साप्ताहिक संवाददाता
अन्तत: अभिनेता प्रदीप खड्का नयाँ गेटअपसहित चलचित्र प्रेमगीत–३ को छायांकनमा व्यस्त छन् । अघिल्लो साता दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो । मुहूर्तको अघिल्लो दिन चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो, जसमा प्रदीपलाई नयाँ रूपमा प्रस्तुत गरिएको छ ।
यसपटक प्रदीपले आफ्नो हेयरस्टाइल निकै परिवर्तन ल्याएका छन् अर्थात उनको केश निकै लामो छ । मोसन पोस्टरअनुसार चलचित्रमा प्रदीपले एउटा योद्धाको भूमिका निर्वाह गर्दैछन् । त्यसका लागि उनले आफ्नो ज्यान समेत योद्धाको झैं बनाएका छन् ।
घोडामा सवार उनको अनुहारमा रगतका छिटाहरू देख्न सकिन्छ । सार्वजनिक फस्ट लूकले यो चलचित्रका विषयमा कौतूहलता बढाउने पक्का छ । सन्तोष सेनले निर्माण गर्ने यो चलचित्र चैतको अन्तिम सातातिर प्रदर्शनमा आउनेछ । चलचित्रमा प्रदीपलाई नयाँ अनुहार क्रिस्टिना गुरुङले साथ दिँदैछिन् ।