साप्ताहिक संवाददाता
ब्राजिलियन फुटबल टिमका महान् खेलाडी तथा इजरायलको भेट्रान–११ बीच हालै सम्पन्न मैत्रीपूर्ण खेलमा रेफ्रीले देखाएको अस्वाभाविक प्रतिक्रियाले सर्वत्र चर्चा पाएको छ । इजरायलमा भएको उक्त खेलमा ब्राजिलियन टिमबाट रोनाल्डिन्हो, बोबेटो, काका, काफू, रोबर्टो कार्लोस, रिभाल्डो जस्ता महान खेलाडीहरू सहभागी थिए । उक्त खेलमा ब्राजिल लिजेन्डले इजरायल भेट्रान–११ लाई २ का विरुद्ध ४ गोलले पराजित गर्यो ।
इजरायलमा खेल खेल्न सुरक्षित छ भन्ने कुरा देखाउन आयोजित उक्त प्रतिस्पर्धा २८ हजार दर्शकले रंगशालामा बसेर हेरेका थिए । प्रतियोगिताको समयमा काकाले बलसहित विपक्षी खेलाडीलाई लडाएपछि उनलाई रेफ्री लियाच सुलिनले पहेंलो कार्ड देखाएर मैदान बाहिर पठाइन् ।
काका मैदानबाहिर जाने बेलामा पहेंलो कार्ड देखाउने रेफ्रीले खल्तीबाट मोबाइल फोन झिकेर उनीसँग एउटा सेल्फी पनि खिचिन् । प्रतियोगितालाई केही समय रोकेर खिचिएको मैदान भित्रको यो सेल्फीले अहिले अन्तर्राष्ट्रिय फुटबलमा राम्रै चर्चा पाइरहेको छ ।