साप्ताहिक संवाददाता
कविका रूपमा देखा परेका सन्तोष लामिछानेको उपन्यास अल्टिमेट आकाश प्रकाशित छ । यसअघि उनको कविता–संग्रह ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ प्रकाशित भैसकेका थिए । लामिछानेको कर्मथलो अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहर हो । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनमा पब्लिक पोलिसी अध्ययन गरेका हुन् ।
लेखनमा कसरी प्रवेश गर्नुभयो ?
म सानैदेखि कविता लेख्थें । कान्तिपुरको कोसेली, साप्ताहिक आदिमा मेरा कविता छापिएका छन् । कविताबाट कथा अनि निबन्धमा हात हालें । सन् १९९९ मा सेन्ट जेभियर्स कलेज माइतीघरमा आईएस्सी पढ्दा त्यहाँको साहित्यिक त्रैमासिक पत्रिका ‘प्रवाह’ को कार्यकारी सम्पादक बन्ने मौका मिल्यो । २००२ मा स्नातक गर्न अमेरिका आएपछि पढाइ र काम गर्दै स्नातकोत्तर सकेपछि बल्ल सन् २०१४ मा पहिलो पुस्तक ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ प्रकाशित गरें ।
स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना थियो ?
म दार्शनिक बन्न चाहन्थें । आईएस्सी पढ्दादेखि अमेरिका अध्यनयका करिब १२ वर्षको समयमा आफ्नो कोर्सका पुस्तकभन्दा बढी मैले विविध दर्शन तथा धर्मका पुस्तक पढें ।
लेख्न बस्दाका आनिबानी बताइदिनुहोस् न ।
लेख्न वा पढ्न बस्दा म एकाग्र हुन्छु । एकान्त मन पराउँछु । प्राय: म सबै कुरा सोचिसकेर एकै बसाइमा लेखन पूरा गर्न रुचाउँछु । ‘अल्टिमेट आकाश’ कसरी लेख्ने होला भनेर मैले करिब तीन वर्ष सोचें, तर लेख्नचाहिं एक महिना मात्र लाग्यो ।
कुन समयमा लेख्न रुचाउनुहुन्छ ?
राति सबै सुतेपछि ।
तपाईंको प्रिय विधा ?
कविता ।
तपाईका प्रिय लेखक ?
कविमा दुर्गालाल श्रेष्ठ, भूपि शेरचन तथा लालगोपाल सुवेदी । आख्यानमा धनुषचन्द्र गोतामे, पारिजात अनि राजन मुकारुङ ।
अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
दर्शनमा निसर्गदत्तको ‘आइ.एम. द्याट’, एकहार्ट टोलेको ‘द पावर अफ नाउ’ । साहित्यमा चाहिँ धेरै छन् । यसमा आ–आफ्नो रुचिको कुरा पनि हुन्छ । नेपाली उपन्यासमा ‘दमिनी भीर’ मलाई मन परेको कृति हो । जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ तथा रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’ पनि मलाई खुब मन परेका पुस्तक हुन् ।
विदेशमा काम गर्दै लेख्न कत्तिको गार्हो हुन्छ ?
काम तथा पारिवारिक जिम्मेवारीले समय मिलाउन निकै मुस्किल हुन्छ ।
लेख्नका लागि कसरी समय छुट्याउनुहुन्छ ?
मैले अहिलेसम्म लेख्छु भनेर समय निकाली योजनाबद्ध रूपमा लेखेको छैन । सम्भवत: व्यवसायिक लेखक नभएकाले पनि होला । मनभित्रका भाव कहिलेकाहीं यसरी उर्लिएर आउँछन् कि लेख्ने समय कसरी–कसरी निस्कँदो रहेछ ।
नेपालीले विदेशमा बसेर लेखेका पुस्तकमध्ये कुन उत्कृष्ट लागे ?
योगमाया, भाया साक्रा । अरू कति पुस्तक पढ्न चाहेर पनि पाउन सकेको छैन ।