साप्ताहिक संवाददाता
कुनै बेला ब्राड पिटसँग हलिउडकै सबैभन्दा लोभलाग्दो जोडी बनाएकी एन्जेलिना जोलीले हालै एक फ्रेन्च म्यागजिन म्याडमलाई दिएको अन्तर्वार्तामा ब्राडसँगको आफ्नो सम्बन्ध कसरी टुंगियो र त्यसले के–कस्तो प्रभाव पार्यो भन्ने विषयमा खुलासा गरेकी छिन् । जोलीका अनुसार जतिबेला ब्राड पिटले उनीसँग अलग हुने घोषणा गरे त्यतिबेला उनले आफैंले आफैंलाई गुमाएको अनुभव गरेकी थिइन् ।
जोलीका अनुसार गहिरो दु:खको त्यो क्षणमा उनले सोचिन्– मेरो भाग्यमा के छ ? भन्ने कुरा मलाई थाहा छैन, म यतिबेला जीवनको निर्णायक मोडमा छु ।
उक्त अन्तर्वार्तामा उनले ब्राडसँग अलग हुने निर्णयलाई जीवनकै कठिन क्षण बताएकी छिन् भने त्यो कुरा सम्झिँदा अहिले पनि दु:ख लाग्ने कुरा उल्लेख गरेकी छिन् । स्मरणीय छ, ब्राड र एन्जेलिना लगभग १ दशकसम्म लिभ इन रिलेसनमा रहेर विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूका आफ्नै २ तथा धर्म पुत्र–पुत्रीका रूपमा ग्रहण गरिएका ४ गरी ६ सन्तान छन् ।