मानव संसाधन व्यवस्थापन भन्नाले संस्थाको कर्मचारी व्यवस्थापन भन्ने बुझिन्छ । संगठनका लागि मानव संसाधनलाई एउटा महत्वपूर्ण साधन मानिन्छ । मानव साधनबिनाको संगठनको परिकल्पना गर्न सकिँदैन । त्यसैले मानव संसाधनको सही व्यवस्थापन गर्न सकेको खण्डमा मात्र संगठनले लिएको लक्ष्य प्राप्त
गर्न सक्छ ।
विगतमा मानव संसाधन विभाग भन्नाले कर्मचारीको हाजिरी गर्ने, बिदा र तलब वितरण गर्ने कार्य मात्र हो भन्ने बुझिन्थ्यो । आजको समयसम्म आइपुग्दा मानव संसाधनसम्बन्धी बुझाइमा निकै परिवर्तन आइसकेको छ । नेपालमा पनि मानव संसाधनलाई महत्व दिन थालिएको छ । अहिले हरेक संस्थाले उच्च तहका अधिकारीहरूको नेतृत्वमा मानव संसाधनको छुट्दै विभाग स्थापित गर्न थालेका छन् ।
मानव संसाधनले साधन परिचालन गर्ने, योजना बनाउनेदेखि लिएर निर्णय गर्ने कार्यसमेत गर्छ । हरेक संस्थामा भएको मानव संशाधन विभागले व्यवस्थापनका लागि विभिन्न काम गर्नुपर्ने हुन्छ ।
व्यवस्थापनका लागि कर्मचारी भर्ना छनौट, तालिम वृद्धि विकास, सेवा सुबिधा, कामप्रतिको प्रेरणा, अभिवृद्धि आदि काम गर्नुपर्ने हुन्छ । संगठनमा कर्मचारीहरू हरेक प्रकृतिका हुन्छन् । यसले गर्दा एउटा व्यक्तिको स्वभाव अर्कोसँग नमिल्न सक्छ । त्यसकारण पनि कर्मचारीको मनोवृत्ति, उनिहरूको मनोभावना बुझेर उनीहरूलाई नियुक्ति गर्नुपर्ने हुन्छ । कामको सन्दर्भमा भने कर्मचारीहरूको राम्रो कामको पहिचान गरी उचित सेवा सुविधा कर्मचारी अभिवृद्धिजस्ता कार्यहरू गरी प्रोत्साहन गर्न सक्नुपर्छ ।
संस्थामा कर्मचारी छनौटको सन्दर्भमा भने उम्मेदवारको क्षमता,योग्यता, शिक्षा अनुभवजस्ता कुराको ख्याल गरी उपयुक्त भए आवश्यकताअनुसार तालिम एवं सेवा–सुविधा दिई कर्मचारी भर्ना गर्न सकिन्छ । संस्थाभित्र माथिल्लो तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूबीचको समन्वय पनि त्यत्तिकै जरुरी हुन्छ । यसले गर्दा मानव संसाधन एकजुट भै लक्ष्य प्राप्ति सहज हुन्छ ।