साप्ताहिक संवाददाता
मंसिर ३, २०७६
चाडपर्वमा नेपाली चलचित्रबीच भिडन्त हुनु नौलो कुरा होइन । दसैं र तिहारपछि शिवरात्रीमा पुन: एक पटक चलचित्रहरू एक–अर्कासँग भिड्न लागेका छन् । यसपटक शिवरात्री फागुन ९ गते परेको छ । संयोग कस्तो छ भने शुक्रवारकै दिन शिवरात्री पर्छ । शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने दिन ।
चलचित्र प्रदर्शन हुने पहिलो दिन नै सार्वजनिक विदा परेपछि यतिबेला चार वटा नेपाली चलचित्र उक्त मितिमा प्रदर्शनका लागि तयार छन् । दीपेन्द्र के खनालको ‘आमा’, धुर्मस–सुन्तलीको ‘सेन्टि भाइरस’, मुकुन्द भट्टको ‘लप्पन छप्पन–२’ तथा विराज भट्टको ‘साङ्लो’ फागुन ९ गते प्रदर्शन हुन लागेका हुन् ।
एकसाथ यतिका चलचित्र प्रदर्शनमा आउने भएपछि दर्शकलाई त रमाइलो लाग्ने नै भयो, निर्माताहरूलाई चाहिं कत्तिको सकस पर्ने हो, सहजै अनुमान गर्न सकिन्छ ।