साप्ताहिक संवाददाता
प्रतीक्षा पाण्डे र बिनिता श्रेष्ठ इन्जिनियरिङ पढ्दा भोलिन्टियर गर्थे । त्यही बेला उनीहरूले ‘आवर अफ कोड’ भन्ने इभेन्ट चलाएका थिए । त्यसबाट प्राप्त केही रकम उनीहरूले सोसल वर्कमा लगाउने विचार गरे । इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गर्ने क्रममा उनीहरूलाई यो फिल्डमा केटीहरूको उपस्थिति न्यून भएजस्तो लाग्यो । कोडिङ र टेक्नोलोजीमा महिलाहरूको सहभागिता बढाउने उद्देश्यका साथ उनीहरूले स्नातक गरेलगत्तै वुमन इन साइन्स, टेक्नोलोजी इन्जिनियरिङ एन्ड म्याथम्याटिक्स नेपाल (विस्टिम, नेपाल) को स्थापना गरे । जसले महिला एवं बालवालिकाहरूलाई स्कुल तहमै कोडिङका बारेमा पाठ्यक्रम बनाएर कक्षाहरू सञ्चालन गर्ने काम गर्छ । विभिन्न संस्था तथा स्कुलहरूसँग मिलेर कम शुल्कमा कोडिङ सिकाउँदैं आएको विस्टिम अहिले ‘स्टिम फर किड’ नामक प्रोजेक्टमा अघि बढिरहेको छ, जसमा स्कुले बालबालिकाहरूलाई कोडिङ सिकाइन्छ । वुमन र किडसहरू गरेर ५ सयभन्दा बढीलाई कोडिङसम्बन्धी कक्षा दिइसकेको विस्टिमकी संस्थापक २५ वर्षीया प्रतीक्षासँग गरिएको कुराकानी :
यस्तो काम गर्ने आइडिया कसरी आयो ?
कलेज अध्ययनका क्रममा म र मेरी पार्टनर बिनिता श्रेष्ठ महिलासम्बन्धी एउटा संस्थामा भोलिन्टियरका रूपमा काम गथ्र्यौं । त्यहाँ काम गर्दा र कलेजमा पनि क्लासमा तीन जना मात्र केटी थियौं । त्यो कुराले टेक्नोलोजी र कोडिङमा महिलाहरूको न्यून उपस्थिति फिल भयो । घरमा पनि सानोमा इन्जिनियरिङ केटीहरूका लागि होइन भनिन्थ्यो । कलेज पढ्दा क्लासमा हामी तीन जना केटीले गर्ने पर्फमेन्स र केटाहरूले गर्ने पर्फमेन्स उस्तै थियो । त्यो कुराले केटीहरूमा अवरनेस जगाउनुपर्छ भनेर हामीले इन्जिनियरिङको फाइनल इयरमै कम्युनिटीमा यो काम गर्न थाल्यौं ।
अहिले के गर्दै हुनुहुन्छ ?
हामी ‘स्टिम फर किड्स’मा केन्द्रित रहेर काम गरिरहेका छौं । यसमा महिलाहरूको सहभागिता एकदमै कम छ । ग्लोबल रूपमै यो क्षेत्रमा महिलाको सक्रियता कम छ । सुरुमा हामीले कलेज गर्ललाई टार्गेट गरेर काम गर्यौं, तर कक्षा १० बाटै गणित पढ्ने र नपढ्ने फिल्टर हुने क्रम सुरु हुन्छ, १२ कक्षामा पुग्दा साइन्स पढ्ने केटीहरूको संख्या अझ कम भैसकेको हुन्छ । त्यसभन्दा माथि पुग्दा थप फिल्टर भैसकेको हुन्छ । त्यसैले हामीले स्कुल तहमै गएर उनीहरूलाई मोटिभेट गर्नुपर्छ, स्कुल गर्ल तथा ब्वाइजलाई टार्गेट गरेर स्टिम फर किड्स भन्ने प्रोग्राम गरिरहेका छौं जसमा कोडिङ, गेम डेभलपिङका साथै रोबटिक विषयमा जानकारी दिइरहेका छौं । रोबटिक्स, डिजाइङ, थिंकिङ तीनवटा कन्सेप्टमा पाठ्यक्रम विकास गरेर काम गरिरहेका छौं ।
कोडिङमा महिलाहरू कम हुनुको कारण के हो ?
मैले देखेको रुट कज नै हो । सानै एजदेखि यो केटीहरूका लागि होइन भन्ने मानसिकता विकास गरिनु नै यसको मुख्य कारण हो ।
यो क्षेत्रमा महिला सहभागिता वृद्धि गर्नुपर्ने कारण किन आयो ?
गर्लहरूलाई अर्ली एजमै साइन्स एन्ड टेक्नोलोजी केवल केटाहरूका लागि मात्र हो, केटीले गर्न सक्दैनन् भनिएको हुन्छ । अनुभव नै नगरी उनीहरू यो हाम्रा लागि होइन् भनेर नर्सिङलगायतका अरु फिल्डमा जान्छन् । त्यो फिल नगराउन हामीले काम गरिरहेका हौं । यो जेन्डर बेस होइन् भनेर सिकाउन हामीले ६० प्रतिशत गर्ल तथा ४० प्रतिशत ब्वाइजसँगै बसेर काम गराउँछौं । दुवैले एउटै काम गरिरहेका हुन्छन् । हामीले त्यो मेन्टालिटी हटाउन र यो जेन्डरमा आधारित कुरा होइन्, यो रुचि र क्षमतामा आधारित कुरा हो भनेर स्टिम फर किड्समा पनि काम गरिरहेका छौं ।
इन्जिनियरिङको डिग्री हासिल गरेर जागिर खानुभन्दा यस्तो काममा कसरी आउनुभयो ?
जे गर्दा आफूलाई खुसी मिल्छ, त्यही गर्ने हो । मलाई जब गर्नुभन्दा पनि कसैलाई इन्स्पायर गर्नु छ । मलाई यसैमा राम्रो गर्छु भन्ने विश्वास पनि छ र यही कुराले खुसीसमेत दिन्छ । त्यसैले मैले जागिरभन्दा यो फिल्ड रोजेकी हुँ ।
कोडिङमा महिलाहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
धेरै राम्रो देख्छु । महिलाले आफूलाई आर्थिक रुपमा सबल, सक्षम तथा आत्मनिर्भर बनाउन कोडिङ राम्रो फिल्ड हो । विश्वव्यापी रुपमै यो डिमान्डेड जब हो । आर्थिक रुपमा महिलाहरूलाई इम्पावर गर्न पनि कोडिङ इज बेस्ट ।
टेक्नोलोजीका हिसाबले विकासशील देशहरू पछाडि छन् । हामी ग्लोबल रूपमा कम्पिट गर्न सक्छौं ?
सबै हिसाबले त ग्लोबल कम्पिट गर्न नसकौंला । टेक्नोलोजी त अमेरिकाले प्रयोग गर्ने पनि उही हो, हामीले प्रयोग गर्ने पनि उही हो । हामीसँग उनीहरूको जस्तो रिसोर्स नहोला, विस्तारै हामीजस्ता युवाहरू अगाडि बढ्दैं गएपछि केही समयमा हामी पनि त्यो काम गर्न सक्छौं ।
परिवारले डाक्टर बनाउन चाहन्थ्यो, तर तपाईंले यो फिल्ड किन रोज्नुभयो ?
मेडिकल मेरा लागि हुँदै होइन । ११ कक्षामा बायोलोजी पढ्दा मलाई एकदमै टफ फिल भयो । १२ कक्षामा पनि मेरो एक्स्ट्रा म्याथमा बढी मार्क आयो । त्यतिबेला नै मलाई मेडिकल फिल्ड मेरो होइन् भन्ने रियलाइज भैसकेको थियो । इन्जिनियरिङमा राम्रो गर्न सक्छु भन्ने लाग्यो, त्यसैले मैले इन्जिनियरिङ रोजें ।
आइटी र कोडिङमा महिलाका लागि के–कस्ता अप्ठ्याराहरू छन् ?
सबैभन्दा ठूलो त डर नै हो । महिला कम आउनु नै पहिलो अप्ठ्यारो हो । अहिले पनि यो क्षेत्र केटीका लागि होइन भन्ने धारणा छ । सबै ठाउँमा होइन्, केही ठाउँमा महिलालाई फरक रुपमा ट्रिट गरिएको पनि पाइन्छ, तर हिम्मतका साथ अघि बढ्ने हो भने अप्ठ्याराहरू छैनन् ।
आगामी योजना के छ ?
अब यसलाई कसरी विस्तार गर्ने र बढीभन्दा बढी मानिस कहाँ, कसरी पुग्ने भन्ने विषयमा सोचिरहेका छौं । हामी थप फन्डका लागि पनि पहल गर्दैछौं ।