साप्ताहिक संवाददाता
सन् १९९९, आठौं दक्षिण एसियाली खेलकुदको अवसर । त्यति बेला नेपालले आफ्नै भूमिमा भएको प्रतियोगिताको फाइदा उठाउँदै ३२ वटा स्वर्ण जितेको थियो, सबै गरेर ६६ पदक । त्यो सागको इतिहासमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन हो । त्यसभन्दा अघि पनि नेपालले सन् १९८४ मा पहिलो संस्करणको साग आयोजित गरेको थियो र त्यतिबेला नेपालको हातमा परेको थियो, ४ वटा स्वर्ण, कुल २४ पदक । यी त इतिहासका कुरा भए ।
आठौं सागयता पनि नेपाली खेलकुदले केही पुस्ता आएको र गएको देखिसकेको छ । अब वर्तमान, अबको केही दिनमै नेपालमा १३ औं सागको आयोजना हुँदैछ । नेपालमा साग खेलकुद हुन लागेको यो तेस्रो अवसर हो । मंसिर १५ देखि २४ गतेसम्म चल्ने यो प्रतियोगितामा नेपालले कति पदक जित्नेछ त ? यी जित्ने पदकमा स्वर्ण कति हुनेछन् ? यी यस्ता प्रश्न हुन्, जसको सीधा–सीधा उत्तर खेलाडीको प्रदर्शनमै भर पर्नेछ तर अनुमान गर्न सकिन्छ, नेपालले यसपटक आठौं सागको तुलनामा बढी पदक जित्नेछ ।
यसपटकको सागमा २८ खेल हुनेछन् । प्रतियोगिता सुरु हुँदासम्म त्यसमा थपघट हुन सक्छ । नेपालको यसपटकको प्रदर्शन धेरै हदसम्म दुई खेलमा निर्भर हुनेछ र ती हुन्— कराँते र तेक्वान्दो । आठौं साग हुँदा नेपालले धेरै पदक जित्न सक्नुको सबैभन्दा ठूलो कारण यिनै दुई खेल थिए । यसपटकको समीकरण पनि यही छ । नेपालले यसपटक यी दुई खेलमा जति बढी पदक जित्नेछ, नेपालको प्रदर्शन अझ राम्रो हुने निश्चित छ ।
सम्भवत: नेपालले कराँतेमा क्लिन स्विपजस्तै गर्न सक्छ, किनभने यसमा दक्षिण एसियामै बलियो मानिएको भारतको सहभागिता छैन । भारतको अनुपस्थितिमा नेपालले यसमा बढीभन्दा बढी पदक जित्न सक्छ । तेक्वान्दोबाट पनि नेपालले लगभग उस्तै प्रदर्शन गर्ने अपेक्षा राख्न सकिन्छ । त्यसपछि नेपालले बढी पदक भित्र्याउन सक्न खेल मार्सल आर्ट्सकै अर्को विधा उसु हो । आठौं सागमा उसु समावेश थिएन् । त्यसैले उसुबाट प्राप्त हुने पदक बोनसजस्तै सावित हुन सक्नेछ ।
जुडो र बक्सिङजस्ता खेलबाट पनि नेपालले कुनै न कुनै स्वर्ण जित्न सक्ने सम्भावना छ । जुडोमा पनि नेपालले लगातार राम्रो गरिरहेको छ । नेपालमा सर्वाधिक लोकप्रिय खेल फुटबल हो भने त्यसबाट पनि नेपालले पदक हात पार्ने सम्भावना उत्तिकै छ । नेपाल पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन हो भने महिला फुटबलको लगातारको उप विजेता । नेपालले फुटबलमा पनि राम्रो होस भन्ने अपेक्षा राख्नेछ । महिला फुटबलमा नेपालको फाइनल यात्रा निश्चित जस्तै छ ।
यस्तोमा नेपालले सबै खालका अपेक्षा पूरा गर्दै स्वर्ण जित्न सक्यो भने त्यो अद्वितीय हुने निश्चित छ । धेरैभन्दा धेरै पदक हुने दुई खेल हुन्— एथलेटिक्स र पौडी । यी दुई खेलमा नेपालको प्रदर्शन मध्यम स्तरकै हुनेछ । पौडीमा नेपालले अहिलेसम्म एक मात्र स्वर्ण जितेको छ र त्यो संयोगले प्राप्त पदक हो । यसपटक भने गौरिका सिंहले स्वर्ण पदकका लागि प्रयास गर्नेछिन् र उनी त्यसमा सफल भइन् भने त्यो ऐतिहासिक प्रदर्शन हुनेछ ।
भारोत्तोलनमा पनि धेरै पदक जित्ने सम्भावना हुन्छ । यो खेलमा नेपालको प्रदर्शन मध्यमस्तरको हुनेछ । टेबल टेनिसमा पनि स्वर्णको सम्भावना नकार्न सकिँदैन । नेपालको प्रदर्शन धेरै हदसम्म प्याराग्लाइडिङमा पनि भर पर्नेछ, तर यो खेल हुने–नहुने निश्चित छैन । अहिलेसम्म सबैले प्याराग्लाइडिङ यो सागमा हुनेछैन भनेर आशा मारिसकेका छन्, तर भाग्यले साथ दिएर यो खेल भयो भने तय छ, यो विधामा नेपालले क्लिन स्विप गर्नेछ ।