विपिनको आँखामा गाजल, ओठमा लाली !

- साप्ताहिक संवाददाता

मंसिर ३, २०७६

विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङ’ को प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ । आगामी माघ २४ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको पोस्टरमा चलचित्रका मुख्य पात्र विपिन कार्कीलाई निकै भिन्न रुपमा प्रस्तुत गराइएको छ ।

विपिनको लुक्स पहिलेको तुलनामा अरु वढि आकर्षक गराउनका लागी उनको आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक लगाइएको छ । कपाल निकै लामो देखाइएको छ । विपिनको यो लुक्सबाट के अनुमान गर्न सकिन्छ भने यो चलचित्र पुर्ण कमेडी जनरामा निर्माण भएको छ ।

यो चलचित्रमा विपिनले हाँस्यकलाकारको भूमिका निर्वाह गरेको निर्माण पक्षले जनाएको छ । बुझिएअनुसार यो चलचित्रले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा बोल्नेछ ।

‘सेल्फी किङ’मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिनेछ । अभिनेत्री केकी अधिकारीले एक गीतमा कम्मर मर्काएकी छिन् ।

अघिल्लो बर्षको हिट चलचित्र ‘प्रसाद’का निर्देशक दिनेश राउतले यो चलचित्रमा निर्माता सुवास थापासँग मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् । चलचित्रमा विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ । चलचित्रका सह–निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् । हरेक चलचित्रमा फरक–फरक लुक्स दिएका विपिनको यो लुक्सलाई दर्शकले कति रुचाउने हुन् त्यो भने चलचित्र प्रदर्शन भएपछि पक्कै थाहा हुनेछ ।

प्रकाशित :मंसिर ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×