साप्ताहिक संवाददाता
मस्तिष्कघात साधारण भाषामा बुझ्दा मस्तिष्कमा हुने आघात हो । यस्तो आघात नै पक्षाघातको कारण हुन्छ । समयमै उपचार गराउन नसके यही कारणले मानिस अपांग हुन पुग्छ । मस्तिष्कघात एउटा आपतकालीन अवस्था हो । यसलाई सुरुमै चिनेर उपचार गराए प्रभावित मानिसले सामान्य जीवन जिउन सक्छ । यसको उपचार संभव छ । मस्तिष्कघातको लक्षण देखा परेको चारघन्टा भित्र उपचार सुरु गर्न सके मानिसलाई पक्षघातबाट जोगाउन सकिन्छ ।
लक्षण
मस्तिष्कघात हुनुअघि मस्तिष्कमा प्रवाह हुने रगतमा अवरोध सिर्जना हुन्छ । यस्तो हुँदा अक्सिजनको अभावमा मस्तिष्कका कोषिकाहरू मर्न थाल्छन् । चिकित्सकका अनुसार ह्दयाघातमा जस्तो मस्तिष्कघातमा कुनै पूर्व संकेत देखिँदैन । यसले मस्तिष्कको जुन भागलाई प्रभावित गरिरहेको हुन्छ सोहीअनुसार लक्षण देखापर्छ । मस्तिष्कघात कुनै पनि शारीरिक प्रक्रियाले अचानक काम गर्न बन्द गर्ने प्रक्रियासँग जोडिएको हुन्छ । शारीरिक सन्तुलन, आँखा, अनुहार, हात, बोल्ने तरिका आदिमा कुनै अप्ठ्यारो महसुस भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
मस्तिष्कघातको जोखिमबाट कसरी बच्ने ?
नेपालमा मस्तिष्कघातका बिरामी यति नै छन् भन्ने खासै तथ्यांक छैन । यद्यपि न्युरोलोजिकल स्ट्रोक भएर अस्पताल आउने बिरामीहरूको संख्या दोस्रो स्थानमा रहेको केही अध्ययनले देखाएका छन् । मस्तिष्कघात धेरैजसो अवस्थामा ४५ वर्षभन्दा माथिको उमेरसमूहमा देखा पर्छ तर नेपालमा भने मस्तिष्कघात ४५ वर्षभन्दा कम उमेरका मानिसमा समेत देखा परेको तथ्यांक छ । सामान्य अवस्थामा ५५ वर्षको उमेरपछि ६ जनामध्ये १ पुरुष तथा ५ जनामध्ये १ महिलामा मस्तिष्कघात हुने खतरा धेरै गुणा बढी हुन्छ । हालसालै गरिएको एक अनुसन्धान अनुसार संसारभर प्रत्येक १ मिनेटमा ३ जना अर्थात् २० सेकन्डमा १ जना मस्तिष्कघातको सिकार हुने गरेका छन् । यसरी मस्तिष्कघातको सिकार हुनेहरूमध्ये दक्षिण एसियाका ९० प्रतिशत बिरामी समयमै अस्पताल पुग्न सक्दैनन् ।
मस्तिष्कघातसँग चिनी र नुनको सम्बन्ध
मधुमेह, उच्च कोलस्टेरोल, उच्च रक्तचाप तथा मोटोपनबाट ग्रसित मानिसहरू नै धेरैजसो मस्तिष्कघातको सिकार हुन्छ । प्रशोधित तेल, चिनी, नुन तथा तारेका खानेकुरा धेरै खानेहरूलाई मस्तिष्कघातको खतरा बढी हुन्छ ।
के गर्ने ?
अचानक अनुहार बांगियो, हात सिधा भएन, बोली लरखरायो भने मस्तिष्कघात भयो भनेर बुझ्नुपर्छ ।
यस्तो स्थितिमा हेलचेक्र्याइँ नगरी समयमै अस्पताल पुग्नुपर्छ ।
मस्तिष्कघातबाट जोगिन
जीवनशैली परिवर्तन गर्नुपर्छ । चिल्लो तथा मसालेदार खाना बढी खानु हुँदैन । धूम्रपान गर्नु हुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । उच्च रक्तचाप तथा मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । नियन्त्रित जीवनशैलीका कारण अहिले विकसित देशमा मस्तिष्कघातका बिरामीको संख्या घटिरहेको छ भने विकासोन्मुख देशमा बढ्दो क्रममा छ ।