्वारा निर्देशित यो चलचित्रमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले यस्तै ‘घामड’ चरित्र निर्वाह गरेका छन् । आफ्नो वास्तविक चरित्रसँग कहीँकतै मेल खाने बताउने निश्चलले उक्त चरित्रलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
चलचित्रको कथा शेरबहादुर अर्थात् निश्चल बस्नेत विदेशको बसाईंपछि गाउँ फर्किरहेको दृश्यबाट सुरु हुन्छ । विदेशमा कमाएको पैसा बोकेर गाउँ फर्किएको शेरबहादुर अब फेरि विदेश नगई गाउँमै तरकारी खेती गरेर बस्न चाहन्छ । ऊ स्वदेशमै श्रम गरेर घरमा भएका बाबुआमा, श्रीमती तथा छोरालाई खुसी दिन चाहन्छ । देशको संविधान, कानुन मान्ने शेरबहादुर लप्पनछप्पन गर्न जान्दैन । अरू पनि नठगिउन र आफू पनि नठगिऔं भन्ने मानसिकताको शेरबहादुर हरेक मामिलामा इमान्दारिता देखाउँछ । विदेशमा कमाएको पैसाले स्थानीय नेताको सहयोगमा उसले तीन लाख छुटमा खोला छेउको जग्गा किन्छ, जुन जग्गा केही वर्षअघि त्यही नेताले किनेको हुन्छ । एक रात वर्षासँगै आएको बाढीले खोला छेउको उक्त जग्गा बगाएर बगरमा परिणत गरिदिन्छ ।
लाखौं खर्च गरेर किनेको जग्गा बगरमा परिणत भएपछि शेरबहादुरको दु:ख सुरु हुन्छ । उक्त जग्गा नेताले बाहिरबाट माटो ल्याई भरेको थाहा पाएपछि शेरबहादुर निकै रिसाउँछ । उसले नेताबाट क्षतिपूर्ति पाउँ भन्दै स्थानीय प्रहरी चौकीमा निवेदन दिए पनि नेताले कानुनी प्रक्रियाअनुसार जग्गा किनबेच भएको प्रमाण पेस गरेपछि क्षतिपूर्ति दिनु नपर्ने हुन्छ । यही तनावमा रहेको शेरबहादुरलाई प्रहरीले खोलाविरुद्ध स्थानीय न्यायिक समितिमा मुद्दा हाल्न सल्लाह दिएपछि उसले खोलाविरुद्ध मुद्दा हाल्छ । यो समयावधिमा शेरबहादुरकी श्रीमती पार्वती (सुष्मा निरौला) शेरबहादुरले आफ्नो बैंक खातामा राखिदिएको ८ लाख रुपैयाँ लिएर अर्कै पुरुषसँग भाग्छिन् । एक्लो छोराको हेरचाह अनि मुद्दाको तनावका बेला शेरबहादुरलाई साली गौरी(स्वस्तिमा खड्का)ले साथ दिन्छिन् ।
न्यायिक समितिको बडापत्रमा खोलाविरुद्ध मुद्दा हाल्ने कुरा उल्लेख नभए पनि न्यायिक समितिले बाध्य भएर मुद्दा स्वीकार्छ । मुद्दाको प्रक्रिया चलिरहँदा न्यायिक समितिले नेताले नभई खोलाले नै शेरबहादुरलाई क्षतिपूर्ति दिनुपर्ने निर्णय गर्छ । खोलाले क्षतिपूर्ति दिने निर्णय भएपछि शेरबहादुर अझ अप्ठ्यारोमा पर्छ । यो चलचित्रको अन्त्य–अन्त्यतिर कथामा त्यस्तो ट्वीस्ट आउँछ, जुन ट्वीस्टले गर्दा खोलाले शेरबहादुरलाई आजीवन पुग्ने क्षतिपूर्ति दिइरहन्छ ।
यो चलचित्रको सकारात्मक पक्ष भनेको यसको कथा हो । चलचित्रको छायांकनस्थल सुर्खेतमा कुनै समय खोलाविरुद्ध मुद्दा हालिएको कुरा सुनिए पनि नेपालका अन्य स्थानमा कहीँकतै नसुनिएको यो विषयलाई निर्देशक बिसीले राम्रो तरिकाले कथामा समेटेका छन् । चलचित्रको गति केही सुस्त भए पनि दर्शकले कलाकारको काम तथा हास्य दृश्यबाट मनोरन्जन प्राप्त गर्न सक्छन् । प्रमुख पात्र शेरबहादुर अर्थात् निश्चलले आफ्नो भूमिकाप्रति न्याय गरेका छन् । निश्चलको अभिनय जीवन्त छ । निश्चलकी साली गौरी अर्थात स्वस्तिमाले चलचित्रको कथा अघि बढाउन सहयोग गरेकी छिन् । नेताको चरित्रमा देखिएका लोकेन्द्र लेखकको काम औसत छ ।
चरित्रको प्रस्तुतीकरण तथा कथाअनुसार चलचित्रको गति अलिक बढाउन सकेको भए अझ राम्रो हुन्थ्यो । अर्को कमजोर पक्ष भनेको चलचित्रमा भावनात्मक दृश्य एवं संवादको कमी हुनु हो । चलचित्रमा भावनात्मक संवाद तथा दृश्यले अझ बढी स्थान पाएको भए त्यसले दर्शकलाई बाँध्न सक्थ्यो । चलचित्रका लेखक तथा पटकथाकार बिसी यो कुरामा अलमलिएका छन् ।