साप्ताहिक संवाददाता
हालै गुगलद्वारा निर्मित क्वान्टम कम्प्युटरले गणितको एउटा जटिल प्रश्न केवल ३ मिनेट २० सेकेन्डमा हल गरिदिएको छ । यही समस्या हल गर्न संसारकै सबैभन्दा तेज सुपर कम्प्युटरलाई पनि कमसेकम १० हजार वर्ष लाग्न सक्छ । यसबाट पनि क्वान्टम कम्प्युटरको क्षमता स्पष्ट हुन्छ । त्यसैले पनि आगामी दिनमा क्वान्टम कम्प्युटरले विश्वमा निकै ठूलो हलचल ल्याउने अनुमान गरिएको छ ।
हाल सबैसँग हुने ल्यापटप वा डेस्कटप कम्प्युटर क्वान्टम कम्प्युटरको अगाडि केही पनि होइन । परम्परागत कम्प्युटरले शून्य वा १ स्विचिङ मोडमा काम गर्छ । कम्प्युटरमा फिट गरिएको सबै डाटा शून्य वा एकमा परिवर्तन भएर प्रोसेस हुन्छ । कम्प्युटरले सबै डाटालाई एकत्रित गरेर त्यसमै काम गर्छ, तर क्वान्टम कम्प्युटरले भने त्यसभन्दा एक कदम अगाडि बढेर शून्य र एकको सम्भावित कम्बिनेसन तथा सुपर इम्पोजिसनसमेत पढ्न सक्छ । त्यसैले यसको स्पिड परम्परागत कम्प्युटरभन्दा धेरै बढी हुन्छ । मानिसको दिमागले समेत सोच्न नसक्ने काम क्वान्टम कम्प्युटरबाट सम्भव हुन्छ ।
क्वान्टम कम्प्युटरको अवधारणा सन् १९८१ मा एर्गोन नेसनल ल्याबमा पल बेनीओफले तयार गरेका थिए । उनले क्वान्ट थ्यौरीमा आधारित भै कम्प्युटर बनाउन सकिने विचार प्रस्तुत गरेका थिए । यद्यपि त्यति बेला यो विषयमा त्यति ध्यान दिइएन । सन् १९८४ मा अक्सफोर्ड युनिभर्सिटीका डेभिड ड्युसले सोही विचारलाई तथ्यका आधारमा उपयुक्त भएको निष्कर्ष निकाले र त्यसमै आधारित हुँदै रिसर्च पेपर लेखे । त्यसपछि नै क्वान्टम कम्प्युटरको दौड प्रारम्भ भयो । हाल अमेरिका, चीन, रूसजस्ता देश मात्र नभएर गुगल, माइक्रोसफ्ट, आईबीएम जस्ता टेक कम्पनीहरूसमेत क्वान्टम कम्प्युटर निर्माण गर्ने दौडमा सामेल छन् ।
सन् १९०० मा म्याक्स प्लांकले ऊर्जा र पदार्थलाई सम्झिन क्वान्टम थ्यौरीको निर्माण गरेका थिए । त्यसकै आधारमा अणुभन्दा पनि साना फोटोन, प्रोटोन आदिको अध्ययन गरिएको थियो । यसअनुसार यी साना कणले एकसाथ ऊर्जा वा पदार्थका रूपमा लिन सक्छन् । एकै घटना पनि अलग–अलग ब्रम्हान्डमा अलग–अलग परिणाम हुन सक्छ । यसैलाई क्वान्टम ल भनिन्छ । यसैका आधारमा हाल क्वान्टम कम्प्युटर तथा नयाँ सुपर कम्प्युटर निर्माण भैरहेको छ ।
हाल मौजुदा प्रविधिका आधारमा क्वान्टम कम्प्युटर निर्माण गर्न सकिए पनि केही विशेष कुरामा भने ध्यान पुर्याउनु आवश्यक छ । जस्तो कि यसले परम शून्य अर्थात् माइनस २ सय ७३ दशमलव १५ डिग्री सेल्सियस तापक्रममा काम गर्छ । त्यसैगरी यसको प्रोग्रामिङमा पनि विशेष ध्यान दिनुपर्छ । यदि यसमा कुनै गल्ती भयो भने पूरै कम्प्युटर ध्वस्त हुन सक्छ र नतिजा पनि गलत आउन सक्छ । क्वान्टम कम्प्युटरले भविष्यको संसारलाई नयाँ दिशा दिने निश्चित छ । यद्यपि यसका लागि सावधानीका साथ सबै मिलेर काम गर्नु आवश्यक छ ।