साप्ताहिक संवाददाता
देशमा १० वर्षे शसस्त्र युद्ध भयो । देश शान्ति प्रकृयामा फर्कियो । घर छोडेर युद्धमा होमिएकाहरु बिस्तारै घर फर्किए । सत्ताको विपक्षमा ओकालत गर्नेहरुले सत्तापक्षसँग हात मिलाए । उनीहरु मध्यकै केहिले सत्ता सम्हाले । तर, युद्धका नाममा विभिन्न पक्षले बेपत्ता पारेका कयौं मानिसहरु अझैं पनि बेपत्ताको सूचीमा छन् । आजपनि आफ्ना बेपत्ता परिवारको सम्झनामा बाटो हेर्दै छन् बेपत्ता पारिएका मानिसहरुका आफन्त । आम मान्छेको यो संवेदनालाई समेटेर स्रष्टाहरु आजपनि उसैगरी काव्य सिर्जना गरिरहेका छन् । आईतबार राजधानीको सर्वनाम थिएटरमा यस्तै कविताहरु गुञ्जिए ।
प्रदेश राजधानी हेटौंडाबाट केहि थान कविता बोकेर संघिय राजधानी काठमाडौं आईपुगेकी कवि शान्ति प्रियवन्दनाले ‘जवाफ पाउँ सरदार’ शिर्षकको कवितामा युद्धका नाममा बेपत्ता पारिएका आफ्ना पिताको भावना माथि खेलिएको फोहरी मजाकको उत्तर खोजिरहँदा उपस्थित दर्शक दिर्घा भावुक बनेको थियो । कविताकै क्रममा उनले ‘आउँदो युद्धमा, समय, जिल खुवाउने गाउँ, नगरबधूको बकपत्रसहित ११ शिर्षकका कविता वाचन गरिन् ।
यस्तै सोही मञ्चमा विराटनगरकी कवि राधिका गुरागाईंले ‘मौन आकृति, चराहरूको घर, सालिक, अन्यथा नसम्झिदिनुहोला, तिमी हुनुमासहित करिव दर्जन कविता सुनाईन् ।
कवि शान्तिप्रिय बन्दना र राधिका गुरागाईं ‘हामी कवि र कविता’को अर्को श्रृंखलामा सुनिएका थिए । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर तथा सर्वनामको संयुक्त आयोजनामा हरेक महिनाको १ गते गर्दै आएको कार्यक्रमको मंसिर महिनाको श्रृखलामा उनीहरुले आफ्ना कविता सुनाएका हुन् । विगत ५ वर्षदेखि हुँदै आएको यो कार्यक्रम ‘हरेक महिनाको शुरुआत केही राम्रा कविता सुनेर गरौं’ भन्ने नाराकासाथ प्रस्तुत हुँदै आएको छ ।